विद्रोह र प्रेमको कथा

समाधान संवाददाता २०७८ फागुन ५ गते १९:५८

सामाजिक सञ्जालमा २ कुरा निकै नै चर्चित थिए र अझै पनि छन् । एउटा कोभिडको नयाँ संस्करण ओमिक्रोन र अर्को थियो र अझै छ वसन्त बस्नेतको नयाँ कृति महाभारा । सञ्जोगले दुवै चर्तित कुरा एकै दिन प्राप्त भयो । जुन दिन मेरो हातमा वसन्त बस्नेतको महाभारा हात प¥यो, त्यही साँझ कोभिड पोजेटिभ भएको रिपार्ट आयो । त्यसपछि कोभिडलाई जित्ने गतिलो हतियार साथमा भएको महसुस भयो । पहिले जस्तो यसपालि कोभिडसँग कुनै डर, त्रास लागेन तर पनि केही दिन छुट्टै बसियो र पढियो महाभारा ।

Advertisement

चर्चाको शिखरमा रहेको महाभारा पढ्ने रहर कसलाई नहोला । मलाई पनि औधी रहर थियो तर पुस्तक किन्न जाने समय मिलाउन सकेको थिइनँ । यो महाभारा उपन्यास कोभिडका कारण लकडाउनको घरबन्दीमा रहेका बेला लेखिएको रहेछ । अर्को सञ्जोग किताब हात परेको दिनदेखि म पनि घरमै घरबन्दीमा बस्नुपर्ने बाध्यता आयो । घरबन्दीमा भएको बेला पढेर सकियो पनि ।

खिम लामिछाने ‘काजी’

‘ओक्के छ त !’ यो उपन्यासको प्रमुख पात्रको थेगो हो । जो घरिघरि पाठकको मानसपटल छाइरहन्छ । उपन्यासमा पूर्वीय गाउँले परिवेश र संस्कृतिलाई उजागार गरिएको छ । स्थानीय ठेट किराँत, लिम्बु भाषा र पात्रहरुको नामहरूले गर्दा आञ्चलिकताको आभास दिलाउँछ । बाल्यकालको स्कुले शिक्षा, स्कुले माया प्रिती, तत्कालीन समयमा हुने गरेका अनेकौं क्रियाकलापलाई जीवन्त रुपमा प्रस्तुत गरिएको छ । राम्रोसँग पढ्न नसकेर घर छोडी हिडेको डुक्पाको जीवनीले एक सोझो अल्लारे केटा कसरी विस्तारै माओवादी युद्धमा होमिँदै छ भन्ने कटु यथार्थलाइ मिहिन ढंगबाट देखाइएको छ । नचाहँदा नचाहँदै पनि गाउँका युवायुवती कसरी युद्धमा होमिन बाध्य भएका रहेछन् भन्ने कटु सत्य उपन्यासले उजागर गरेको छ ।

गाउँका युवायुवती कसरी युद्धमा होमिन बाध्य भएका रहेछन् भन्ने कटु सत्य उपन्यासले उजागर गरेको छ ।

त्यसैगरी धर्मको नाममा गरिएको राजनीतिलाई लारुम्बामार्फत् विश्लेषण गरिएको छ । यसअघि मलाई लारुम्बाबारे खासै थाहा थिएन । धर्म रक्षार्थ युद्ध नै हुने स्थति आएको रहेछ । उपन्यास पढिरहँदा राई, लिम्बु, किरात बसोबास गर्ने गाउँमै पुगेर उनीहरुको व्यवहार प्रत्यक्ष हेरेको अनुभूति भयो । पूर्वी पहाडी भूभागका प्रकृतिका अनुपम दृश्यलाई आफ्नै आँखाले डुक्पाको गाडीमा बसेर एकपछि अर्को घुम्तीबाट हेरिरहेको जस्तो अनुभव भयो ।

Advertisement

डुक्पा र सुक्मतीको प्रेम कथा साहै्र मार्मिक छ । प्रेम कहिल्यै मर्दैन । पहिलो प्रेमको सम्झना मुटुमा छाप बनी सधै अजर अमर बनेर ररिरहनेछ भन्ने तथ्य पनि उपन्यासमा देखाइएको छ । डुक्पा र सुक्मतीको प्रेम कथामार्फत् उपन्यासले तानिरहन्छ । माओवादी गतिविधिले तत्कालीन समयको आर्थिक, सामाजिक, सांस्कृतिक परिवेशलाइ चित्रण गरेको छ । किराँतको मुन्धुम संस्कृति पनि किताबमा आएको छ । धर्म परिवर्तन, बुद्ध, राजतन्त्र, प्रजातन्त्र जस्तै थुप्रै बिषय उपन्यासमा अटाएका छन् । हरेक पात्र, घटना र बिषयवस्तुको सजीव चित्रण गरिएको छ ।

बीचमा गएर डुक्पा र सुक्मतीको मूल कथालाई छोड्र माओवादी युद्ध र लारुम्बाको धार्मिकतातिर उपन्यास भड्के जस्तो लाग्छ । तर यो पढिरहँदा पाठकलाइ नयाँ बिषयवस्तुबारे जानकारी हुन्छ । जस्तैः फाल्गुनन्द, बालागुरु आत्मानन्द, चुक्चिनाम्बा, मिंसो ।
पढिञ्जेल उपन्यासले तानिरहन्छ र मनमा कौतुहलता जगाइरहन्छ । समग्रमा उपन्यास निकै रोचक र पठनीय छ ।

तपाईको प्रतिक्रिया