पूर्वमन्त्री तथा उद्योगपति हरि पाण्डेले १ वर्षसम्म भिक्षा मागेर भोजनको हिस्सा पुर्याउने

पोखरा ।
पूर्व मन्त्रीसमेत रहेका उद्योगपति हरि पाण्डेले ‘आफूले गरेका अपराध’मा सरकारले कारबाही नगरेको भन्दै स्वदण्ड दिएका छन् । सकेसम्म आफ्नो एउटा भोजनको व्यवस्था भिक्षाटनबाट गर्ने उनको उद्घोष छ ।
रिपोर्टस क्लब काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले त्यस्तो उद्घोष गरेका हुन् । पाण्डेले परिवारसँग केही समय अलग रहने पनि सुनाए । स्वास्थ्य उपचारबाहेक अरुमा आफू विदेश नजाने उनले बताए । दण्ड पालनाको अवधि १ वर्षको हुने जानकारी पाण्डेले दिए । ‘सकेसम्म मेरो भोजनको हिस्सा भिक्षाटनबाट व्यवस्थापन गर्ने मेरो स्वास्थ्यले साथ दियो भने १ वर्षसम्म कायम गर्नेछु,’ उनले भने ।
बुधबार पत्रकार सम्मेलनपछि उनले आफ्नो आँखामा पट्टि बाँधेका थिए । जुन २४ घन्टासम्म कायम राखेर बिहीबारमात्रै खोलेका छन् ।
अख्तियारमा आफूलाई दिण्ड दिन माग गर्दै दिएको निवेदन तामेलीमा परेको उनको भनाइ छ । उनले जीवनमा ३ वटा अपराध गरेको बताएका छन् । ‘सम्पति आर्जन गर्न अरुलाई घुस दिएँ, जति सम्पति आर्जन गरें, मातृभूमिलाई दिनुपर्ने पर्याप्त हिस्सा बुझाइनँ र आफूलाई समाजमा प्रतिष्ठित हुँ भन्दै हिँडे,’ उनले आफूले गरेका तीनवटा अपराध कबुल गरे ।
२०४५ सालमा भारतले नाकाबन्दी लगाएपछि आफूले राष्ट्रिय व्रत लिएको उनले सुनाए । ‘तीनवटा नियममा आधारित राष्ट्रिय व्रत लिने निर्णय गरेँ, सकेसम्म राष्ट्रिय वस्तुको प्रयोग गर्ने, कम खर्चमा जीवन प्रयोगमा ल्याउने, सकेसम्म अधिकतम् प्रतिफल दिने काममा आफ्नो जीवनलाई संलग्न गराउने,’ उनले भने, ‘आजसम्म पनि मैले त्यो कोसिस गरिराछु ।’
पाण्डेले नेपाली नागरिकको हैसियतले मातृभूमिलाई दिनुपर्ने तर नदिएको हिस्सा फिर्ता दिन चाहेको भएपनि आजसम्म सरकारले लिन नचाहेकोमा पाण्डेले आश्चर्य प्रकट गरे । उनले भने, ‘त्यो रकम आज पनि सुरक्षित छ आजपनि सरकारले मागेमा म दिन तयार छु ।’ अख्तियारले आफूलाई दण्ड दिए, सरकारले जेल पठाए आफू खुसी हुने उनको भनाइ छ । मातृभूमिका लागि भनेर छुट्याएको रकम सरकारले नलिँदासम्म त्यसको व्यवस्थापन गर्ने पाण्डेले सुनाए । त्यसका लागि उनले मातृभूमि प्रतिष्ठानमार्फत शैक्षिक छात्रवृत्ति वितरण गर्दै आएका छन् ।
भिक्षाटन गर्ने, परिवारबाट टाढा बस्ने गर्दा बहुलाएको वा पलायन भएको भन्ने अर्थ लाग्न सक्ने पनि पाण्डेले सुनाए । उनले भने, ‘होइन म पलायन भएको होइन । मैले लगानी गरेका कम्पनीहरुमा बैंकहरुले ३ सय करोडभन्दा बढी लगानी गरेका छन्, त्यसको व्यवस्थापन गर्नु मेरो कर्तव्य हो । त्यसभन्दा बाहिर गएर म पलायन हुन सक्दिनँ ।’
एउटा इच्छाले आफूलाई सताइरहेको पाण्डेले सुनाए । ‘म गरिब नेपालीको रुपमा मर्न चाहन्न, के म गरिब छु ? छैन, आर्थिक हिसाबले सरदर नेपालीहरुको बिचमा ३÷५ प्रतिशतभित्र पर्छुजस्तो लाग्छ,’ उनले भने, ‘मेरो विश्वव्यापी पहिचान गरिबीमात्रै होइन, नामर्द, हुतियाराका रुपमा छ । त्यस कारणले यसबाट मैले उन्मुक्ति चाहन्छु । उन्मुक्तिको खोजमा म दौडिरहेको छु र भौतारिरहेको छु ।’
तपाईको प्रतिक्रिया