कृषि औजारदेखि मेडिकल सामान उत्पादन गर्ने गण्डकी विश्वविद्यालयको तयारी

सञ्जय रानाभाट २०७८ फागुन ६ गते १६:१८

सञ्जय रानाभाट
पोखरा ।


गण्डकी आविष्कार केन्द्रले बिजुलीबाट खाना पकाउने चुलोदेखि किसानले प्रयोग गर्ने औजार र मेडिकल सामग्रीहरुको उत्पादन गर्ने भएको छ । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख डाक्टर महावीर पुनको सल्लाहमा गण्डकी विश्वविद्यालय अन्तर्गत सञ्चालनमा आएको आविष्कार केन्द्र (इनोभेसन सेन्टर)ले प्रदेशमै विभिन्न सामग्रीहरुको उत्पादन गर्ने तयारी गरेको हो । यसका लागि विश्वविद्यालयको आविष्कार केन्द्रले चीनबाट ३ करोड बराबरको सामग्री ल्याइसकेको छ ।


प्रदेश सरकारले शिक्षण, अनुसन्धान र आविष्कार गर्ने उद्देश्यसहित २०७६ मा गण्डकी विश्वविद्यालय ऐन ल्याएको थियो । ऐनपश्चात विश्वविद्यालय सञ्चालनमा ल्याएसँग अनुसन्धानका क्षेत्रमा काम सुरु गरिसकेको छ । अनुसन्धानकै हेतुले स्थापित आविष्कार केन्द्रको बुधबार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरिसकेका छन् ।

Advertisement


बिजुलीबाट खाना पकाउने चुलो, कोदो चुट्ने मेसिन, खेत जोत्ने मेसिन, बञ्चरो, हसिया हतौडाहरु साथै मेडिकल सामग्री, मेडिकल औजार केन्द्रले उत्पादन गर्ने विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले सुनाए । ‘अबको १ महिनाबाट सामग्रीहरुको उत्पादन गर्छाैं । काम गर्ने जनशक्तिहरुको अभावले अहिले यो काम रोकिएको हो । आविष्कार केन्द्रले अहिले दक्ष कामदारहरु मेकानिकल इन्जिनियर र मेकानिकल ओभरसियरको खोजी गरिरहेको छ,’ कुलपति गुरुङले भने । पोखरा महानगरपालिका वडा नम्बर ३२ को ज्ञानकुञ्जमा आविष्कार केन्द्र अर्थात इनोभेसन सेन्टर सञ्चालनमा आइसकेको छ ।


आविष्कार केन्द्रका लागि आवश्यक सामग्रीहरु चीनबाट आइपुगेको गुरुङले बताए । उनले आविष्कार केन्द्रले किसानहरुसँग जोडिएक कुरालाई प्राथामिकतामा राखेर उत्पादन थाल्ने सुनाए । ‘मुलुकमा भएका विश्वविद्यालय भन्दा फरक तरिकाले पठनपाठन सुरु भएको छ । नेपालमा भएका ७ प्रदेशमध्ये गण्डकी प्रदेश सरकार थप जिम्मेवारीका साथ विश्वविद्यालय सञ्चालन ल्याएको हो,’ उनले भने, ‘विश्वविद्यालयले उत्पादनमूलक र दक्ष प्राविधिकयुक्त कामदार उत्पादन गरी आविष्कार केन्द्रबाट नयाँनयाँ कुराको खोज गर्छ ।’ राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुनको सल्लाहमा चीनबाट सामग्री खरिद भएका भएको गुरुङले बताए ।

Advertisement


विश्वविद्यालयले यसअघि नै कोदोको रक्सीलाई ब्रान्डिङ गर्न अनुसन्धान थालिसकेको छ । आविष्कार केन्द्र सञ्चालनसँगै प्रदेशमा अलैँची सुकाउनले मेसिन, धार्मिक क्रियाकलापमा प्रयोग हुने दुनाटपरी बनाउने साथै कुखुराको चल्ला उत्पादन गर्ने योजनामा रहेको कुलपति गुरुङले बताए । ‘प्रदेशबाहिरबाट आयात हुने धेरै सामग्री ल्याइसकेकाले अब आविष्कार केन्द्रबाट उत्पादन गर्नमात्र बाँकी हो । अझैसबै मेसिन के के हुन पत्ता लगाउन सकिरहेका छैनौं । दक्षकामदारको छनोट भएपछि काम अगाडि बढ्छ,’ कुलपति गुरुङले भने ।


राष्ट्रिय आविष्कार केन्द्रसँग गण्डकी विश्वविद्यालयले केही दिनमा एमओयु गर्ने तयारी गरेका गुरुङले बताए । ‘विश्वविद्यालयले राष्ट्रिय आविष्कार केन्द्रको सहकार्यमा इनोभेसन सेन्टर सञ्चालनमा ल्याएको हो । आविष्कार केन्द्रसँग एउटा एमओयु हुन्छ । ड्राफ्ट तयार भइसकेको छ । फुर्सद मिलाएर त्यो ड्राफ्ट साटासाट गर्नमात्र बाँकी हो,’ गुरुङले भने ।


इनोभेसन सेन्टर सञ्चालनमा ल्याउन अमेरिकामा अनुसन्धान गरिरहेका अनुसन्धान गरिरहेका धेरै नेपालीले सहयोग गरिहेको गरुङले बताए । ‘अमेरिकामा रहनुभएको एकजना मित्र सन्तोष सापकोटाले पनि सहयोग गर्नुभएको छ । धेरै अन्य साथीहरु हाम्रो इनोभेसन सेन्टरमा आएर काम गर्न आतुर हुनुहुन्छ,’ गुरुङले भने । पोखरा ३२ मा स्थित इनोभेसन सेन्टर १८० रोपनी जग्गा छ । १ करोड ८ लाख ५८ हजारमा इनोभेसन सेन्टरको काम सकिएको हो ।


संकाय थप्दै विश्वविद्यालय
गण्डकी विश्वविद्यालयले बिबिए र बिएएलएलबी पढाइका कक्षाहरु छिट्टै सञ्चालन गर्ने भएको छ । अहिले विश्वविद्यालयले खेलकुद व्यवस्थापन प्रविधि, फार्मेसी अध्ययन गराइरहेकोमा संकाय थप्न माग आएपछि विश्वविद्यालयमा संकाय थप्ने काम अगाडि बढेको कुलपति प्राडा गणेशमान गुरुङले बताए । ‘दक्ष जनशक्तियुक्त विद्यार्थी उत्पादन गर्ने हाम्रो उद्देश्य हो । विश्वविद्यालयले आगामी दिनमा देशकै नमुना विश्वविद्यालय बनाउने उद्देश्य बोकेको छ । अहिले पनि हामीहरु यसका लागि अगाडि बढिरहेका छौं,’ गुरुङले भने ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया