जोखिम उठाउँछन्, अर्काको ज्यान बचाउँछन्

सञ्जय रानाभाट २०७८ फागुन ८ गते १२:२२

सञ्जय रानाभाट
पोखरा ।
विमानस्थलमा खटाइएको टोलीमा छन् नेपाली सेनाका कुमार लामा । त्यो दिन अर्थात फागुन ४ गते पोखरा विमानस्थलभित्रै एउटा बैठकमा थिए उनी । त्यस्तै दिउँसोको १ बजेको थियो । मिटिङ चल्दाचल्दै कुमारलाई बटालियन हवल्दार नगेन्द्र राईले खबर सुनाए—सेती खोचमा मान्छे खसेछ, उद्धार गर्न जानुप¥यो । कुमार मिटिङबाट जुरुक्क उठे । साथीहरुलाई खबर गरे । १० मिनेट पनि नलगाइन टोली बनाए अनि मुभ भए । हुद्दा कुमारको साथमा अमल्दार सन्तोष सुनार पनि थिए ।


पोखरा १५ ढुंगेसाँघुमा सेतीनदीको खोचमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिरहेको थियो । कुमारले हतारहतार डोरीको सहाराले खोचमा ओर्लिए । त्यहाँ नेपाल प्रहरीको सशस्त्र प्रहरी गणका श्यामकान्त श्रीवास्तवहरु पनि थिए । कुमार भने तल फेदीमै पुगे । जहाँ उनले निन्याउरो अनुहार लगाएर बसेका मान्छे देखे । उनीसँग कुरा गर्न खोजे । तिनी अलि डराएजस्तो लाग्यो । कुमार भन्छन्, ‘उहाँलाई बोलाए अलिकति मानसिक ठिक रैछ, मतिर हेर्ने र थुक्ने गर्नुभयो । दिएको डोरी पनि समाउनुभएन । डोरी हातमा बाँधेर बस्नुभयो । पछि मैले माथिबाटै धेरै कुरा सम्झाएँ झिक्न गएको मान्छे मेरो कारणले मर्नुभएन भन्ने डर भयो ।’


त्यसपछि कुमारले तामाङलाई नमस्कार गरे । ‘म नेपाली सेना हुँ, तपाईंलाई उद्धार गर्नआएको हुँ’ पनि भने । कुमारले डोरी हुत्याए । तर ती व्यक्तिले समात्न मेसो पाएजस्तो कुमारलाई लागेन । हातले डोरी चलाइमात्रै रहे । कता त्यहीं झाडीतिरै पो पस्छन् कि जस्तो लाग्यो कुमारलाई । अनि तलै झरेर हेरे । हात भाँचिएको रहेछ । अनुहारका कोतारकातर पनि भएको देखे । भोकले होला अनुहार मलिन थियो । कुमारले उनलाई डोरीमा बाँधे र श्यामकान्तलाई माथि तान्न लगाए । अनि २०० मिटर माथि ल्याइपु¥याइए भीमबहादुर तामाङ ।

Advertisement


फागुन ४ गते तामाङ सेती खोचमा खसेका थिए । त्यो खबर जिल्ला प्रहरी कार्यालयमा आइपुगेको थियो । सुरुमा त वडा प्रहरी कार्यालय रामबजारको टोली तामाङ फसेको ढुंगेसाँघु पुग्यो । तर उद्धारका लागि विशेष टोली नै चाहिने निष्कर्ष निकालेर जिल्लामा खबर गरे । अनि ड्यामसाइडस्थित नेपाल प्रहरीको सशस्त्र प्रहरी गणको उद्धार टिमको खोजी भयो । जहाँ श्यामकान्त श्रीवास्तसहितको टोली थियो । खाना पनि नखाई एउटा टिसर्टमा मात्रै आङमा उनेर श्याम ज¥याकजुरुङ उठिहाले । उनीसँग गनबहादुर खुन्डल, जितेन्द्र बोहोरा, कुमार फाल मगर तयार भए । टोली ढुंगेसाँघु मुभ भयो । सशस्त्र प्रहरीबाट पनि भक्तबहादुर खत्री, कविराज क्षेत्री र विष्णु न्यौपाने आए ।


उनीहरु सबैको प्रयासबाट तामाङको उद्धार भयो । त्यो उद्धार कति कठिन थियो । कति जोखिम उनीहरुले उठाएका थिए भन्ने कुराको साक्षी जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहने प्रमुख जिल्ला अधिकारी (सिडिओ) जयनारायण आचार्य र जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी रमेश थापा स्वयं थिए । त्यसपछि उनीहरुले त्यति बेलै निर्णय गरे—यतिका जोखिम उठाएर अरुको ज्यान बचाउनेहरुको सम्मान गर्ने । प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार उद्धारकर्मी ९ जना श्यामकान्त श्रीवास्तव, कुमार फाल मगर, गनबहादुर खन्डलु, दीपेन्द्र बोहोरा, सन्तोष सुनार, कुमार लामा, भक्तबहादुर खत्री, विष्णु न्यौपाने र कविराज क्षेत्रीलाई जिल्ला सुरक्षा समिति कास्कीले प्रशंसापत्र प्रदान गरेको छ । न्यौपाने र खत्री अनुपस्थित हुँदा सशस्त्र प्रहरीका प्रतिनिधिले प्रशंसापत्र ग्रहण गरिदिए ।

Advertisement


सिडिओ आचार्यले सीमित स्रोतबाट निकै ठूलो कैशलता देखाएको भन्दै प्रशंसा गरे । ‘राष्ट्रिय प्रजातन्त्रको अवसर पारेर सम्मान गरेका छौं,’ उनले भने । एसपी रमेश थापाले आउँदा दिनमा ती उद्धारकर्मीहरुलाई थप सम्मान र मानपदवीका लागि पनि सिफारिस गरिने सुनाए ।


श्यामकान्तका अनुभवमा ठाउँ अनुसार उद्धार फरकफरक हुन्छ । एउटै ठाउँजस्तै उद्धार गर्न सकिँदैन । उनी आफूहरुलाई उपकरण चाहिने जति भइदिए हुन्थ्यो भन्छन् । कुमार लामाले आफ्नै जिउज्यान जोखिममा पर्ने भए पनि नेपाली सेना भएर अरुको ज्यान जोगाउन पाउँदा गर्व लाग्ने गरेको सुनाउँछन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया