मुस्ताङका सुरक्षाकर्मीलाई वन डढेलो नियन्त्रण गर्ने औजार हस्तान्तरण

सुन्दरकुमार थकाली २०७८ फागुन ९ गते २०:१०
डिभिजन वन कार्यालय मुस्ताङ मार्फत सुरक्षा निकायलाई वन डढेलो नियन्त्रण औजार हस्तान्तरण । तस्विर ः सुन्दरकुमार थकाली


जोमसोम—

Advertisement

विपद् व्यवस्थापनका लागि अग्रमोर्चामा खटिने मुस्ताङका सुरक्षाकर्मीलाई आगो नियन्त्रण गर्ने औजार हस्तान्तरण गरिएको छ । डिभिजन वन कार्यालय मुस्ताङले नेपाल प्रहरी र सशस्त्र प्रहरीको प्रतिनिधिलाई सोमबार वन डढेलो नियन्त्रण गर्ने औजार हस्तान्तरण गरेको जनाएको छ ।

डिभिजन वन कार्यालय मुस्ताङले वन डढेलो नियन्त्रणका लागि चाहिने आगो निभाउने औजार (फायर स्वाटर) ५ थान ,आगो रक्षक उकपरण ( रेक विथ आईरन हेन्डल ३ थान र आगो नियन्त्रण गर्ने क्रममा लगाईने हेलिमेटसहितको २ थान सुरक्षा पोषाक मुस्ताङका सहायक प्रजिअ रामचन्द्र ढकाल मार्फत हस्तान्तरण गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत बशन्त केशव अधिकारीले जानकारी दिए ।

यसअघि डिभिजन वन कार्यालय मुस्ताङले हिउँदयाम सकिएर गर्मी सुरु भईसकेकाले आगलागीको जोखिम उच्च हुने भन्दै वन डढेलो नियन्त्रण नियन्त्रण न्यूनिकरण तथा रोकथामका उपाय सम्वन्धि अन्तरक्रिया गरेको थियो । थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचन,सहायक प्रजिअ रामचन्द्र ढकाल,एक्याप ,रेडक्रस ,वनसंग सरोकार राख्ने विभिन्न संघसस्था,पत्रकार,सुरक्षा निकाय र डिभिजन वनका कर्मचारी लगायतको उपस्थितीमा वन डढेलो सम्वन्धि अन्तरक्रिया गरिएको थियो ।सो अवसरमा डिभिजन वन कार्यालयको तर्फमा वन डढेलो नियन्त्रण सम्वन्धि प्रस्तुतीकरण गरिएको थियो ।डिभिजन वन अधिकृत बशन्त केशव अधिकारीले मुस्ताङमा वनक्षेत्रको बिद्यमान अवस्था,वन डढेलो नियन्त्रणका उपाय र वन डढेलाको कसरी लाग्न सक्छ लगायतका बिषयमा जानकारी गराए ।

मुस्ताङको कुल ३ हजार ५ सय ५७ हेक्टर क्षेत्रफल मध्ये २ सय ८५ हेक्टर अर्थात कुल क्षेत्रफलको ८ प्रतिशत क्षेत्रफल वनक्षेत्रले ढाकेको डिभिजन वन अधिकृत अधिकारीले बताए । वन डढेलो व्यक्ति र समुदायको सामान्य हेलचक्र्याईले र अर्को सुनियोजित रुपमा लाग्ने भएकाले यसको नियन्त्रण गर्न जनचेतना आवश्यक भएको औल्याए । थासाङ गापाका अध्यक्ष बुद्धिप्रसाद शेरचनले मौसम परिवर्तनसंगै सम्भावित विपद्का घटना निम्तनसक्ने भन्दै यसप्रति नागरिक र समुदाय सचेत रहनु पर्ने उल्लेख गरे । मुस्ताङमा बढी मात्रामा हावाहुरी चल्ने भएकाले डढेलोको उच्च जोखिम रहेको अध्यक्ष शेरचनले जनाए । उनले मुस्ताङमा यार्सा लगायतका जटिबुटी खोज्ने व्यक्ति र वन सम्वन्धि चोरी शिकारी गर्ने व्यक्तिको लापारवाहीले वन डढेलो लाग्ने गरेको सुनाए ।

Advertisement

मुस्ताङका सहायक प्रजिअ रमचन्द्र ढकालले वन डढेलो र बस्ती लाग्ने आगलागी घटना परिपुरक भएकाले होशियार अपनाउन सुझाए । मुस्ताङमा एकआपसमा जोडिएका परम्परागत घरको संरचना र भौगोलिक अवस्थाले गर्दा आगलागी सम्वन्धि विपद्का घटना बढी हुनसक्ने अनुमान गरे । जिल्लाका ५ वटै स्थानीय तहका जनप्रतिनिधिबीच २ वटा वारुणयन्त्र, शव बाहन एम्बुलेन्स खरिद गर्ने सहमती भएपनि कार्यान्वयन हुन नसकेको सहायक प्रजिअ ढकालको भनाई छ । मुस्ताङमा आपत्कालिन उद्दार गर्न सुरक्षा निकाय कटिबद्ध भएकोले आगलागी नियन्त्रण तथा रोकथाम गर्न स्थानीय तह,वडा र समुदाय स्तरको भूमिका महत्वपूर्ण हुने दर्शाए ।

अन्तरक्रियाका सहभागी सरोकारवालाहरुले वन डढेलो तथा आगलागी घटना नियन्त्रण गर्न स्थानीय तह जिम्मेवारी बन्नुपर्ने सुझाए । उनीहरुले स्थानीय तह सञ्चालन ऐन २०७४ अन्तर्गत स्थानीय तहमा विपद् कोष हुने भएकाले पर्याप्त बजेट बिनियोजन गरी आवश्यक उपकरण ,राहत ,सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया