पर्यटन
मुस्ताङमा सुमित एयरको चार्टर उडान
सडकमार्गबाट मुस्ताङमा दैनिक १५ सय पर्यटक ः
होटल बुकिङ धमाधम
जोमसोम—
हिउँदयाममा पर्यटक आगमनमा कमी,मौसम प्रतिकुलता र कोरोना कहर लगायतका विभिन्न कारणले विगत दुई महिनादेखि ठप्पै बनेको पोखरा—जोमसोम हवाई उडान शनिवार देखि चार्टर उडान सुरु भएको छ ।सुमित एयरको टुईनेटर जहाजले दुई महिनापछि ३६ जना भारतीय पर्यटक लिएर मुस्ताङ आएको जोमसोम नागरिक उड्यन कार्यालयले जनाएको छ ।
सुमित एयरले पोखरा—जोमसोम ३ वटा उडान भर्ने सेड्युल भएपनि पोखराको मौसम बिग्रन थालेपछि तेश्रो उडान रद्द गरेको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख पुस्कलराज शर्माले जानकारी दिए । उनका अनुसार पोखराबाट ५४ जना भारतीय पर्यटक मुस्ताङ आउनुपर्नेमा जम्मा ३६ जना पर्यटक मात्र आएका हुन् ।
बशन्तऋतुको आगमनसंगै हिउँदयाम सकिएको र कोरोना जोखिम न्यूनिकरण हँदै गईरहेकाले भारतीय तथा तेश्रो मुलुकका पर्यटकको हवाई बुकिङ बढ्ने क्रममा रहेको उनले बताए ।यस्तै,मार्च १ तारिखदेखि तारा एयरको जहाजले पनि पोखरा—जोमसोम नियमित हवाई उडान सञ्चालनमा ल्याउने तारा एयर कम्पनीले जनाएको छ ।
मुस्ताङमा दुई महिनापछि जहाज आउँन थालेपछि पुथाङ एयरपोर्ट र बजारक्षेत्रमा पर्यटकीय चहल÷पहल ह्वात्तै बढ्न थालेको कार्यालय प्रमुख शर्माले जनाए ।कोरोना अघि मुस्ताङमा तारा एयर र सुमित एयरको जहाजले दैनिक १८ उडानसम्म भर्ने गथ्र्ये ।
कोरोनाको नयाँ भेरियन्ट पटक÷पटक देखिन थालेपछि पोखरा—जोमसोम उडान नियमित हुन सकेको थिएन ।
हिउँदयाम सकिएको र मुस्ताङमा जहाज आउन थालेपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । पुथाङ एयरपोर्ट स्थित होटल ताजका प्रोपाईटर योगेश शेरचनले मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिती बढ्न थालेको जानकारी दिए । ‘ गर्मीयाम सुरु भएको छ,पर्यटक मुस्ताङ आउन थालेका छन्,‘ शेरचनले भने,‘होटल बुकिङ धमाधम हुदैछ,कोरोनाले थलिएका हामी केही आशावादी भएका छौं ।’ उनले गत हप्तादेखि मुस्ताङमा पर्यटकको फलो बढेको बताए ।
सडकमार्ग हुँदै मुस्ताङमा दैनिक १५ सय पर्यटक ः
मुस्ताङमा सडकमार्ग हुँदै आन्तरिक पर्यटकको चाप बढ्दै गईरहेको घाँसा प्रहरी चौकीले जनाएको छ ।जाडो महिना सकिएर गर्मीयाम सुरु हुन थालेपछि मुस्ताङमा पर्यटक आउने क्रम बढ्न थालेको घाँसा प्रहरी चौकीका ईञ्चार्ज असई मनबहादुर कार्कीले जानकारी दिए ।
मुस्ताङमा गर्मीयामसंगै केहीदिनदेखि दैनिक १५ सय भन्दा बढी जिल्ला बाहिरका पर्यटक मुस्ताङ भित्रिएको असई कार्कीले बताए ।उनका अनुसार म्याग्दी र मुस्ताङको सीमाना घाँसा चेक पोस्टबाट मोटरसाईकल,स्कर्भियो जीप र बस गरी दैनिक ३ सय भन्दा बढी सवारी भित्रिने गरेको छ ।मुस्ताङ घुम्ने अनुकुल मौसम,शिवरात्री र चैते दशै पर्व नजिकिदै गर्दा मुस्ताङमा सडकमार्गबाट पर्यटक आउने क्रम बढेको असई कार्कीको भनाई छ ।उनले केहीदिन भित्र यो सख्या बढ्ने अनुमान गरे ।
मुस्ताङमा आन्तरिक पर्यटक चहल सुरु भएसगै मुक्तिनाथ मन्दिर दर्शन गर्ने तिर्थालुको भीड बढेको मुक्तिनाथ मन्दिरमा कार्यरत कर्मचारी रविन सुवेदीले जानकारी दिए ।
हिउँदयामको हिमपात र चिसो मौसमले केहीदिन अघि सुनसान बनेको मुक्तिनाथ मन्दिरमा भक्तजनको चहल÷पहल वृद्धि हुन थालेको उनले बताए । मुस्ताङमा आन्तरिक पर्यटक आउने क्रम बढेपनि राष्ट्रिय गौरवको निर्माणधिन बे्नी—जोमसोम सडक स्तरोन्नतिका लागि ठाउ÷ठाउमा टाईम कार्ड लगाईएका मुस्ताङ आउने पर्यटक घण्टौ÷घण्टा सडम जाममा पर्ने गरेका छन् । सडक जाम हुने गरेकाले अपेक्षा गरेअनुसार पर्यटक आउन समस्या परेको मुस्ताङ उद्योग बाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले जानकारी दिए ।सडक जामको सूचना पर्यटकले थाहा पाएपछि मुस्ताङ आउने पर्यटक उल्लेख्य रुपमा आउन नसक्ने अवस्था रहेको बताए ।उनका अनुसार बेनी—जोमसोम सडक अन्तर्गत ३ स्थानमा रक कटिङ गरी सडक स्तरोन्नतिकार्य भईरहेकाले पर्यटक तोकिएको गन्तब्यमा पुग्न कठिन भएको उनले सुनाए ।
यस्तै, हिउँदयामको हिमपात र जाडो छल्न बेसी झरेका मुस्ताङीहरु घर फर्किन थालेका छन् । हिउँयाममा उपल्लो मुस्ताङबाट ८० प्रतिशत र तल्लेो मुस्ताङबाट ३५ प्रतिशत मुस्ताङी जाडो छल्न बेसी झरेका थिए ।जाडो छलेर हिमाल उक्लिने क्रममा सडकमा लगाईएको टाईमकार्डले उनीहरुलाई निकै सास्ती तुल्याएको छ ।
सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया