सम्पादकीय: दफा २१९

समाधान संवाददाता २०७८ फागुन १४ गते १९:२५

अभिनेता पूर्णविक्रम शाह (पल) विरुद्ध जबरजस्ती करणी गरेको आरोपसहितको जाहेरी जब फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा प¥यो, कला क्षेत्रमा मात्रै होइन, समाजमै एउटा तरंग पैदा भयो । निकै लोकप्रिय बनेका कलाकार त्यस्ता कुकर्ममा कसरी र किन लागेको होला भन्ने जिज्ञासासहितका टिप्पणी भएका छन् भने अर्काेतिर उनले जबरजस्ती नगरेको, सहमतिमा सम्बन्ध राखेको भनेर पनि बचाउका तर्कहरु आएका छन् । खास गरी कतिपय किशोरकिशोरी पुस्ताबाट पलको बचाउमा तर्क आएका छन् र ती नाबालिका कलाकारले बार्गेनिङ गर्न खोजेको, मन परिञ्जेल चूप लागेर अहिले अरुको उक्साहटमा पललाई पोल्न खोजेको जस्ता विचार व्यक्त गरिएको छ । पलबाट अपराध भएको हो होइन, भनेर उनलाई दोषी वा निर्दाेष भन्ने जिम्मेवारी अदालतको हो । जाहेरी नै पनि परिसकेको हुँदा यस्तो जघन्य आरोपमा छिटोभन्दा छिटो उनलाई पक्राउ नै गरेर प्रहरीले अनुसन्धान गर्न ढिला गर्नु हुँदैन । पीडा भोगिरहेको परिवार र व्यक्तिले छिटो न्याय अनुभूत गर्न र त्यस्तो अपराध भएको होइन भने त्यसबाट छिटो पलले सफाइ पाउन पनि अनुसन्धान शीघ्राती शीघ्र हुन जरुरी छ ।

Advertisement


जहाँसम्म कतिपयले भनिरहेको सहमतिमा भएको सम्बन्ध भन्ने छ, त्यसबारे भने असहमति राख्नैपर्ने हुन्छ । कानुनी व्यवस्थाले भनेका कुराबारे प्रष्ट हुनैपर्छ । मुलुकी अपराध संहित २०७४ को दफा २१९ ले प्रष्ट भनेको छ, कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ । हो, १८ वर्षभन्दा कम उमेर आफैंले कुनै पनि विषयमा निर्णय लिन नसक्ने उमेर हो र झन् करणीको मामिला त संवेदनशील हो भनेरै कानुनमा त्यस्तो व्यवस्था गरिएको हो । अरु पनि थुप्रै व्यवस्था छन् बालबालिकाको हकमा कि उनीहरुको नाम, ठेगाना र उमेर अर्थात परिचय खुलाउन नपाइने । वा अभिभावकको स्वीकृति लिनुपर्ने । १८ वर्षमा त अभिभावकले त्यस्ता बालबालिको बिहे नै पनि गर्दिन पाउँदैनन् । बिहे गर्ने उमेरै २० वर्ष तोकिएको छ । तसर्थ सहमतिमै भएको वा मञ्जुरी लिएर राखिएको सम्बन्ध हो भने पनि त्यो करणी जबरजस्ती हो भन्ने कानुनले मान्छ । त्यो अपराध हुन्छ । त्यस्तो अपराध गर्नेलाई कलाकार वा अरु कुनै पहिचानका आधारमा छुट हुन सक्दैन । हुनु हुँदैन । काननुका अघि सबै समान हुन्छन् । बरु समाजप्रति दायित्व भएको कर्म गर्ने पेसा व्यवसायीबाट त्यस्ता अपराध हुनु बढी सजायको लायक ठहरिनु हुनुपर्ने हो ।


पलको लोकप्रियता वा उनले कला क्षेत्रमा दिएको योगदानका सामु उनको एउटा गल्ती भनेर छुटको सहुलियत खोज्ने आग्रह जुन देखिएको छ, त्यो अर्काे अपराध हो । अपराध गरेको हो भने सजाय देऊ, हैन भने प्रताडित नगर भन्न सकिएला तर, माफीको याचना गर्नेहरु पनि मतियार मानिनुपर्छ यदि उनको अपराध पुष्टि हुन्छ भने । यो प्रकरणमा नाबालिकाका पक्षबाट बार्गेनिङ गर्न उक्साउने अरु केही व्यक्ति देखिएको भनेर पनि नाम चर्चामा आएको छ, तिनीहरुमाथि पनि अनुसन्धान जरुरी छ । जसरी राजनीतिक अन्धभक्त कार्यकर्ता नेतृत्वको ठूलाठूला गल्तीको पनि बचाउ गर्दै ढाकछोप गर्छन्, त्यस्तै प्रवृत्ति कला क्षेत्रमा र कलाकारका प्रशंसकमा पनि छ भन्ने यसपालि देखिएको छ, कि कानुनी प्रक्रियाअघि नबढ्दै कतिपयले पललाई निर्दाेष र ती बालिकालाई पो दोषी करार गरिदिएका छन् । यस्तो प्रवृत्ति समाजका लागि झन् ठूलो खतरनाक कुरा हो । हाम्रो समाज यसरी न्याय र अन्यायको भन्दा पनि व्यक्ति हेरेर विभक्त हुँदै जानु भनेको भड्खालामा पर्नु र अराजकतालाई प्रश्रय दिनु, कानुनी राजको अन्त्य गर्ने दिशा उन्मुख हुनु हो । यो संवेदनशील मामिलाको न्यायिक निरुपण हुनुपर्छ । न्याय व्यवस्था कायम हुनुपर्छ । तर, सम्बन्ध सहमतिमा भएको हुँदा जबरजस्ती हैन भन्ने तर्क नफैलाऔं, पढौं मुलुकी अपराध संहितको दफा २१९ र प्रष्ट बनौं ।

Advertisement

तपाईको प्रतिक्रिया