मनका ज्वारभाटा किनारा लगाउन गीत लेख्छु

समाधान संवाददाता २०७८ फागुन १४ गते १९:३७

सृजना यात्राको करिब २ दशकपछि पहिलो कृति प्रकाशन गर्नुभएको छ । कस्तो अनुभूति गर्दै हुनुहुन्छ ?
बिभिन्न समयमा लेखिएका गीतलाई पुस्तकको आकार दिन पाउँदा निश्चय नै खुसी लागेको छ । रेकर्ड भएर स्रोतासम्म पुग्नुको एउटा अर्थ हुन्छ भने छापिएर पाठकमा पुग्नुले अर्कै प्राज्ञिक मूल्य राख्दो रहेछ । सकारात्मक प्रतिक्रिया आइरहेका छन्, उत्साहित छु ।

‘माया गर्नुको अर्थ’ नामको गीत संग्रह नै बजारमा आयो । खासमा यो गीतलाई अनेक मान्छेले अनेक तरिकाले बुझे । गीतकारको पहिलो बुझाई र लेखनको कथाचाहिँ के थियो ?
हो कसैले यो गीतको दार्शनिक पाटोलाई देखे भने कसैले माया गर, सिँउदो नभर भन्ने अर्थमा अपव्याख्या गरे । प्रेम र विवाह भिन्न कुरा हुन् । सबै प्रेम सिन्दूरसम्म पुग्छन् नै भन्ने छैन अनि सबै सिन्दूरभित्र प्रेम फूल्छ नै भन्ने पनि छैन, तथापि प्रेमको क्षितिज निकै फराकिलो छ । प्रेम र सिन्दूर कुनै दोभानमा मिले झन् सुनमा सुगन्ध हुन्छ भन्न खोजेको हुँ । निबन्धमा जस्तो लम्बेतान व्याख्या गर्ने सुविधा गीतमा हुँदैन । मैले हामी नै बाँचेको समय र समाजको सत्य कथालाई गीतमा ढालेको हुँ । यद्यपि अन्य कोणबाट पनि यसलाई हेर्न नसकिने होइन ।

तपाईका लागि गीत के हो ? विदेशमा पुग्दा पनि सिर्जनाकै मोह देखिन्छ, यसको खास कारण छ ?
गीत मेरा लागि अनुभव र अनुभूतिको प्रतिबिम्ब हो । यसर्थ गीतमा देखिने रङ जीवनकै रङहरु हुन् । जस्तो कि प्रेम, क्रोध, आशा, उदासी । अपवादबाहेक गीतमाथि लगानी बालुवामा पानी हो । त्यसमाथि गीत चल्दा पनि र नचल्दा पनि गीतकार त सँधै छायाँमै रहने हो । तैपनि मन, मस्तिष्कमा उठेका ज्वारभाटा किनारा लगाउन गीत लेख्छु । लेखिसकेपछि त्यो स्रोतासँग बाँड्न पाउँदा खुसी मिल्छ । मैले ठूलो नाम र धेरै दामको अपेक्षाले गीत लेखेको होइन ।

Advertisement

गीत र कविताको सम्बन्धचाँहि कस्तो हुन्छ ? कविताले बोक्ने भारी गीतले बोक्न सक्दैन भन्नेहरुलाई के भन्नुहुन्छ ?
गीत र कविता भाषा, भाव, अलंकारका हिसाबले उस्तै काव्य रुप भए पनि व्यवहारतः कविता पाठकलाई र गीत स्रोतालाई हो । कविता विस्तारै पढ्दै, बुझ्दै जाँदा पनि हुन्छ । गीतले संक्षिप्त रुपमा तत्कालै स्रोतालाई प्रभावित पार्ने सामथ्र्य राख्नुपर्छ । गीतमा कोमलता चाहिन्छ भने कवितामा जरुरी नहुन सक्छ । समग्रमा गीतले गीतकै र कविताले कविताकै भारी बोक्ने हो । त्यसो हो भने राम्रो गीतले बोक्ने भारी औसत कविताले बोक्न सक्ला र ?

पुस्तक बजारमा आएपछि अब पक्कै अनेक प्रतिक्रिया आए । यसलेसुधार्नुपर्ने पक्ष केही देखायो कि ?
कुनै रचना विवादित नहोस् भन्नेमा सचेत थिए र छु । तथापि कसैलाई यिनै गीत बलियो लाग्ला, कसैलाई कमजोर त्यो अर्कै कुरा भयो । कृतिमाथि पर्याप्त परिचर्चा भइसकेको त छैन र पनि शिल्प, शैली, बिषय र प्रस्तुतिका हिसाबले गीत कमजोर छैनन् भन्ने मत नै बहुल आएको छ । नयाँ बिम्ब निर्माण गर्नु र अग्रज गीतकारले जस्तो खँदिलो लेख्नुलाई मैले सामना गर्दै जानुपर्ने चुनौतीका रुपमा लिएको छु ।

Advertisement

विगतसँग कत्ति गुनासो छैन, आगतलाई झेल्दै जान तयार छु । यसै पनि जिन्दगी अपेक्षित–अनपेक्षित घटना परिघटनाको संगालो हो

अग्रजदेखि पछिल्लो पुस्तासम्मको संगत गर्नुभयो । अग्रजबाट के सिक्नुभयो, समकालीन र पछिल्लो पुस्तालाई के भन्न चाहनुहुन्छ ?
अग्रज सर्जकहरु हुन् वा गायक भोटोमात्रै धेरै फटालेका होइनन् । किताब पनि हामीले भन्दा धेरै फटालेका छन् । उनीहरु आफ्नो काममा पूर्ण इमान्दार छन् । सरलता, धैर्य, अध्ययनशीलता र निरन्तरता हामी अनुजले उनीहरुबाट सिक्नुपर्छ । पछिल्लो पुस्ता अलि महत्वाकांक्षी छ । बजारको पछाडि दौडिन खोज्छ । सृजनामा प्राण छ भने त्यसको आयु लामो हुन्छ । चर्चित भनिएको किताब वर्ष दिन नपुग्दै पाठकले किन बिर्सिन्छ ? मिलियन भ्युज गयो भनेको गीत किन छ महिना टिक्न सक्दैन । अब उत्तर खोज्नुपर्ने प्रश्न यी हुन् ।

तपाईं निकै भावुक, दार्शनिकदेखि हास्यव्यंग्य भएका गीतसम्म लेख्नुहुन्छ । यस्ता विषय छनोट र लेखन कसरी सम्भव भएको छ ?
मैले गीतको विषय छान्नुभन्दा पनि गीतले विषय छानेर मलाई लेखाउँदै जान्छ । प्रायः गीतको स्थायी अनायासै आउँछ । त्यसपछि कापीमा टिप्छु या मोबाइलमा टाइप गरिहाल्छु । साथमा केही भएन भने अलि बेर आफ्नै लयमा गुनगुनाउँदै बस्छु ता कि त्यो तुरुन्तै नभुलियोस् । कुनै गीतको अन्तरामा पनि सहजै पस्न सकिन्छ भने कुनै गीत पूरा गर्न महिनौं लाग्छ । दिइएका धुन वा बिषयमाथि पनि गीत लेखेको छु तर त्यसमा अलिकति बाँधिएर काम गर्नुपर्ने हुन्छ, त्यति मजा आउँदैन । सिधै गाली गर्न नमिल्ने हुनाले सामाजिक वा राजनीतिक विकृतिमाथि लेख्दा व्यांग्यात्मक शैली अपनाउँछु । देशभक्ति, प्रेमपीडा वा जीवन भोगाइमाथि लेख्दा स्वभावैले वीर रस, विष्मय रस, करुण रस आईहाल्छन् ।

मुक्तक, गजल, कविता पनि पहिल्यैदेखि लेख्नुहुन्थ्यो । यी विधाका तपाईका रचना पाठकले किताबका रुपमा कहिले पढ्न पाउलान् ?
आफैंप्रति इमानदार भएर भन्दा म राम्रो मुक्तककार, गजलकार वा कवि हुँ जस्तो लाग्दैन । यद्यपि मेरा बाक्लै रचना राष्ट्रिय स्तरमै पनि प्रकाशित हुँदै आएका छन् । त्यसो त म राम्रो गीतकार नै पनि होइन तर गीतलेखन आफूलाई अलि सुविधाजनक महसुस हुन्छ । सिर्जना भनेका आफ्ना सन्तान हुन्, तिनको जतन गर्नुपर्छ भन्ने चाहिँ लाग्छ । अर्को साल मुक्तक अनि त्यसपछि गजल र कविताको संग्रहमा काम गर्ने सोच छ ।

शिव पलाँस अहिले अमेरिकामा बस्छ, तर नेपाल र नेपालीको विषयमा स्वदेशका नेपालीभन्दा बढी अपडेट छ, प्रतिक्रिया दिन्छ । अमेरिकामा बसेर पनि नेपाल र नेपालीकै विषयमा लेख्न प्रेरित केले गर्छ ?
प्रविधिमा पहुँच र चासो प्रमुख कुरा रै’छ । हिराजस्तो देशमा धमिरा लागेको देख्दा जो कसैको दिल दुख्छ । मेरो प्रतिक्रिया पनि त्यही दुखाइ हो । भूगोलले पो टाढा छु, भावना त उही हो नि । आफ्नो नाभी गाडिएको धर्ति र जिन्दगीको आधा उडान भरेको आकासमाथि कसरी आँखा चिम्लिन सक्छु र ? मान्छे जहाँ जान्छ, उसको आफ्नो खास देश, भाषा, भेष, संस्कृति, धर्म जस्ता कुरा पनि कुनै न कुनै रुपले उसैसँग जोडिएर त्यहीँ पुग्दो रहेछ ।

भावी जीवनमा तपाईंका गीतसँग स्रोताको साक्षात्कार कुन रुपमा हुनेछ ?
कसैले गीतकै निम्ति मलाई सम्झिन्छ र आफ्नो गीतले न्याय पाउँछ भन्ने लाग्यो भने गीत लेखिन्छ । यति बेला पनि ४ वटा जति गीत गायक, संगीतकारकै आग्रहमा लेखियो र ती गीतमाथि काम हुँदै छ । आफूलाई मन परेको गीतमा आफ्नै ढंगले गर्ने केही काम पनि भइरहेका छन् । गीत लेखनलाई त सकेसम्म छोड्दिनँ ।

शिक्षण, राजनीति, साहित्य, संगीत, पत्रकारिता जस्ता क्षेत्रमा जीवनको उर्वर समय बिताएर विदेश पुगेपछि यहाँलाई आफ्नै जीवनको सिंहावलोकन गर्दा कस्तो लाग्छ ?
दाल, रोटीका खाँतिर मास्टरी गरियो । परिवर्तनका निम्ति हामी नबोले को बोल्ने भन्ने लाग्थ्यो, अहिले नेतृत्वको जिब्रो एकातिर, हात अर्कोतिर देख्दा वितृष्णा जाग्छ । राजनीतिक नियुक्ति खान वा प्रायोजित पुरस्कारको मोहले साहित्य, संगीत, पत्रकारिता गरेको थिइन । यो मेरो दिलचस्पीको क्षेत्र हो । विगतसँग कत्ति गुनासो छैन, आगतलाई झेल्दै जान तयार छु । यसै पनि जिन्दगी अपेक्षित–अनपेक्षित घटना परिघटनाको संगालो हो ।

तपाईको प्रतिक्रिया