पिसिएममा दीक्षान्त

समाधान संवाददाता
पोखरा, १४ फागुन
पोखरा कलेज अफ म्यानेजमेन्ट(पिसिएम)ले बिबिए उत्तीर्ण १ सय ४८ विद्यार्थीलाई प्रमाण पत्र वितरण गरेको छ । शनिबार आयोजित समारोहमा २०१५ का ७५, २०१६ का ६८ जना र पुराना ५ जनालाई दीक्षित गरिएको हो ।
कलेजको छात्रा विनु श्रेष्ठ स्नातकमा सबैभन्दा धेरै सिजिपिए ३.९९ ल्याएर उपकुलपति पदक २०७८ बाट सम्मानित भएकी छन् । पोखरा विश्वविद्यालयको १७ औं दीक्षान्त समारोहमा उनी सम्मानित भएकी थिइन् । श्रेष्ठले यस अघि लक्ष्मी ग्रुपले प्रदान गर्ने लक्ष्मी विद्या पदकसमेत पाएकी थिइन्।
उत्कृष्ट अंक ल्याएका पिसिएमका १० विद्यार्थी युनिभर्सिटीको डिन्स लिस्टमा परेका छन् । एउटै संकायमा एउटै कलेजबाट यति धेरै विद्यार्थी डिन्स लिस्टमा पर्ने कलेज पिसिएम नै भएको निमित्त क्याम्पस प्रमुख लीना नेगी श्रेष्ठले बताइन् ।
पोखरा विश्वविद्यालयका डिन डा दयाराज ढकालले आर्जित ज्ञानले समाज परिवर्तनमा गर्न र हातमा भएको दीयो बाल्न आग्रह गरे । ‘तपाईंहरुको अबको बाटोले समाजलाई ठूलो योगदान पुर्याउनुपर्छ,’ ढकालले भने । विश्वविद्यालयबाट पाएको ज्ञानबाट समाज उत्थान गर्न र इमान्दार भएर बाँच्न उनले आग्रह गरे । ‘अब तपाईहरुसामु सकारात्मक र नकारात्मक बाटा हुन्छन् । तपाईंहरुले कुन बाटो राज्नुहुन्छ भन्ने हो ।’
इमान्दार, परिश्रम र अनुशासनका तीन सूत्रलाई आफूले महत्व दिने गरेको उल्लेख गर्दै निमित्त क्याम्पस प्रमुख श्रेष्ठले यो सूत्रलाई व्यवहारमा उतार्न आग्रह गरिन् । ‘बिबिएबाट यति धेरै विद्यार्थी ग्राजुएट बन्न अभिभावक, सञ्चालक सबैैको योगदान छ । तपाईंहरुलाई यो समारोहमा देख्न पाउँदा हामी हर्षित छौं ।’
उनले सबै मानिसमा केही न केही विशिष्ट खुबी हुने जनाउँदै त्यो खुबी उपयोग गरी समाज र राष्ट्रमा योगदान गर्न उनले सुझाइन् । दीक्षित विद्यार्थीले अब जीवनको नयाँ अध्याय सुरु गर्नुपर्ने उनको भनाइ छ । ‘तपाईहरुले प्राप्त गरेको व्यवहारिक ज्ञान र सीपले महत्वपूर्ण भूमिका खेल्नेछ,’ उनले भनिन् ।
कार्यक्रममा स्वण पदक विभुषित विद्यार्थीले पिसिएममा अध्ययन गर्दाको अनुभव सुनाएकी थिइन् । पिसिएमले आयोजना गरेको यो दोस्रो ग्राजुएसन समारोह हो । कार्यक्रमको अध्यक्षता कलेज सञ्चालक समिति अध्यक्ष प्राडा टंकनाथ शर्मा तिमिल्सिनाले गरेका थिए । कार्यक्रम सञ्चालन कलेजकी फ्याकेल्टी रक्षा पराजुलीले गरेकी थिइन् ।
समारोहमा पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका डिपुटी कन्ट्रोलर दीपमाला श्रेष्ठ, कलेज व्यवस्थापन समिति अध्यक्ष विनोद कायस्थ, सञ्चालक समिति सदस्य प्रान्जल कायस्थ, भाइस प्रिन्सिपल ई हरिप्रसाद बराल, बिबिए प्रोग्राम कोअर्डिनेटर सरोज कुँवर लगायत उपस्थित थिए ।
तपाईको प्रतिक्रिया