पोखरा लेकसाइडमा यौन धन्दा : ग्राहकको रोजाइ अनुसार कोठामै डेलिभरी गर्ने ३ जना प्रहरी नियन्त्रणमा

सञ्जय रानाभाट २०७८ फागुन २१ गते १५:२१

दुर्गमका महिलालाई प्रलोभन र धम्की दिँदै यौन व्यवसायमा लगाउने उनीहरु पोखराको लेकसाइडबाट समातिएका हुन्

सञ्जय रानाभाट

पाेखरा ।
सिन्धुपाल्चोककी १७ वर्षीया बिमला (नाम परिवर्तित) ३ हप्ताअघि पोखरा आइन् । आफन्तले जागिर लगाइदिने आशमा पोखरा आएकी बिमला देह व्यापार गर्न बाध्य भइन् । लेकसाइड, जरेवरको १ होटलमा महिनाको ९÷१० हजार पाउने गरी उनी वेटर बनिन् । थोरै तलबमा काम गरिरहेकी उनलाई दैनिक ५÷६ हजार कमाउन सकिने भन्दै नारायण पोखरेल, पूजा थापा मगर र विशाल योगीले प्रलोभन देखाए ।

दिनमै ५÷६ हजार कमाउने लोभले उनी विस्तारै यौन व्यवसायमा संलग्न भइन् । बिमलालाई महिनामा लाखौं कमाएर पोखरामै स्थापित हुन सकिने प्रलोभन दिई यौन धन्दामा लगाइएको प्रहरी अनुसन्धानमा खुलेको छ । नारायण पोखरेल सहितको टोलीले प्रत्येक दिनजसो कुनै न कुनै ग्राहक खोजिदिन थाल्यो । उनीहरुले नै ग्राहक खोज्नेदेखि सम्बन्धित ठाउँमा कारमै पु¥याइदिने गरे ।
सुरुवाती दिनमा आम्दानी भए पनि पछिल्ला दिनमा बिमलालाई आफूलाई ब्याकमेलिङ गर्न थालेको महसुस गरिन् । यौन व्यवसाय गरेको परिवारलाई सुनाइदिने, समाजमा बदनाम गरिदिने, विभिन्न धक्की दिने गरेपछि बिमला प्रहरीकहाँ पुगिन् ।

Advertisement


बिमलामात्र होइन, स्याङ्जा घर भएकी बिना (नाम परिवर्तित)ले पनि आफू पीडित भएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएकी थिइन् । २४ वर्षीय बिनाले आफू ७ महिनादेखि यौन व्यवसायमा संलग्न भएको र पछिल्लो समय नारायण पोखरेल सहितको टिमले मानसिक यातना दिएको प्रहरीलाई बयान दिएकी छन् । आफूलाई स्याङ्जाबाट होटलमा काम लगाइदिने भन्दै ल्याए पनि विस्तारै यौन व्यवसायमा संलग्न गराएको र अहिले बारम्बार यातना दिएको उनले दाबी छ ।


महिलालाई प्रलोभन, धम्की र यातना दिएर यौन व्यवसायीमा लगाउने यीनै ३ जनालाई शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजनिक गरेको छ । पोखरा ७ मुस्ताङचोक स्थायी घर भएका हाल पोखरा १७ रातोपहिरो बस्ने ३० वर्षीय नारायण पोखरेल, सिन्धुपाल्चोकको चौतारा ६ ठूलीधारा स्थायी घर भई हाल पोखरा ६ जरेबर बस्ने वर्ष २२ की पूजा थापामगर र बाँकेको चिसापानी ९ स्थायी घर भई हाल पोखरा ६ बस्ने २२ वर्षीय को विशाल योगीलाई प्रहरीले सार्वजनिक गरेको हो ।

Advertisement

पूजा नारायणकी प्रमिका हुन् । विवाहित नारायणले परिवारलाई लेकसाइडमा र श्रीमतीलाई घरमै राखेका छन् । विशाल व्यवसाय गर्ने महिलालाई ग्राहकको माग अनुसार होटल, कोठाहरुमा पु¥याउने गर्थे । यी ३ जनाले केही वर्षदेखि पोखराको लेकसाइडमा यौन धन्दा चलाउँदै आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक मुकेश न्यौपानेले जानकारी दिए । उनीहरुले लेकसाइडमा कोठा भाडामा लिई यौन धन्दा चलाउने गरेको प्रहरीले जनाएको छ । विभिन्न होटेलमा माग अनुसार महिला उपलब्ध गराइदिने भन्दै उनीहरुले धन्दा चलाएको खुलेको हो ।


यौन व्यवसाय गरेर महिलालाई पीडित बनाएको जरुरी परेपछि जिल्ला प्रहरी कार्यालय कस्कीले अनुसन्धान थालेको थियो । न्यौपानेकै नेतृत्वमा ४ सदस्यीय टोली गठन गरी प्रहरीले अनुसन्धान गरेको हो ।


न्यौपानेका अनुसार उनीहरुले सामाजिक सञ्जालमा समूह बनाई महिला उपलब्ध गराउँदै आएका थिए । ‘महिलाका तस्बिर सामाजिक सञ्जालबाटै पठाउने र ग्राहकको रोजाइमा परेकालाई कारमा हालेर ग्राहककै रुम वा होटल मिलाई दिँदै यौन धन्दा चलाउँदै आएका रैछन्,’ न्यौपानेले भने ।


यसमा संलग्न अधिकांश महिला दुर्गम क्षेत्रबाट आएको देखिएको छ । ‘यौन व्यवसाय गर्न बाध्य पार्ने अनि कोठा मिलाएर राख्ने गरेका रैछन्,’ न्यौपानेले भने, ‘यसरी यौन क्रियाकलापमा संलग्न ग्राहक अधिकांश पोखरा घुम्न आएका पर्यटक छन् । केही भ्याली भित्रका पनि छन् ।’


नाबालिका भए प्रत्येक रातको १८ हजार, २० वर्षभन्दा माथिका भए १५ हजारसम्म उनीहरुले लिने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । ‘ग्राहकसँग धेरै पैसा उठाउने यौन व्यवसायमा संलग्नलाई सुरुमा ४÷५ हजार दिने, पछि पैसा नै नदिने र मानसिक यातना दिने गरेको देखियो,’ प्रहरी निरीक्षक न्यौपानेले सुनाए ।


प्रहरीले उनीहरु तीनै जनालाई १५ गते बिहान पक्राउ गरेको डिएसपी सुन्दर तिवारीले बताए । पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा कास्की जिल्ला अदालतबाट ८ दिन म्याद थप गरी अनुसन्धान भइरहेको तिवारीले जानकारी दिए ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया