हत्या आराेपमा पाेखराका अशाेक बहराइनबाट १६ वर्षपछि यसरी पक्राउ परे

सञ्जय रानाभाट २०७८ फागुन २५ गते २१:०८

सञ्जय रानाभाट
पोखरा ।
साबिक लेखनाथ नगरपालिकाको वडा नम्बर १३ खुदीखोलामा तटबन्ध लगाउने काम हुँदै थियो । कसरी आए रोजन राई तर, उनले त्यहाँ ग्याबिनमा ढुंगा भर्ने काम पाए । २० वर्षे रोजन दिनभर मजदुरी गर्थे, साँझ मदिरापानमा पनि पल्केका रहेछन् । एक दिन मदिरा पानकै क्रममा सातमुहानेका अशोक गुरुङसँग झगडा प¥यो । देखे, जानेकाहरुका अनुसार ३० वर्षे अशोकले कटुसको दाउराको चिर्पटले रोजनलाई हिर्काए । टाउकैमा चोट लाग्यो । २९ वैशाखमा घाइते रोजनको जेठ २ गते उपचारकै क्रममा मृत्यु भयो ।

२०६३ सालमा रोजन राई मारिएका थिए, उनलाई चिर्पटले हान्ने अशोक भागेका थिए

Advertisement


यो २०६३ सालको घटना हो । उक्त घटनापछि अशोक गाउँमा देखिएनन् । रोजनलाई खोज्न कोही आएन । सँगै काम गर्नेहरु र स्थानीयलाई रोजनले यत्ति भनेका रहेछन्, ‘घर सुनसरी धरान ।’ तर आफन्त र चिनाजानेका मान्छेहरु को थिए, भन्ने कसैलाई थाहा भएन । मृत्युपछि शव बुझिदिने पनि कोही भएन । प्रहरीले कानुनी प्रहरी प्रक्रिया पूरा गरी अन्तिम संस्कार गरिदियो । अशोक भने काठमाडौंतिर हिँडे । प्रहरीले फेला पारेन । काठमाडौंमा पनि होटल चहारी चहारी हिँडेका उनी ३/४ महिनाको बीचमा एकपटक भन्दा बढी पोखरा आएनन् ।


काठमाडौंबाट दिल्ली हुँदै कुबेत उडे । ३ वर्ष त्यहाँ बसे । फर्केर नेपाल आए अनि बहराइन गए । अनि नेपाल आउँदै आएनन् । १६ वर्ष पुगिसकेको त्यही हत्याकाण्डमा संलग्न भएको आरोपमा कास्की प्रहरीले उनलाई बहराइनबाटै झिकाउन सफल भएको छ । मंगलबार ल्याइपुर्‍याइएका उनलाई कास्की जिल्ला अदालतबाट ७ दिन थुनामा राख्ने अनुमति लिएर कास्की प्रहरीले थप अनुसन्धान थालेको छ । अब उनीमाथि मुलुकी फौजदारी संहिता २०७४ अनुसार कर्तव्य ज्यान मुद्दा प्रहरीले लगाउने भएको छ ।
यति पुरानो घटना । त्यसमाथि कसैले सोधीखोजी नगरेको मान्छेको हत्याकाण्ड । कसरी पक्राउ परे त अशोक ? कास्की प्रहरी प्रमुख एसपी रमेश थापा भन्छन्, ‘कसैको कोही भएन छैन भने पनि राज्य त छ नि ।’ अर्थात प्रहरीले राज्यको त्यही भूमिका निर्वाह गर्‍यो, रोजनका आफन्त न्याय माग्न नआए पनि घटनामा संलग्नलाई अदालतको कठघरा उभ्याउन ल्याईछाड्यो । घटना जतिसुकै पुरानो भए पनि कोही उम्कन्न नसक्ने सन्देश दिन पनि कास्की प्रहरी सफल भएको छ ।

Advertisement


बहराइनबाट कसरी ल्याइयो त अशोकलाई ? यसका लागि अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको सहयोग लिइएको एसपी थापा बताउँछन् । कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार एसपी थापाले गएको भदौको एक कार्यालय मिटिङमा पेन्डिङ केसहरु खोतल्न भनेका थिए । त्यही क्रममा १६ वर्ष पुरानो रोजन राई हत्याकाण्डको रेकर्ड भेटिएको थियो । लगत्तै असोजमा कास्की प्रहरीले जिल्ला अदालतबाट अशोकलाई पक्रने अनुमति पुर्जी प्राप्त गर्‍यो ।


कास्कीले गण्डकी प्रदेश प्रहरीसमेतको सहयोग लिएर नेपाल प्रहरीको इन्टरपोल शाखालाई अशोकलाई पक्रनुपर्ने भनी पत्राचार ग¥यो । शाखाले असोज १२ गते इन्टरपोललाई पत्र लेख्यो । इन्टरपोल सचिवालयले मंसिर २८ मा अशोकका विरुद्ध रेड कर्नर नोटिस प्रकाशित गर्‍यो । अशोक ३ दिनमै बहराइन प्रहरीबाट समातिए । मंगलबार उनी नेपाल ल्याइपुर्‍याइएका हुन् । बुधबार कास्की प्रहरीले सार्वजनिक गरेको हो ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया