पलविरुद्ध जाहेरी हाल्ने त्यो आँट

समाधान संवाददाता २०७८ फागुन २६ गते २२:०२

पोखरा ।
दिनहुको हेरचाह र रेखदेख । घरमा आमाबालाई पनि बारम्बार फोन अनि सञ्चोबिसञ्चोको हालचाल सोधनी पुछनी । त्यतिमात्रै होइन कलाकार पल शाह नाबालिग गायिकालाई माया गर्छु पनि भन्थे । बिहे नै गर्छु भन्ने सपना देखाउँथे । तर, त्यो सब नाटक रहेछ । माया गर्छु भन्ने बहानामा पटक–पटक जबर्जस्ती करणी गरेको थाहा पाएपछि छाँगाबाट खसेजस्ता भएका बालिकाका बाबाका आँखा प्राय आँसुले भिजिरहेका छन् ।


शाह विरुद्ध जाहेरी नै दिएपछि पनि अनेक लान्छना सहनुपर्दा उनीहरुले झन् पीडा खेपे । सामाजिक सञ्जालमा पलकै पक्षमै आएका आवाज देखेर उराठ माने । तै न्याय पाइन्छ भन्ने आशा उनीहरुलाई छ । पहिला त उजुरी दिनै पनि उनीहरुलाई डर लागेको थियो । त्यसपछिका दिनमा उल्टै कुरा काटेका भिडिओ सामाजिक सञ्जालमा आउँदा बालिकाकी आमा रुनमात्रै सकिन् । अरु केही गर्न सकिनन् । अहिले भने आँट अझै बलियो भएको छ ।


बालिका भन्छिन्, ‘त्यो ठूलो मान्छे, हामीले के पो गर्न सक्छौं भन्ने थियो ।’ त्यसमाथि पीडकले नै म जे पनि गर्न सक्छु भन्दै बालिकाका बाबुलाई धम्क्याएका पनि थिए । तर जसोतसो एक अभिभावकको साथ लागेर सुरुमा बालिका आफैं जिल्ला प्रहरी कार्यालय पुगेर घटना सुनाएकी थिइन् । जसै त्यो कुरा जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी रमेश थापाको कानमा पुग्यो, उनले बालिकाका बाबाआमालाई पनि डाकेर थप कुरा बुझे । जाहेरीमा जानुपर्छ, न्यायको प्रक्रिया थाल्नुपर्छ भन्ने सुझाए । त्यो माघ दोस्रो साताको कुरा थियो ।

Advertisement


घटनास्थल तनहुँ थियो । तनहुँ टाढा थिएन, जहाँको घटनाको हदम्याद गुज्रिएको थिएन । बालिका र उनका बाबाआमालाई पनि सुम्झाइबुझाइ कास्की प्रहरीले तनहुँ जाने उपाय निकाल्यो । साथमा जिल्ला प्रहरी कार्यालय कास्कीबाटै १ जना प्रहरी पनि खटाइए, गाडीको बन्दोबस्ती पनि भयो । तनहुँ गए ।


कास्की प्रहरी प्रमुखले तनहुँ प्रहरी प्रमुखसँग संवाद जारी राखे । त्यहाँबाट पोखरा नै अनुसन्धान अधिकृत मगाएर पनि घटना विस्तृत विवरण जानकारी गराए । नाबालिका र बाबुआमालाई पनि निरन्तर परामर्शमा राखेर जाहेर तयार गरी २१ फागुनमा तनहुँमा दर्ता गराइएको अधिवक्ता टंक पौडेल बताउँछन् । जाहेरीका लेख्ने काम उनै पौडेलले गरेका हुन् ।

Advertisement


जसै कास्की प्रहरीको परामर्शले पीडित र उनका बाबाआमालाई ठूलाबडाका पक्षमा मात्रै मान्छे हुँदैनन् भन्ने हौसला दियो । उनीहरुलाई जाहेरी दिन आँट पलायो । ‘त्यतिबेला कास्की प्रहरी हाम्रो पक्षमा नउभिएको भए आज यो ठाउँसम्म आएर यसरी लड्ने साहसै हुन्थेन,’ बालिकाका बाबुले भने, ‘खोजे भगवान पनि भेटिन्छ भन्छन् । हामीले भेट्टायौं ।’ अहिले उनीहरुलाई प्रहरी र त्यसमाथि कास्की प्रहरीको भरले नै आँट दिइरहेको छ । ‘अब कुनै डर छैन,’ बालिकाका बुवाले भने, ‘हामी नै पीडित, हामी नै किन डराउने ? अब ज्यान जाला, छोरीलाई न्याय दिलाएरै छोड्छौं ।’ अहिले पनि बालिकाको परिवारलाई सुरक्षा दिइरहेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारी बताउँछन्। जसले गर्दा उनीहरु सुरक्षितसँगै आँटिला पनि भएका छन् ।

तपाईको प्रतिक्रिया