गठबन्धन गरी ३ तहमै जित्छौंः मुख्यमन्त्री

समाधान संवाददाता २०७८ फागुन २९ गते १७:३३

तनहुँ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अब कांग्रेसको नेतृत्वमा गठनबन्धन सरकार मिलेरै चुनावमा जाने र ३ तहकै चुनावमा विजय हासिल हुने बताएका छन् । पोखरेलले आगामी चुनावमा जीत हात पार्न गठबन्धनलाई निरन्तरता दिनुपर्ने तर्क गरे ।

Advertisement


व्यास नगरपालिकाले शनिबार गरेको व्यास नगर अल्ट्रा म्याराथनको समापन कार्यक्रममा उनले गठबन्धनको संस्कृतिलाई परिस्कृत गर्दै लैजान सके मुलुकमा राजनीतिक स्थायित्व कायम हुने बताए ।


व्यास नगरपालिका ५ मानुङकोटबाट सुरु भएको अल्ट्रा म्याराथन ४४ किलोमिटर दूरी पार गर्दै व्यास नगरपालिका ८ पुलिमराङमा समापन भएको हो । कार्यक्रममा मुख्यमन्त्रीले भने, ‘हामीमा गठनबन्धन संस्कृति नभएका कारण असजिलो लागेको हो । अहिले गठबन्धनकै सरकार बनेको छ, राष्ट्रिय सभाको चुनावमा हामीले त्यो अभ्यास गरिसकेका छौं, आगामी चुनावमा पनि मिलेरै जानुपर्ने हुन्छ ।’ छिमेकी मुलुक भारतमा मनमोहन सिंहले २ पटकसम्म गठबन्धन सरकारकै नेतृत्व गरेको स्मरण गर्दै उनले नेपालका दलहरुले पनि त्यसको अनुुसरण गर्नुपर्ने बताए ।


गएको चुनावमा भए भरका कम्युनिस्ट मिलेर तलदेखि माथिसम्म विजयी भए पनि दलहरुबीचकै मनमुटावका कारण राजनीतिक उतारचढाव आएको उनको भनाइ थियो । उनले संघीयताको पहिचान भनेको प्रदेश सरकार रहेको भन्दै नागरिकका समस्या सुल्झाउन हरसम्भव प्रयास गरिरहेको बताए । विकास निर्माण मात्र नभएर सामाजिक क्षेत्रमा समेत प्रदेश सरकारले उल्लेखनीय काम गरेको दाबी उनको थियो ।


खेलकुदको प्रंसगमा उनले गण्डकी प्रदेशलाई खेलकुद पर्यटनको हब बनाउनुपर्ने बताए । अबको केही महिनामा पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको र त्यसको तयारीमा प्रदेश जुटेको पनि उनको भनाइ थियो । खेलमार्फत् २ महत्वपूर्ण स्थललाई जोड्ने गरी सुरु गरेको अल्ट्रा म्याराथन व्यास नगरपालिकाको दूरदर्शी कार्य रहेको उनले बताए । मुख्यमन्त्री पोखरेलले सरदार यदुनाथ खनाल जन्मिएको मानुङकोट र सहिद गाउँ पुलिमराङलाई खेलकुदका माध्यमबाट विश्वसामु चिनाउन म्याराथनले महत्वपूर्ण भूमिका खेलेको भनाइ राखे ।

Advertisement


तनहुँको सदरमुकाम कब्जा गर्ने क्रममा पुलिमराङका धर्मध्वज गुरुङको स्मरण गर्दै त्यतिबेला राणा शासनको विरुद्धमा आवाज उठाएकै कारण शाहदत प्राप्त गरेको बताए । पछि पञ्चायती व्यवस्थाको विरुद्धमा समेत पुलिमराङका युवाले मुलुकका लागि ठूलो योगदानको उनले कदर गरे । उनले भने, ‘धर्मध्वजले बन्दीपुरमा रगत बगाएकै दिनमा नेपालमा संघीय लोकतान्त्रिक व्यवस्थाको जग बसेको हो, अहिले आएर साकार भएको छ ।’


सहिद गाउँको नामले परिचित तनहुँको व्यास नगरपालिका ८ पुलिम¥याङ अहिले पर्यटकीय गन्तव्य बनेको छ । २००७ साल र त्यसपछि भएका आन्दोलनका क्रममा प्रजातन्त्र स्थापनाकै लागि भिडेका कारण यो गाउँका ६ जनाले मृत्युवरण गर्नु परेको छ ।

पुलिम¥याङ्कै भरत गुरुङ, शमसेरबहादुर गुरुङ, लालध्वज गुरुङ, धर्मध्वज गुरुङ, सर्वसिंह गुरुङ, हस्तवीर गुरुङले विभिन्न समयमा शाहदत प्राप्त गरेका छन् । पुलिम¥याङ गाउँभन्दा केही माथिको खाली जमिनमा अहिले सहिद पार्क बनाइएको छ र त्यहाँ तिनै ६ जना सहिदको प्रतिमा राखिएको छ ।


कार्यक्रममा व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर २२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए । उनले मानुङकोटको पर्यटकीय महत्व र पुलिमराङको ऐतिहासिक महत्व जोड्नका लागि यो कार्यक्रा आयोजना खुलाए ।


उक्त अवसरमा स्थानीय एक्काबहादुर गुरुङ, टेकबहादुर गुरुङले सहिद पार्कमा सहज आवतजावतका लागि सडकको स्तरोन्नती गर्नुपर्ने आवश्यकता औंल्याए । उक्त अवसरमा संविधानसभा सदस्य रामचन्द्र पोखरेल, जिल्ला समन्वय समिति तनहुँ प्रमुख शान्तिरमण वाग्लेसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिले भनाइ राखेका थिए ।

तपाईको प्रतिक्रिया