मादी गाउँपालिकामा हनी हन्टरदेखि डाक्टरसम्म सम्मानित

पोखरा ।
मादी गाउँपालिकाले स्थानीय तह स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा मादी गाउँपालिकामा जन्म भई देश तथा विदेशका साथै विभिन्न क्षेत्र तथा विधामा ख्याति कमाएका व्यक्तित्वलाई सम्मान गरियो । राजनीतिक व्यक्तित्व, कृषक, कलाकार, संगितकार, उद्योगी व्यवसायी, उच्च पदस्थ कर्मचारी, विशिष्ट व्यक्तित्व, खेलाडी, चिकित्सक, शिक्षाविद्, वातावरणविद्, सामाजिक अभियान्तालाई गाउँपालिकाले सम्मानित गरेको हो ।
जनप्रतिनिधिले पालिकाको आर्थिक, सामाजिक, भौतिक, मानवीय विकास, सुशासन लगायतका समग्र विकासमा गरेका कार्यको विवरण सहितको मादी गाँउपालिकाको पहिलो कार्यकाल नामक पुस्तक पूर्व गृहमन्त्री खगराज अधिकारीले सार्वजनिक गरे ।
समारोहमा मादी गाउँपालिकाको स्थानीय पाठ्यक्रममा आधारित कक्षा ६ र ७ को मेरो मादी नामक पाठ्यपुस्तक पनि सार्वजनिक भयो । गाउँपालिकाको स्थानीय गीत मेरो मादीको गीति भिडियोसमेत सार्वजनिक भएको छ ।
कार्यक्रममा अधिकारीले मादी गाउँपालिकाको विकासका लागि गुरुङको सभ्यताको ऐतिहासिक थलो क्होंलासोंथार ाई सम्पदा सूचीमा सूचीकृत गरी विकास गर्नका लागि आफूले पहल गरेको बताए । उनले पर्यटन, स्वास्थ्य, शिक्षा र भौतिक विकासमा मादी गाउँपालिकाले गरेका विकासका कार्यको चर्चा गरे । मादीको विकासमा गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ नेतृत्वमा रहेको जनप्रतिनिधिको अहम् भूमिका भएको उनको भनाइ छ ।
एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङले यस पालिकाको विकासका लागि भएका कार्यमा मादीका जनप्रतिनिधिले गरेका कार्यको प्रशंसा गरे । गण्डकी प्रदेश सभाका सदस्य गायत्री गुरुङले मादी गाउँपालिकाको पाँचवर्षे विकासदेखि आफूखुसी भएको सुनाइन् । कास्की जिल्ला समन्वय समिति प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले मादी गाउँपालिका भौतिक पूर्वाधार विकासका लागि पालिकाका जनप्रतिनिधिको उल्लेख्य भूमिका रहेको बताए ।
नेपाली कांग्रेसका नेता कृष्ण केसीले विकास गर्दा राजनीति गर्न नहुने जनाए । सम्मानित व्यक्तित्व नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति प्राज्ञ डा. जगमान गुरुङले राजनीतिले पक्ष र विपक्षका कुरा गर्ने उल्लेख गर्र्दै सहीलाई सही र गलतलाई गलत भन्न सक्नुपर्नेमा जोड दिए ।
मादी गाउँपालिका निवासी राष्ट्रपति कार्यालयका महिला बालबालिका विज्ञ लक्ष्मी कार्की तथा लेखक एवं विश्लेषक झलक सुवेदीले गाउँपालिकाले आफूलाई सम्मानित गरेकोमा खुसी व्यक्त गरे । मादी गाउँपालिकामा जन्मी हुर्की सांगीतिक क्षेत्रमा विशिष्ट योगदान गर्ने वरिष्ट संगीतकार÷गीतकार तथा गायक वसन्त सापकोटालाई सम्मान गरिएको छ ।
समारोहमा मादी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटालाई कोभिड महामारी लगायतको विभिन्न प्रतिकूल परिस्थितिमा कुशलतापूर्वक कार्यसम्पादनमा सम्मान गरियो । मादी गाउँपालिकामा जन्म भई पालिकामा सेवा गरिरहेका डा. मदन सापकोटादेखि मह सिकारी शेरबहादुर गुरुङ, परम्परागत आरन सञ्चालक सूर्यबहादुर विश्वकर्मासम्मलाई मादी गाउँपालिकाले मादी जन्मभूमि सम्मान पत्र र मेडल प्रदान गरेको छ ।
मादी गाउँपालिकाका विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने कर्मचारी, शिक्षक, प्रधानाध्यापक, उपभोक्ता समिति, कृषक, विद्यार्थी, विद्यालय, स्वास्थ्यकर्मी, पन्चे बाजा समूह, भजन चुड्का समूह, वन उपभोक्ता समिति, युवा क्लब, आमा समूह, पत्रकार, महिला स्वास्थ्य स्वयंसेविका, लामा, पच्युलाई उत्कृष्ट घोषित गरी सम्मानपत्र र मेडलबाट सम्मान गरिएको छ । गायिका एलिना गुरुङ, खेलाडी टेकेन्द्र गुरुङ, भीर मौरी शिकारी शेरबहादुर गुरुङ, फोटो पत्रकार युनिस गुरुङ, कृषि तरकारीमा उत्कृष्टता हासिल गर्ने गीता सापकोटा, बाख्रापालक नारायण बराल, पर्यटन व्यवसायी विकास गुरुङ, दूधपोखरी माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष जसबहादुर गुरुङ लगायत सम्मानित भए ।
मादी गाउँपालिकालाई सेवा क्षेत्र बनाई विभिन्न क्षेत्रमा कार्य गर्ने संस्था कोपिला नेपाल, राइट फर चिल्ड्रेन, पाहर ट्रस्ट नेपाल, गोर्खा वेलफेयर ट्रस्ट, नौलो घुम्ती, नेपाल रेडक्रस सोसाइटी, गुड नाइबर्स नेपाल, रोटरी क्लब अफ पोखरा, नेलम्बो नेपाल, ढिकुरपोखरी सम्पर्क समाज, सिबिआरएस नेपाल, सिआरएस नेपाल, जियोनेट कनेक्सन प्रालि लगायतलाई समेत कदर पत्र प्रदान गरियो ।
मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले विकासका लागि सहयोग गर्ने सबैमा आभार व्यक्त गरे । कार्यक्रममा पालिका उपाध्यक्ष विष्णुमाया आचार्य पौडेल, वडाध्यक्षहरु पसबहादुर बास्तोला, तोरणबहादुर गुरुङ र यमबहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटा लगायतले बोलेका थिए ।
समारोहमा संगीतकार वसन्त सापकोटा गीत प्रस्तुत गरे भने थुम्सीकोट भजन समूहले भजन चुट्का, मुनाल फिल्मसका कलाकारले गीत एवं नृत्य प्रस्तुत गरेका थिए ।
तपाईको प्रतिक्रिया