पोखराको मेयरमा क-कसले पाउलान् टिकट ? पूर्वमन्त्रीदेखि व्यवसायीसम्मको चर्चा

समाधान संवाददाता २०७८ चैत १ गते १२:४१

पोखरा ।
आउँदो ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकाको मेयरका लागि डेढ दर्जनभन्दा बढीले आकांक्षी देखाएका छन् । सबै पार्टीमा सम्भावित उम्मेदवारको चर्चा छ । पोखरामा मुख्यतः दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसबीच प्रतिस्पर्धा हुने अडकल छ । लेखक गनेस पौडेलले भने यसअघि नै स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् ।

२०७४ सालको निर्वाचनमा मेयर निर्वाचित मानबहादुर जिसीले कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार कांग्रेसका रामजी कुँवरलाई साढे १३ हजार मतले हराएका थिए । यहाँ एमालेबाट निर्वाचित २२ र कांग्रेसका ११ वडाध्यक्ष छन् ।

एमालेबाट क–कसको चर्चा ?
नेकपा एमालेमा हालसम्म दसौंजनाको नाम मेयरको उम्मेदवार हुनेमा पार्टीभित्रबाहिर चर्चा छ । मेयरमा पूर्वमेयर, सांसद, हाइड्रो सञ्चालकदेखि होटल सञ्चालकसम्मको चर्चा छ ।

Advertisement


बहालवाला उपमेयर मञ्जुदेवी गुरुङ, पूर्वमेयर एवं प्रदेश सांसद कृष्णबहादुर थापा, प्रदेश सांसद राजीव पहारी, नेता भीम कार्की एमालेबाट मेयरको दाबेदार हुन् । उनीहरु सबै पार्टीको केन्द्रीय सदस्य छन् । कार्की पार्टीको कास्की जिल्ला इन्चार्ज पनि हुन् ।


नेतृ मीनाकुमारी गुरुङ महिलातर्फबाट चर्चामा आएको अर्को नाम हो । पार्टीको जिल्ला सहइन्चार्ज रहेकी मीना एमाले उपमहासचिव पृथ्वीसुब्बाकी सम्धिनी हुन् ।

Advertisement


एमालेको केन्द्रीय अनुशासन विभागका सचिव प्राडा इन्जिनियर भरत पहारीलाई पोखराको मेयर बनाउनु पर्ने चर्चा पनि एमाले वृत्तमा व्यापक छ । पेसाले इन्जिनियर पहारीले पछिल्लो समय पोखराको लेकसाइडमा पाँच तारे होटल सञ्चालन गरेका छन् । आफैले मेयर बन्छु भन्दै लबिङ नगरेका पहारीले पार्टी नेतृत्वले पोखराको निर्माणका लागि मेयर बन्न आग्रह गरेमा सोच्न सक्ने बताउँछन् ।


होटल व्यवसायी पुष्प अधिकारी पनि मेयरका आकांक्षी हुन् । उनले पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव पृथ्वीसुब्बालाई रिझाउने प्रयास गरेका छन् ।


पछिल्लो पुस्ताका नेता रश्मि आचार्य र दिलीप न्यौपानेको चर्चा पनि एमालेवृत्तमा चलेको छ । विद्यार्थी राजनीतिबाट भूगोलको राजनीतिमा आएका आचार्य गण्डकी प्रदेश कमिटीको उपसचिव हुन् भने न्यौपाने पोखरा महानगर पालिकाका पार्टी अध्यक्ष हुन् । पोखराको नेतृत्व युवालाई दिनुपर्छ भन्नेहरुले रश्मिलाई नयाँ पुस्ताको बौद्धिक नेताका रुपमा लिन्छन् ।


एमाले र माओवादी मिलेर बनेको नेकपा कालमा पोखरा महानरपालिका कमिटी संयोजक रहेका पूर्व शिक्षक दीपक पौडेल एमालेबाट अर्का दाबेदार छन् । पौडेल नेपाल राष्ट्रिय शिक्षक संगठनको कास्की अध्यक्षसमेत थिए । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सञ्जीवबहादुर कोइराला पनि दावेदार मध्येका एक हुन् । कोइराला एमाले गण्डकी प्रदेश कमिटी सदस्य हुन् । अहिलेको वडाध्यक्षमध्येमा दर्शन लामाले पनि मेयर बन्ने आकांक्षा राखेको उनी निकटस्थहरुले बताएका छन् । उनी एमाले कास्कीका उपसचिव हुन् । अर्का युवा नेता एवं जलविद्युत उद्यमी पुष्पज्योति ढुंगानाको पनि मेयरमा चर्चा छ । नेपालमा जलविद्युत उत्पानमा स्थापित भइरहेका ढुंगानाले काममै ध्याने भन्दै रुचि देखाएका छैनन् ।


कांग्रेसमा क–कसको चर्चा ?
नेपाली कांग्रेसबाट मेयरको उम्मेदवारमा प्रदेशका बहालवाला मन्त्री, संघका पूर्वमन्त्री, पूर्वसचिवसम्मको चर्चा छ । पार्टीका निवर्तमान जिल्ला सभापति कृष्ण केसीले २ महिनाअघिबाटै लबिङ थालेका थिए भने प्रदेशका बहालवाला कानुनमन्त्री बिन्दुकुमार थापाको पनि मेयरमा चर्चा छ । मेयरको उम्मेदवार बन्नुपर्ने अवस्थामा कास्की २(ख)बाट निर्वाचित थापाले प्रदेश सांसदबाट राजीनामा बुझाउनुपर्ने हुन्छ ।


नेपाल सरकारका पूर्वसचिव बाबुराम आचार्य अर्का दाबेदार हुन् । कांग्रेस स्रोतले बताएअनुसार आचार्यलाई पार्टीका प्रदेश सभापति शुक्रराज शर्माको बलियो साथ छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वाध्यक्ष आनन्दराज मुल्मीले पनि चुनाव लड्ने मानसिकता बनाएको कांग्रेस स्रोतले बतायो । संघ सरकारका पूर्व कानुनमन्त्री यज्ञबहादुर थापाको पनि मेयरको उम्मेदवारमा चर्चा छ । निवर्तमान पार्टी जिल्ला सचिव सुदीपमोहन भट्टराई पनि मेयरमा कांग्रेसबाट दाबेबार मानिएका छन् ।


कांग्रेस वृत्तमा पार्टीका जिल्ला सभापति किशोरदत्त बरालको चर्चा पनि छ । कांग्रेस पोखरा महानगर सभापतिमा पराजित पत्रकार गंगाधर पराजुली पनि कांग्रेसबाट मेयरका आकांक्षी छन् । गत निर्वाचनमा उपमेयरमा पराजित नेतृ सरस्वती गुरुङ अर्की दाबेदार हुन् । महिला नेतृ कांग्रेस प्रदेश सहमहामन्त्री कोपिला रानाभाट, माया बराल, लक्ष्मी पाण्डेको पनि पाए मेयर, नपाए उपमेयर हुने इच्छा रहेको बुझिन्छ ।


महिला नेतृमध्ये सरस्वती बलियो दाबेदार मानिन्छिन् । गत निर्वाचनपछि उनले कांग्रेसमा आफूलाई स्थापित गर्न सफल भएकी छन् भने प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवासम्म सिधा पहुँच बनाएकी छन् । मेयरमा नपाए पनि उनी फेरि उपमेयरमा उठ्न सक्ने सम्भावना छ । उनी मेयरमा उठेर उद्योगी किरण केसी उपमेयर उठ्न सक्ने चर्चा पनि छ ।
कांग्रेसबाट विश्वशंकर पालिखे पनि मेयरका आकांक्षी छन् । उनले ८ महिनाअघिदेखि नै पार्टीमा लबिइङ गरिरहेका छन् । पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पालिखे प्रजातन्त्र सेनानीका सन्तान हुन् । द्वन्द्वकालमा पर्यटन क्षेत्र सुनसान हुँदा पालिखेकै अगुवाइमा पोखरामा आन्तरिक पर्यटक भित्र्याउन जाऊँ है पोखरा अभियान सुरु भएको थियो । उनी नेपाल चीन जनमैत्री संघको पनि अध्यक्ष छन् । कांग्रेसबाट अर्का आकांक्षी हुन् पोखरा ८ का पूर्ववडाध्यक्ष वीरेन्द्रनारायण बिजुक्छे । उनी कांग्रेस नगर समितिका पूर्व सभापति हुन् ।


माओवादीबाट कसको सम्भावना ?


माओवादीबाट मेयरको उम्मेदवार हुनेमा तीनजनाको नाम बढी चर्चामा छ । माओवादीका एक नेताका अनुसार गठबन्धनका दल छुट्टाछुट्टै चुनाव लडेमा माओवादीबाट बखानसिंह तमु, विश्वप्रकाश लामिछाने र हरिनारायण गिरी (विज्ञान)मध्ये एकजना उम्मेदवार बन्ने सम्भावना बढी छ । ‘विश्वजी पहिला पनि मेयरको आकांक्षी हुनुहुन्थ्यो । उहाँको यसपटक पनि इच्छा देखिन्छ,’ माओवादीका एक नेताले भने, ‘बखानजी र विज्ञानजी जनयुद्धदेखि नै लागेका सिनियर नेता भएकाले उहाँहरूको सम्भावना छ । बाँकी पार्टी केन्द्रकै कुरा भयो ।’


माओवादी केन्द्रबाट मेयरको दाबी गरिरहेका बखानसिंह तमु, हरिनारायण गिरी र विश्वप्रकाश लामिछाने । माओवादी केन्द्रबाट मेयरको दाबी गरिरहेका बखानसिंह तमु, हरिनारायण गिरी र विश्वप्रकाश लामिछाने ।


बखान माओवादीको कास्की समन्वय समिति संयोजक हुन् । पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश पार्टी पोखरा नगर कमिटीका पूर्वाध्यक्ष हुन् । विज्ञान हालै पार्टी पोखरा महानगर कमिटीका अध्यक्ष बनेका छन् ।
उपमेयरमा अघिल्लो निर्वाचनमा पराजित गोमा ढकाल उठ्ने चर्चा छ । तर, गठबन्धन भएमा परिस्थिति फरक बन्ने छ । गठबन्धन हुँदा कांग्रेसले मेयर लड्ने भएकाले ढकालले त्यस्तो अवस्थामा टिकट पाउने सम्भावना निकै न्यून रहन्छ ।


धनराज आचार्य गठबन्धनका उम्मेद्वार ?


माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बाट कास्की अध्यक्ष धनराज आचार्य मेयरका आकांक्षी छन् । नेकपा एस अहिले कांग्रेस नेतृत्वको सत्ता गठबन्धनमा सामेल छ । चुनावमा पनि यही गठबन्धनलाई निरन्तरता दिन माओवादी केन्द्र र नेकपा एस लागिपरेका छन् । देशका ६ वटा महानगरपालिकामध्ये नेकपा एसले एउटाको प्रमुख पाउँदा पोखरा उसको भागमा पर्ने दाबी नेकपा एसको छ । त्यसो हुँदा उक्त पार्टीबाट मेयरको टिकट आचार्यले पाउने देखिन्छ । चुनावमा कांग्रेससहित ५ दलीय गठबन्धन हुने÷नहुने अझै टुंगो भने छैन ।

तपाईको प्रतिक्रिया