कास्कीमा १४७१ जना म्यादी प्रहरीको भर्ना खुल्यो

समाधान संवाददाता २०७८ चैत ५ गते २२:०३

पोखरा ।
कास्कीमा म्यादी प्रहरी भर्ना खुलेको छ । स्थानीय तह निर्वाचन २०७९ का लागि चैत ६ देखि ११ गतेसम्म भर्ना प्रक्रिया अगाडि बढाउन दरखास्त आह्वान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्कीका लागि १४७१ जना म्यादी प्रहरी भर्ना गर्नुपर्ने प्रहरी उपरीक्षक रमेश थापाले बताए ।

Advertisement


छनोटका मापदण्डसमेत निर्धारण गरिएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले दर्खास्त दिन सक्नेछन् । पूर्वनेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिने जनाइएको छ । मापदण्डको दोस्रो प्राथमिकतामा पूर्व वनरक्षक र सेना, प्रहरी र सशस्त्र प्रहरी बलमा भर्नाका लागि आवेदन दिएर शारीरिक परीक्षणमा पनि सहभागी भएकाहरु पर्ने भएका छन् । तर उनीहरुले शारीरिक परीक्षणमा सहभागी भएको प्रवेश पत्रको प्रतिलिपी पेस गर्नुपर्ने भनिएको छ । जसका लागी नेपाली नागिरकताको प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, सेवा निवृत्त हुँदाको प्रमाण पत्रको प्रतिलिपि (भुपु सरक्षा कर्मीको हकमा मात्र ), रु १० को हुलाक टिकट र ५ प्रति पासवर्ड साइजको फोटो आवश्यक पर्ने छ ।


भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । त्यसका लागि मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नबापत ७ हजार २००, पोसाक र अन्य खर्च गर्ने गरी ६ हजार, यातायात खर्च बापत १ हजार र बिमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था छ । छनोट प्रक्रिया भने १५ चैतदेखि प्रारम्भ हुने, नतिजा २२ चैतसम्म प्रकाशन गरिने र २८ गतेदेखि प्रशिक्षण सुरु गरिने भएको छ ।


सरकारले म्यादी प्रहरीलाई लठ्ठी किन्ने बजेट कटौती गरेको भनेर आलोचना भएको छ । यसअघि म्यादीको पोसाक खर्च छुट्टै र लठ्ठीबापत छुट्टाछुट्टै बजेट विनियोजन हुने गरेकोमा अहिले लठ्ठीको खर्च पोसाककै गाभिएको छ ।


कतिपय जिल्लामा हजारौंको संख्यामा पनि म्यादी प्रहरीको माग छ । तर कास्कीमा भने १४ सयमात्रै भर्ना गरिने भएको छ । यहाँ पहिल्यैदेखि उपलब्ध सेना, प्रहरी र सशस्त्रको संख्यालाई समेत दृष्टिगत गरी १४ सय थप भए पुग्ने निष्कर्षमा सुरक्षा समिति पुगेको हो । कास्कीमा १५० मतदानस्थल हुनेछन् । गृह मन्त्रालयका अनुसार २०७४ सालको निर्वाचनमा देशभर गरी ९९ हजार ९५५ म्यादी प्रहरी भर्ना गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया