तीर्थको गीत वाचन— बोकेर देश काँधमा उठ्ने मानिस छैन कि

समाधान संवाददाता २०७८ चैत ५ गते २२:०७

पोखरा ।
‘म आफूलाई असल गीतकार सम्झन्न,’ तीर्थ श्रेष्ठले भने, ‘कुशल वाचक पनि म होइन ।’ तर उनको गीत वाचनले सुरुदेखि नै स्रोतालाई मन्त्रमुग्ध पा¥यो । गीतकार प्रतिष्ठानले शनिबार पोखरामा तीर्थका गीतको एकल वाचन आयोजना गरको थियो ।

Advertisement


गीत रचना भइसकेपछि आफैं पूर्ण हुन्छ भन्ने मान्यता स्थापित गर्न प्रतिष्ठानले तीर्थलाई एकल वाचनमा उभ्याएको थियो । पहिलो गीत वाचनअघि उनले आफूले लेखेको पहिलो गीतको कथा हाले । ‘पहिलो गीतको पछि सानो कथा छ,’ श्रेष्ठले भने, ‘क्याम्पसकालीन जामानामा एउटा मुक्तक लेखेको थिएँ, मुक्तकमा सपनाको कुरा थियो, गीतकार विक्रम गुरुङ दाइले यसलाई गीत बनाउन मिल्दैन भन्नुभयो, अनि त्यसैलाई गीत बनाएँ ।’ एकल गीत वाचन कार्यक्रमको सुरुआतमा उनले सोही गीत सुनाए ः
‘तिमीमात्रै आफ्नै भयौ यति ठूलो बिरानीमा
सपनीमा तिमी देख्दा हात पुग्यो सिरानीमा’
सपनीमा देखेपछि हात सिरानीमा हात पुगेको गीत सुनाउनुअघि तीर्थले संसारमा कसैले पनि आफूलाई एक्लो ठान्न नहुने विचार राखे । ‘सपनामा भए पनि एक्लो हुँदैनौं,’ उनको भनाइ थियो ।


एकपटक नेपथ्य समूहका अमृत गुरुङ घरमा पाहुना आउँदा उनैले गीत छन् छैनन् भनेर सोधेको प्रसंग उप्काए । आमा शीर्षकको तीर्थको गीत अमृतले गाएका पनि छन् । अनि अरु थुप्रै गीतमा आभासले संगीत भरेको जानकारी तीर्थले दिए । त्यसअघि तीर्थका २ गीत सोम बज्राचार्यले गाइसकेका थिए ।

Advertisement


सिरानीमा हात पुगेको गीत सुनाइसकेपछि तीर्थले हात खप्परमा राख्नुपरेको भन्दै चिन्ता जताए । ‘बडो दुर्भाग्यमा छ देश कि ७० वर्षमा ७ वटा संविधानको रस्वादन गर्ने सौभाग्यशाली जनता भएका छौं हामी,’ उनले भने, ‘आन्दोलन हुन्छ, केही नायकजस्ता मान्छे देखिन्छन्, तिनको नायकत्व पानीमा भिजेर रङ बगेजस्तो निस्तेज, निष्प्रभावी बनेको दृश्य देख्छौं ।’ त्यसपछि उनले असल नायकत्वको खोजीको गीत सुनाए ।


‘संसार सारा छोडेर जुट्ने मानिस छैन कि
बोकेर देश काँधमा उठ्ने मानिस छैन कि
ढुंगा भएकी पौराणिक पात्र अहिल्या रामको चरणले छोइएपछि मान्छे भएर बाँच्न पाएको प्रसंग भन्दै तीर्थले कसैको उपस्थितिले मात्रै पनि आल्हादित बनाउने अनुभूति साटे । डेढ घन्टाका बीचमा तीर्थले डेढ दर्जन हाराहारी गीत वाचन गरे । प्रेम, समाज, राजनीति, मातृत्व प्रकृति र देश उनको गीतका विषय थिए ।


साहित्यकार सरुभक्तले तीर्थका गीतलाई समाजको सापेक्षतामा रचिएका सिर्जनाको संज्ञा दिए । राम्रा गीतले समाज र दर्शन बोक्ने उनको भनाइ थियो । सन् १९१६ मा अमेरिकी स्रष्टा बब डिलनलाई नोबेल साहित्य पुरस्कार दिइएपछि गीतकार÷गायकलाई पनि नोबेल भन्ने प्रसंग उठेको तर त्यसले गीतको उचाइ बढाएको सरुभक्तले बताए ।


गीतकार प्रतिष्ठानका अध्यक्ष हरिहर खनिया र सचिव अनुराग अधिकारीले गीत गाएपछि मात्रै होइन लेखेपछि नै पूर्ण हुन्छ र मुख्य स्रष्टा गीतकार हुन्छ भन्ने मान्यता स्थापित गर्न कार्यक्रम गरिएको जनाए । गण्डकी प्रदेशका मन्त्री बिन्दु थापा र गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’ले तीर्थ श्रेष्ठ सरल र सहज सिर्जनाका स्रष्टा भएको विचार राखे ।

तपाईको प्रतिक्रिया