कास्कीमा म्यादी प्रहरी बन्दै ‘आमा’

सञ्जय रानाभाट २०७८ चैत ८ गते ११:२१

सञ्जय रानाभाट

पोखरा ।

स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेपछि कास्कीमा आवेदन दिनेको लर्काे लागेको छ । आइतबार तनहुँ घर भएकी विष्णु थापाले जिल्ला प्रहरी कार्यालयमा घण्टौंसम्म लाइनमा लागेर आवेदन दिइन् । उनले करिब ४ घण्टा लाइनमा बसेर आवेदन दिएकी हुन् ।

Advertisement


उनी रोजगारी र छोराको पढाइका पोखरा बस्छिन् । ‘म्यादी प्रहरीमा भर्ना खुलेको थाहा पाएँ । त्यसपछि बिहानै छिटो–छिटो खाना पकाएर श्रीमान्, छोरालाई खुवाएर प्रहरी कार्यालय आइपुगेकी हुँ,’ विष्णुले भनिन् ।


विष्णुका श्रीमान् डाइभिङ पेशामा छन् । उनी दिनभर गाडी चलाउँछन् । विष्णु भने दिनभर डेरामै छोरा स्याहार्छिन् । लामो समयको जागिर खोज्ने टन्टो भने केही दिनका लागि हराएको छ । ‘आवेदन दिएर आएको छु । अब केही प्रक्रिया हुन्छ होला, यसका लागि मेरो तयारी भइरहेको छ,’ विष्णुले भनिन् ।

Advertisement


गरिबी, बाध्यता र रहरले रोजगारीको आवसर खोजिरहेका धेरै महिला आइतबार जिल्ला प्रहरी कार्यालय पुगे । विष्णु भन्छिन्, ‘म्यादी भए प्रहरी पनि हुन पाइने र केही समयको घरको गर्जो पनि टार्ने भएकाले आवेदन दिन आएको हुँ ।’ उनले पासपोर्टसमेत बनाएकी छन् । ‘अब नेपालमा केही गर्न सक्दिनँ जस्तो लागेर पासपोर्ट बनाएँ तर, छोरा सानो भएकाले भिसा लगाउन सकेको छैन । देशको अवस्था यस्तै भयो भने आँखा चिम्लनुपर्ने बेला आउँछ,’ उनले निराशा पोखिन् ।


म्यादीमा आवेदन दिएको यो उनको पहिलो अनुभव हो । २५ लागेकी उनको १९ वर्षमाा विहे भएको थियो । अहिले ५ वर्षको छोरा पनि छ । म्यादी बनेबापत कति पैसा आउँछ भन्नेमा उनी बेखबर छिन् । बस, उनलाई रोजगारी चाहिएको छ । ‘घर व्यवहार चले भयो, कति पैसा आउँछ थाहा छैन । साथीहरुले पहिले राम्रो आम्दानी हुने कुरा सुनाएका थिए । ३ महिनामा १ लाख कमाएका थिए रे,’ उनले भनिन्, ‘जति दिए पनि खाली त बस्न पर्दैन ।’


आइतबार आवेदन दिन आउने अधिकांश महिला भर्खर प्लस टु गरेका, वैदेशिक रोजगारीबाट फर्केका र निवृत्त जीवन बिताइरहेकमा थिए । प्रहरी कार्यालयभित्र पसेर आवेदन दिन उनीहरु ठेलामठेल गरिरकेका थिए । ‘जागिर खोज्दै थिएँ । शनिबार बेलुका आवेदन खुल्ने थाहा पाएपछि आवेदन दिन आएको हुँ,’ लाइनमा भेटिएका पोखरा २५ हेम्जाका जीवन अधिकारीले भने, ‘टे किङ गाइड गर्दै आएको थिएँ । म्यादीमा भर्ना खेलेपछि कुदेर आएको हुँ ।’


जीवनसँग २ चोटि म्यादी प्रहरी बनेको अनुभव छ । उनी गएको स्थानीय तह र प्रदेश संघको चुनावमा पनि म्यादी प्रहरी थिए । अधिकारीले आफू शान्ति, सुरक्षाको पक्षमा रहेकाले स्थानीय चुनाव सफल बनाउनका लागि म्यादी प्रहरी बन्न चाहेको सुनाए । ‘नागरिकमा अमनचयन ल्याउने कुरा ठूलो हो । चुनावमा प्रहरीलाई सहयोग गरेर धाँधलीरहित चुनाव गराउन पाएँ । यसैमा खुसी छु,’ जीवनले भने ।


३३ वसन्त पार गरिसकेका उनी यो बीचमा वैदेशिक रोजगारका लागि कतारसमेत पुगे । तर अब विदेश नजाने प्रण गरेको उनी सुनाउँछन् । ‘विदेशमा श्रमको सम्मान भएन । २ वर्ष बसें, काम गरें । जहाँ गए पनि साना मान्छे दलाउने र ठूला मान्छेले कमाउने धन्दा हुने रैछ । मलाई यो विभेद मन परेन । त्यस कारण नेपालमै आएर ट्रेकिङ व्यवसायमा लागेको हुँ,’ जीवनले भने ।


उनी अहिले पनि पदयात्रामै रमाइरहेका छन् । पर्यटकलाई नेपाल घुमाइरहेका छन् । उनी गण्डकीका ११ जिल्लाका पर्यटकीय क्षेत्र पुगिसकेका छन् । विगतमा म्यादी प्रहरी हुँदा गरेको काम आफूलाई सन्तुष्टि मिलेको उनले सुनाए । आम्दानीको हिसाबले पनि अन्य जागिरभन्दा राम्रो हुने भएकाले म्यादीमा आवदेन दिएको उनको भनाइ छ ।


आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ । निर्वाचनका लागि सरकारले कास्कीबाट १ हजार ४ सय ७१ म्यादी प्रहरी मागेको छ । यहि सूचनाका आधारमा आइतबार पहिलो दिनमै सयौंले प्रहरी कार्यालय पुगरे आवेदन दिएका छन् । ‘आइतबारमात्र प्रहरी कार्यालयमा ५ सय ४९ जनाको आवेदन परेको कास्कीका डिएपी सुन्दर तिवारीले बताए । ‘आवेदन दिन आउने १८ वर्षदेखि माथि ४२÷४३ वर्षका छन् । केही भर्खर प्लस टु सकेर बसेका छन् । त्यसमध्ये महिलाको पनि उत्तिकै सहभागिता भएको छ,’ तिवारीले भने ।


म्यादी प्रहरीका लागि १८ वर्षदेखि ५४ वर्षसम्मका नेपालीले निवेदन दिन पाउँछन् । कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाले चैत ११ गतेसम्म आवेदन दिन सकिने जानकारी दिए । म्यादी प्रहरीको छनोट प्रक्रिया चैत १५ बाट सुरू हुनेछ । चैत २८ नतिजा प्रकाशन गरी सोही दिनबाट प्रशिक्षण सुरु हुनेछ ।


म्यादी प्रहरीलाई ७ दिन तालिम दिएर खटाउने तयारी छ । पूर्व नेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकालाई प्राथमिकतामा राखिनेछ । मापदण्डको दोस्रो प्राथमिकतामा पूर्व वनरक्षक र सेना, प्रहरी र सशस्त्र प्रहरी बलमा भर्नाका लागि आवेदन दिएर शारीरिक परीक्षणमा पनि सहभागी भएकाहरु पर्ने छन् । तर उनीहरुले शारीरिक परीक्षणमा सहभागी भएको प्रवेश पत्रको प्रतिलिलि पेस गर्नुपर्छ । आवेदनका लागि नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, सेवा निवृत्त हुँदाको प्रमाण पत्रको प्रतिलिपि (भूपू सुरक्षा कर्मीको हकमा), रु १० को हुलाक टिकट र ५ प्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्छ ।


भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम पाउनेछन् । त्यसबापत मासिक ३० हजार २ सय ४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नबापत ७ हजार २ सय, पोसाक र अन्य खर्च गर्ने गरी ६ हजार, यातायात खर्च बापत १ हजार र बिमा सुविधासमेत पाउँछन् ।


सरकारले म्यादी प्रहरीलाई लठ्ठी किन्ने बजेट कटौती गरेको भनी आलोचना भएको छ । यसअघि म्यादीको पोसाक खर्च र लठ्ठीबापत छुट्टाछुट्टै बजेट विनियोजन हुने गरेकोमा अहिले लठ्ठीको खर्च पोसाककै गाभिएको छ । कतिपय जिल्लामा हजारौं म्यादी प्रहरीको माग छ ।


पहिल्यैदेखि उपलब्ध सेना, प्रहरी र सशस्त्रको संख्यालाई समेत दृष्टिगत गरी १ सय ४ सय ७१ जना भए पुग्ने निष्कर्षमा कास्कीको जिल्ला सुरक्षा समिति पुगेको हो । कास्कीमा १ सय ५० मतदानस्थल हुनेछन् । गृह मन्त्रालयका अनुसार २०७४ सालको निर्वाचनमा देशभर ९९ हजार ९ सय ५५ म्यादी प्रहरी भर्ना गरिएको थियो ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया