भोट चाहिए खानेपानी देऊ

माझठाना (कास्की) ।
पोखरा २८ माझठानाको डाँडागाउँमा खानेपानीको अति अभाव छ । गण्डकी प्रदेश सरकारले एक घर एक धाराको अवधारणा ल्यायो । तर, प्रदेश सरकारको यो योजनाले डाँडागाउँलाई छुन सकेन । अझैं पनि खानेपानीका लागि घन्टौं हिँड्नुपर्छ डाँडागाउँका बासिन्दा ।
‘खानेपानीका लागि महानगर प्रदेश जताततै गुहार्यौं । तर, खानेपानी आएन,’ स्थानीय जूना सुनारले सुनाइन् । उनी मिलनशील आमा समूहमा पनि आबद्ध छिन् । शनिबार, जुनाले नागरिकसँग संवाद गर्न जुटेका कांग्रेस नेताहरुलाई सुनाइन् । ‘भोटका लागि झूठा आश्वासन नदिइयोस्,’ उनले भनिन् ।
जनतासँग संवाद गर्न जुटेका थिए गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री, पूर्वमन्त्री तथा कांग्रेसी नेता यज्ञबहादुर थापा लगायत कास्की क्षेत्र नम्बर १ का नेताहरु ।
डाँडागाउँबासी रामचन्द्र सुनारको पनि बाँकी समस्या थाती राख्ने हो भने पहिले खड्केको समस्या पानीकै हो । ‘खाल्टे खानेपानीलाई व्यवस्थित बनाइयोस् । यसका लागि पात्लेमा भएको ट्यांकीबाट डाँडागाउँ मोटरबाटो माथि पानी नजाने भएकाले लिफ्टिङ गरेर खानेपानीको व्यवस्था मिलाइयोस्,’ उनले भने ।
टीकाराम लामिछानेको परिवार पनि खानेपानीको समस्याले आजित छ । ‘यहाँको खानेपानीको लागि केन्द्रबाटै बजेट पार्नुपर्छ । यहाँको खानेपानीको समस्या समाधान गरियोस्,’ उनले भने ।
मंगलबहादुर नेपाली नेकपा माओवादी केन्द्र नगर सदस्य हुन् । उनीकहाँ पनि डाँडागाउँका अन्य गाउँलेका जस्तै समस्या छ । त्यो हो खानेपानीको । कांग्रेसको नागरिक अन्तर संवादमा जुटेका नेपालीले डाँडागाउँलेका लागि मुख्य समस्या खानेपानीको रहेको बताए ।
‘यहाँका १ सय ८० घरधुरीलाई खानेपानीको एकदमै समस्या छ । सम्बन्धित निकायले ध्यानै दिएका छैनन्,’ उनले भने । खानेपानीका लागि प्रदेश सरकारसँग माग गरे पनि अहिलेसम्म सुनुवाइ भएको छैन । खानेपानीका लागि जिआई पाइप ल्याएर समान वितरण हुनुपर्ने उनले सुनाए । छलफलमा सहभागी डाँडागाउँबासीले धेरै त खानेपानीकै सुनाए । बाँकी समस्या थिए । बेरोजगारी र पूर्वाधार विकासका ।
छलफलमा सामेल अमर थापाले जनताको समस्या सुन्न आएका कांग्रेसी नेताहरुलाई व्यक्तिको विकासमा पनि जोड दिन सुझाव दिए । उनले व्यक्तिको क्षमता पहिचान गरी त्यसलाई अर्थोपार्जनमा जोड्नुपर्ने मत राखे । ‘चुनावको मुखमा मात्रै होइन । तपाईंहरुले जनताको पीर, मर्का सधै बुझ्नुपर्छ,’ उनले भने । थापाले जनताको दैनिकीसँग प्रत्यक्ष सरोकार राख्ने पूर्वाधार निर्माण गर्नुपर्ने माग राखे । विज्ञको सुझावमा मात्रै उनले यस्ता काम गर्नुपर्ने मत राखे ।
जनताका समस्या सुनिरहेका नेता यज्ञबहादुर थापाले जनताका सारा समस्या नजिकबाट बुझेको बताए । कांग्रेसले आफूले पूरा गर्न सक्ने बाचामात्र गर्ने उनको भनाइ थियो । ‘कांग्रेसले पूरा गर्न सक्ने बाँचा मात्रै गर्छ । त्योभन्दा बढी गर्दैन,’ उनले भने ।
डाँडागाउँको विकासका लागि कांग्रेसले धेरै विकास निर्माणका कामको सुरुआत गरे पनि जस भने एमालेले लिएको भन्दै उनले दुखेसो गरे । ‘कांग्रेसले धेरै काम गरेको छ । यहाँको सडक, पुल निर्माणको सुरुआत कांग्रेसले गरेको हो । हामीले प्रचार गरेनौं, अब प्रचार गर्नुपर्छ,’ उनले भने ।
जनताको समस्या सुन्न र सम्बन्धित निकायसामु पुर्याउन आफूहरु घरदैलोमा आइपुगेको उनले सुनाए । जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा फरक दल र विचार भएकै कारण मतभेद हुन नहुने उनको भनाइ थियो । अर्को दलका नेताहरुलाई पनि जनताको समस्या सुन्नका लागि आफूहरुसँगै आए पनि फरक नपर्ने उनले बताए ।
प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले कांग्रेसले मात्रै सबै जाति, वर्गलाई समेट्ने बताए । कांग्रेस नागरिकसँग हातमा हात र काँधमा काँध मिलाएर अघि बढ्ने उनले सुनाए । ‘यो कुरा बोलीमा मात्रै होइन । कसैले बोलीमा मात्र बोल्छ,’ उनले अघि सुनाए, ‘नेपाली कांग्रेसले जे बोल्छ । त्यो पूरा गरेर पनि छाड्छ ।’
डाँडागाउँबासीसँग छफलफलमा जुट्नुको ध्येय जनताको समस्या कांग्रेसको पनि समस्या भएकाले त्यसलाई सम्बोधन गर्न आफूहरु जुटेको उनले बताए । ‘नेपाली कांग्रेसले लुकेर होइन, छिपेर होइन । सँगसँगै बसेर खान्छ, काम गर्छ र तपाईंहरुको समस्यासँग सँगै हुन्छ,’ उनले भने, ‘तपाईंहरुको समस्या कांग्रेसको पनि समस्या हो ।’
कांग्रेसले समस्या सुन्नेमात्र नभई समाधानतर्फ पनि जुट्ने उनले सुनाए । उनले डाँडागाउँबासीलाई आफ्नो मनमा लागेका समस्या निर्धक्क बताउन समेत अनुरोध गरे । उनले जनताका सारा समस्या सुनेर सम्बन्धित निकायसम्म पुर्याउने बाँचा समेत गरे ।
नेपाली कांग्रेस कास्की १ का अध्यक्ष राजेन्द्रमणि लामिछानेले ठूलाबडाका हातबाट जग्गा खोसेर कांग्रेसले जनतालाई दिएको बताए । उनले पछाडि परेका समुदायलाई माथि ल्याउन बिपीले महत्वपूर्ण भूमिका खेलेको बताए ।
उनले कांग्रेसले नागरिकहरुलाई शिक्षा दिनेदेखि अघि बढाउनका लागि ठूलो भूमिका खेलेको बताए । कार्यक्रममा डाँडागाउँबासीको उल्लेख्य उपस्थिति थियो । उपस्थित सबैले आआफ्ना समस्या सुनाएका थिए । साविक माझठाना गाविसका वडा नम्बर १ र ८ का बासिन्दा कार्यक्रममा भेला भएका थिए ।
खानेपानीको समस्याले आजित डाँडागाउँबासीले आफ्ना समस्याको पोको फुकाए । नेपाली कांग्रेस गण्डकी प्रदेश प्रतिनिधि श्रीकृष्ण लामिछानेले कुनै राजनीतिक दल विशेषका कार्यकर्ता भन्दा पनि सर्वसाधारण जनताको भेला आयोजना गरी नेता र जनताबिच सोझो संवाद गरिएको जनाए । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का सचिव सरोज केसीले जनताका दैनिक समस्या सम्बोधन गर्ने नीति अनुसार गाउँमै पुगेर जनताका कुरा सुनिएको जानकारी दिए ।
……….
नेपाली कांग्रेस कास्की १ ले पोखरा २८ माझठानाको डाँडागाउँमा राखेको नागरिक संवादका सहभागी । तस्बिर : समाधान








बागलुङ–२ मा कांग्रेसको ‘जम्बो’ सिफारिस : एक थान टिकटका लागि १० जनाको हानथाप !
संघीयता कार्यान्वयनमा देखिएका जटिलता फुकाउन गण्डकीको माग
सञ्चार तथा सूचना प्रविधि मन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, सरकारको सहयोगको प्रतिबद्धता
एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया