मुस्ताङमा तोकियो निर्वाचन अधिकृत

समाधान संवाददाता २०७८ चैत १५ गते ११:५२
फाईल फोटो

जोमसोम
आसन्न स्थानीय तह निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा निर्वाचन अधिकृत तोकिएको छ । निर्वाचन आयोगले सोमबार ७७ वटै जिल्लामा खटाईने निर्वाचन अधिकृतहरुको नामावली सार्वजनिक गर्ने क्रममा मुस्ताङका ५ वटै तहमा खटाईने निर्वाचन अधिकृतहरुको कार्यभार तय भएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका सूचना अधिकारी समिर थापाले जानकारी दिए ।

Advertisement

कार्यालयका सूचना अधिकारी थापाका अनुसार जिल्लाको मुख्य निर्वाचन अधिकृतको रुपमा मुस्ताङ जिल्ला अदालतका माननीय न्यायधिस रोमाकान्त ज्ञवालीलाई जिम्मेवारी दिईएको छ ।आयोगले मुख्य निर्वाचन अधिकृत ज्ञवालीलाई मुस्ताङको घरपझोङ गाउँपालिकाको निर्वाचन अधिकृत जिम्मेवारीसहित मुख्य निर्वाचन अधिकृतको अख्तियारी दिएको कार्यालयका सूचना अधिकारी थापाले उल्लेख गरे ।

यसैगरी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले मुस्ताङको थासाङ गाउँपालिकामा जिल्ला अदालत मुस्ताङका श्रेस्तेदार मुकुन्द आचार्य ,वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सर्वोच्च अदालतका उपरजिस्टार सारदादेवी पौडेल,लोघेकर दामोदरकुण्ड गाउँपालिकामा गण्डकी परिषद मन्त्रीपरिषद कार्यालयका उपसचिव नेपालहरी रानाभाट ,लोमान्थाङ गाउँपालिकामा सर्वोच्च अदालतका ईजलास अधिकृत घनश्याम सुवेदीलाई निर्वाचन अधिकृतको कार्यभार दिएको कार्यालयका सूचना अधिकारी थापाले जानकारी दिए ।

निर्वाचन आयोगले ७७ वटै जिल्लाका मतदाताहरुको अन्तिम नामावली सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावली विवरण अनुसार मुस्ताङमा १० हजार ४ सय ८५ मतदाताले स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउँने छन् ।मुस्ताङमा कुल मतदाता सख्या मध्ये ५ हजार १ सय २८ पुरुष र ५ हजार ३ सय ५६ जना मतदाता छन् ।मुस्ताङका ५ स्थानीय तहमा गरी कुल ३८ वटा मतदान केन्द्र कायम गरिएको छ ।

संघीयतापछिको पहिलो स्थानीय तह निर्वाचनमा मुस्ताङमा ३७ मतदान केन्द्र रहेकोमा मुस्ताङको थासाङ गाउँपालिकामा एक मतदान केन्द्र थप भएको हो। स्थानीय तह निर्वाचन २०७४ मा मुस्ताङमा कुल ९ हजार ४ सय २७ जना मतदाताले मतदानमा भाग लिएका थिए ।यसपटक १ हजार ८५ जना नयाँ मतदाता थपिएका हुन् ।

Advertisement

स्थानीय तह निर्वाचनका लागि मुस्ताङमा २ सय ३२ जना म्यादी प्रहरी खटाईने भएको छ भने उनीहरुसंगै कति संख्यामा प्रहरी परिचालन गर्ने भन्ने बिषयमा आन्तरिक गृहकार्य भईरहेको मुस्ताङका प्रहरी नायव उपरिक्षक रामकुमार दानीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया