व्यक्ति एक, परिचय अनेक

समाधान संवाददाता २०७८ चैत १५ गते १९:१६

आरजू विष्ट सल्यानी

Advertisement


मान्छे एउटै हुन्छ । तर, गुण, कर्म र निरन्तर लगावका कारण उसका रुपहरु अनेक हुन्छन् । भनौँ, अनेक गुण, रुप र परिचयका कारण समाजमा उसको पहिचान पनि बहुआयामिक भएको हुन्छ ।


कति मानिस सबथोक देखाउँछन् र कतिले देखाउँदैनन्, त्यो उनीहरुको स्वभाव हो ।सामाजिक काम वा सेवामूलक संघ, संस्थाहरुमा रहेर लगातार ४ दर्शक अनेक परिचयकासाथ रहिरहनु र अझसमाजकै उज्ज्वल भविष्यका लागि सहजीकरणमा लाग्नु र वकालत गरिरहने अठोट गर्नु गर्वको कुरा हो ।

Advertisement


पोखरामा बितेका ३ दशकदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्छ भनेर लबिङ गरेका, साहित्य, कला र सांस्कृतिक समृद्धिका लागि पाइला चालेका, पर्यटन प्रवद्र्धन, संचार, उद्योग वाणिज्य संघलगायत थुप्रै संस्थाहरुमा आवद्धता जनाएका, पोखरालाई पोखरा जस्तो बनाउनु पर्छ भन्नेर यसलाई सकेसम्म सिंगार्ने अभियानमा लागेका एक अभियन्ता विश्वशंकर पालिखेबारे केही खोतल्न मन लाग्यो ।


कला, साहित्य र संस्कृतिको जगेर्ना–उनलाई जान्नका लागि विगतका दिनहरुको खोजी गर्न आवश्यक छ । ३० को दशक सुरु भएपछि उनी साहित्य, कला र संस्कृतिको क्षेत्रमा केही गर्नुपर्छ भन्ने निर्णयमा पुगे । त्यो बेलामा जवानहरु हालका साहित्यकार सरुभक्त, स्व.सरोजगोपाल, स्व. विनोद गौचन, विक्रम गुरुङ, गायक अरुण थापा,विश्वशंकरलगायत कस्सिए । उनीहरुले एउटै मत बन्यो, पोखरामा एउटा संस्था बनाउन जरुरी छ । पालिखेकै बोलीलाई सापटी लिँदा उनी कलाकार, गलाकार, साहित्यकार केही पनि होइनन् । तर, कला, साहित्यको जगेर्नाका लागि झण्डै ४५ वर्ष अगाडि पोखरेली युवा सांस्कृतिक परिवारको संस्थापक कोषाध्यक्ष भएर योगदान दिए । उक्त संस्था अहिले पनि निरन्तर सञ्चालनमा छ । संस्थाले गर्ने साहित्य, संगीत, संस्कृति र कलाका कार्यहरुको परिचर्चा राष्ट्र–अन्तर्राष्ट्रमा हुने गरेको छ ।


यस्तै पोखराको पुरानो गुठीमध्ये एक श्रीगणेश सेवा गुठीका २०५२ साल ताका उपाध्यक्ष भएर सेवाका लागि तत्पर भए । नेवा सांस्कृतिक महोत्सव २०५८ का त संयोजक नै भएर काम गरे ।


समाज सेवामा योगदान–समाज सेवामा योगदान गर्नका लागि रेडियो अन्नपूर्णको संस्थापक अध्यक्ष रहेर काम गर्दा निकटदेखि विकटसम्म सहयोगी मनहरुको सहयोग लिएर गरिएको सहयोगका कामहरु र क्षणलाई सायद कसैले कहिल्यै भुल्ने छैनन्।


२०५८ साल साउनमा म्याग्दीको बरन्जामा खसेको पहिरो पीडित १३५ घरपरिवारलाई घटनास्थलमै पुगेर राहत वितरण, २०५९ सालमा कास्कीको कालिका र सिद्धमा, २०६० मा गोर्खा र २०६१ मा गोर्खा, लमजुङ, नवलपरासी र तनहुँ जिल्लाका बाढी पीडितलाई राहत वितरण गरेका, २०६४ साल साउनमा रौतहट, बारा, कास्कीको हेम्जा र कास्कीको राहत वितरण गरेका, २०६५ भाद्रमा कोसी डुवान पीडितका लागि रेडियोवाट करिब २१ लाख रुपैयाँ संकलन गरी सोही ठाउँमा पुगेर राहत बाँडेका र ९ महिनासम्म कोसीमा प्याव्सनको सहकार्यमा टहरा बनाएर पढाइ सञ्चालनमासहयोग गरेको प्रसंग उदाहरणीय छन् ।


ज्यानमारा सेतीखोंचमा सरकार र प्रशासनले उदासिनता देखाई व्यवस्थापन नगरेपछि, तारजालीका लागि नागरिक अभियान सुरु गरेका थिए । त्यसपछि गृह मन्त्रालय दैवी प्रकोप उद्धार कोषबाट रकम निकासा गर्न दबाब पु¥याई जोखिमपूर्ण क्षेत्रमा तारजाली लगाउने कार्य सम्पन्न गरिएको सम्झना ताजै रहेको बताउँछन् ।


२०६९ वैशाख २५ गते कास्कीको उत्तरी क्षेत्र, खारापानीमा आएकोे भीषण वाढीले घरवारविहीन र आफन्त गुमाएका पीडितका लागि सेतीबाढी अन्नपूर्ण राहत कोषमा संकलन गरिएको ६५ लाख ५ हजार रकम बाढी पीडितलाई राहतस्वरुप दिन सफल भएका थिए । जिल्ला प्रशासन कास्कीको समन्वयमा करुवामा ९ घरपरिवारका लागि ९ वटा घर निर्माण गरेर सोलार बत्ती जडानसहित हस्तान्तरण गरिएको थियो । स्वरोजगारका लागि प्रतिपीडित परिवार २÷२ गोटाको दरले बाख्रा र कुखुरा हस्तान्तरण गरिएको थियो । खारपानीमा बाढी गएको क्षेत्र संरक्षण गर्न तारजाली लगाई मृतकहरुको स्मृतिमा स्तम्भ निर्माण गरिएको थियो ।


जीवन बचाउने अभियान रक्तदान–संसारमा मानिसको जीवन बचाउन अत्यावश्यक रगत नै हो । रगतको सट्टामा जोखिममा परेको कसैको ज्यानलाई जोगाउन रगत नै विकल्पमा अर्को कुनै पदार्थ छैन र वैज्ञानिकहरुले पनि पत्ता लगाउन नसकिरहेको यही एउटा मुख्य विषय हो ।


उनले सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै २०५८ साल माघ महिनादेखि रेडियोबाट हरेक वर्ष र आइपरेको बेलामा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्ने उद्घोष गरे र निरन्तरता दिइरहेका छन् । हालसम्म उनको पहलमा रेडियोले २२ औं पटकसम्म रक्तदान आयोजना गरेर यसक्षेत्रमा पहिलो स्थानमा रहन सफल भएको छ । २०५८ सालदेखि अहिलेसम्म ७ हजार १८० युनिट रगत संकल गरेर मानवको स्वास्थ्य संवेदनशीलतासँग जोडिन पाउनु उनले मानवसेवा बाहेक अर्को ठूलो कर्म नभएको बताउँछन् ।


पहिलेबाट चलनचल्तीमा रहेका खेलको प्रवद्र्धनका साथै नयाँ खेलको खोजी र त्यसको प्रवद्र्धनमा लागेका पालिखेलाई नेपालमा पहिलोपटक ट्रायथोलन खेलको सुरुआत गराउने व्यक्तिका रुपमा लिइन्छ । साहसिक खेल ट्रायथोलन २०५०÷२०५१ मा सुरुआत गरी नेपाल ट्रायथोलन संघको स्थापना गरेर त्यसको अध्यक्षको हैसियतले नेपाललाई अन्तर्राष्ट्रिय खेल जगतमा चिनाउन सफल भएको श्रेय उनैलाई जान्छ ।

विकासका अभियन्ता–पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि २०४६ सालदेखि क्षेत्रीय होटल संघ पोखराको अध्यक्षको हैसियतले अभियन्ताको रुपमा हालसम्म अनवरत कार्य गर्दै आएका व्यक्ति हुन् । जो आज सफलताको अन्तिम घडीसम्म आउन सफल भएको अवश्था छ ।


पोखरा उद्योग वाणिज्य संघको अध्यक्ष हुँदाको कार्यकालमा पोखरेलीहरुले पिउने पानीको मुहान मर्दी खोलाका ६ स्थानमा शवदहन स्थल निर्माण, सार्वजनिक शौचालय र विश्रामस्थल निर्माण गरेको उनैको नेतृत्वमा हो ।


उज्यालो पोखरा–पोखरा पर्यटकीय सहर हो । यसलाई उज्यालो बनाइरहन उज्यालो पोखराको अभियानमा लागेर करिब ३० करोडको २ हजार थान सोलार बत्ती जडान गर्नु अतुलनीय योगदान हो । पोखरा र चीनका विभिन्न सहरहरुसँग भगिनी सम्बन्ध राख्न सेतुको रुपमा कार्य गरे । कास्कीको पुम्दीभुम्दीमा रहेको शुक्रराज माविमा छात्रावास बनाउन रुपैयाँ २ करोड ५० लाख र कोभिड १९ को समयमा करिब ५ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री, भेन्टिलेटर ल्याउन सफल भूमिका निर्वाह गरे । पोखराको विकास क्रमसँगै भैपरि आउने विपत्तिको सामना गर्नका लागि पोखरालाई अति आवश्यक २ वटा दमकल गाडी उनको पहलमा ल्याइएको थियो ।


पर्यटन प्रवद्र्धन–पोखराको पर्यटन सशस्त्र द्वन्द्वका कारण धरासायी भएको बेला २०५९ सालदेखि आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ‘जाऊँ है पोखरा’ नाम दिएर पर्यटन प्रवद्र्धन कार्यक्रमको संयोजकको हैसियतले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पोखरालाई आन्तरिक पर्यटनको गन्तव्य बनाउन सफल भए । संस्थागत रुपमा नेपालको पर्यटन इतिहासमा नै आन्तरिक पर्यटन प्रवद्र्धनको सूत्रधार ‘जाउँ है पोखरा’ को संयोजकको हैसियतबाट कार्य गर्ने सुनौलो मौकासमेत प्राप्त गर्न सफल भए ।


२०६४ सालमा पोखरा र यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न आयोजित एक वर्षीय पोखरा भ्रमण वर्ष सन् २००७ मा सहसंयोजकको भूमिकामा रही कार्य गरेको अनुभव पनि उनीसँग छ ।


राजनीतिक यात्रा–पालिखेको राजनीतिक यात्रालाई हेर्दा उनलाई पहिले एक राजनीतिक चेतना, परिवर्तनका पक्षधर र लोकतान्त्रिक अगुवा दयाशंकर पालिखे (प्रजातन्त्र सेनानी) र उत्तरकुमारी पालिखे (प्रजातन्त्र सेनानी) का साहिँला छोरा हुन्भन्दा बढी न्याय हुन्छ । र, उनी सहिद गणेशमान पालिखेका साहिँला भाइ हुन् ।


पालिखेलाई मसिनोगरी चियाउँदा उनले २०२९ सालमा पृथ्वीनारायण क्याम्पस पोखराबाट नेपाल विद्यार्थी संघको सदस्यता लिएर राजनीतिक यात्राको थालनी गरेका थिए । जनमत संग्रह २०३६ सालमा कास्कीमा सक्रिय भएका, २०४६ सालको जनआन्दोलनमा नेपाली कांग्रेसको तर्फबाट कास्कीमा सक्रिय भूमिका निर्वाह गरेका, २०४८ सालको संसदीय निर्वाचनमा क्षेत्र नं २ मा उम्मेदवार शुक्रराज शर्माको प्रचार समितिको युवा परिचालन समितिको संयोजक भएर कुशलतापूर्वक जिम्मेवारी पूरा गरेका थिए ।


२०४९ सालको स्थानीय निर्वाचनमा युवा परिचालन समितिको संयोजकको भूमिका निभाउदै मेयर भोला थापा र उपमेयर नरेशशंकर पालिखेलाई जिताउन सफल भूमिका निर्वाह गरेका थिए । २०५१ सालको उपनिर्वाचनमा क्षेत्र नं २ मा उम्मेदवार बनेका शुक्रराज शर्मा शर्माको प्रचार समितिमा युवा परिचालन समितिको संयोजक भएर कार्य सम्पादन गरेका थिए । २०५४ सालको स्थानीय निर्वाचनमा पोखरा उपमहानगरपालिका मेयर नरेशशंकर पालिखे र उपमेयर कुलप्रसाद गुरुङको चुनाव प्रचार समितिको सदस्य भएर काम गरेका थिए ।


२०५६ सालको संसदीय चुनावमा नेपाली कांग्रेसका उम्मेदवार महादेव गुरुङको प्रचार अभियानको संयोजकमा रहेर चुनावमा सफलता प्राप्त गर्न अतुलनीय भूमिका निर्वाह गरेका थिए । २०५७÷२०६० सालमा तत्कालीन प्रधानमन्त्री स्व.गिरीजाप्रसाद कोइरालाको नेतृत्वको सरकारबाट नेपाल पर्यटन बोर्डमा कार्यकारी बोर्ड सदस्यमा नियुक्त भएर पर्यटन विकास र प्रवद्र्धनका कार्यहरुमा टेवा पु¥याएको पाइन्छ ।


२०६४ सालको संविधान सभा चुनावमा कास्की जिल्लामा बृन्दा रानाको चुनावी प्रचारमा खटिएर काम गरेका, २०७० सालको संविधान सभाको दोस्रो चुनावमा क्षेत्र नं ३ मा उम्मेदवारसोभियतबहादुर अधिकारीको चुनाव प्रचार समितिको सदस्य भएर सघाउ पु¥याएका, २०७७ सालको उपनिर्वाचनमा उम्मेदवार खेमराज पौडेलको चुनाव प्रचार समितिमा रहेर काम गरेका, नेपाली कांग्रेस उद्योग तथा व्यापार समितिको केन्द्रीय सदस्यमा २०७७ मा नियुक्त भई कांग्रेसका हरेक गतिविधिमा सक्रिय भईलागिरहेको पाइन्छ ।

राजनीतिक सक्रियता, विकास अभियन्ता तथा सामाजिक व्यक्तित्व उनको परिचय हो । विश्वशंकर सक्रियताको अर्को नाम हो भने,समृद्ध पोखराको लागि अविछिन्न यात्रारत राजनीतिभन्दा माथि उठेको अविचलित सामाजिक व्यक्तित्व हो ।‘मान्छेसँग फरक राजनीतिक आस्थासँग जोडिने स्वतन्त्रता हुन्छ तर त्यो आस्था समाजको श्रीवृद्धिको लागि परिलक्षित हुनुपर्छ’,उनी भन्छन्,‘ म अमूक ‘वाद’को घोडा चढेर आफू बन्नेभन्दा समाजलाई रुपान्तरण गर्नुपर्छ,समुन्नत पोखरा बनाउनुपर्छ भन्ने मान्यता राख्छु । विकासमा राजनीति हुनुहुँदैन भन्ने मेरो अर्को स्पष्ट मान्यता हो ।’ बिपी कोइरालाको समाजवादी चिन्तनका अनुयायी पालिखे सही दृष्टिकोणसहितको नेतृत्वबाट समृद्ध पोखरा सम्भव भएको बताउँछन् । नेपालमा भएका ठूला राजनीतिक परिवर्तन सहकार्यबाट सम्भव भएको उदाहरण दिँदै उनी भन्छन्, ‘विकास अभियानमा साझा दृष्टिकोण निर्माण हुन सके साह्रै राम्रो हुन्छ । हैन भने पनि,सही दृष्टिकोण र साझा एजेन्डा बोक्नसक्ने सामाजिक व्यक्ति नेतृत्वमा पुग्नुपर्छ भन्ने मेरो मान्यता छ ।’ स्थानीय चुनाव नजिकिँदो छ ।

लामो राजनीतिक र सामाजिक यात्राको दौरान प्राप्त अनुभवलाई पोखराको समृद्धिमा लगाउने उनको पनि चाहना छ । उनी चाहना लुकाउँदैनन् र भन्छन्,‘मसँग राजनीतिक रुपले बीपीको समाजवादप्रति असीम आस्था र समर्पण छ भने मनमा पोखराका लागि केही गरौँ भन्ने हुटहुटी त्यत्तिकै छ । कम्तीमा आउँदो पुस्तालाई समृृद्ध, स्वच्छ र मानवीय संशाधनको पूर्ण विकाससहितको पोखरा हस्तान्तरण गरौं भन्ने मेरो लालसा हो ।’

तपाईको प्रतिक्रिया