मणिपाल प्रशासनमा तालाबन्दी ‘किरिया बिदासमेत पाएनौं’

सञ्जय रानाभाट २०७८ चैत १६ गते १४:१०

सञ्जय रानाभाट

पोखरा ।
मणिपाल शिक्षण अस्पतालको प्रशासनमा करिब ३ महिनादेखि ताला लागेको छ । कर्मचारीले अस्पतालबाट पाउने सेवा, सुविधा कटौती भएपछि अस्पतालका कर्मचारीको युनियनले २० पुसमा प्रशासन भवनमा तालाबन्दी गरेको हाे ।


कर्मचारी पाउँदै आएको सुत्केरी बिदा, चार्डपर्व र किरिया बिदासमेत अस्पतालले नदिएको भन्दै आन्दोलनमा उत्रिएका छन् । २०५९ मा नेपालमा पहिलो पटक निजी क्षेत्रबाट खुलेकोे अस्पतालले पोखरामा मेडिकल सेवासँगै ठूलो संख्यामा रोजगारी सिर्जना गरेको छ । यहाँ सयौं नेपालीले रोजगारी पाएका छन् । रोजगारी पाए पनि अस्पताल प्रशासनले सेवा, सुविधा कटौति गरेको युनियनको आरोप छ ।

Advertisement


अस्पताल प्रशासनले २०७४ सालमा कर्मचारी युनियनसँग गरेको सम्झौता अनुसार सेवा, सुविधा नदिएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको मणिपाल कर्मचारी युनियन समन्वय समिति अध्यक्ष जीवनबहादुर थापाले बताए । ‘ठूलो संख्यामा कर्मचारी कटौती भएको छ । कामको लोड त छँदै छ, त्यसमाथि काम गरे अनुसारको तलब रोक्ने, सेवा, सुविधा कटौती गर्ने गरी दुःख दिइयो,’ थापाले भने ।


उनले अस्पतालले दसैं, तिहारमा सेवामा खटाएका कर्मचारीको पारिश्रमिकसमेत नदिएको सुनाए । सबैले घरमा चार्डपर्व मनाउँदा अस्पताल आएर सेवा दिने कर्मचारीको अतिरिक्त पारिश्रमिकसमेत काटिएको उनले आरोप लगाए ।

Advertisement


युनियनले श्रम तथा रोजगार कार्यालय पोखरामा समेत निवेदन दिएको थियो । तर, श्रम तथा रोजगार कार्यालय पोखराले दिएको निर्देशनसमेत मणिपालले कार्यान्वयन गरेन । ‘अर्को दसैं आउन लाग्यो, पहिलेकै पारिश्रमिक पाएका छैनौं, कर्मचारीको मनोविज्ञान कस्तो हुन्छ ? प्रशासनले जे गरे पनि हुन्छ?,’ थापाले आक्रोश पोखे । उनले अहिलेसम्म कुनै सरकारी निकायले कर्मचारीको अवस्था र पारिश्रमिकका बारेमा नबुझेको दुृखेसो गरे ।


‘सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम तलब दिएर कर्मचारी खटाइएको छ । न्यूनतम सुविधासमेत कर्मचारीलाई नदिने अटेरी प्रशासनका बारेमा विभिन्न निकायमा निवेदन उजुरी दिँदासमेत सुनुवाई नभएपछि तालाबन्दी गरिएको हो,’ थापाले भने, ‘प्रशिक्षार्थी स्टाफ नर्स राखी वर्षौै काम गरेकालाई निरुत्साहित गरिएको छ ।’


मेडिकल अस्पतालले प्रशिक्षार्थी स्टाफ नर्सलाई बढीमा ६ महिनामात्र बिरामीको उपचारमा लगाउन पाउँछन् । तर, प्रशिक्षार्थीलाई वर्षौसम्म उपचारमा खटाइएको कर्मचारी युनियनको आरोप छ । कर्मचारीले पाउनुपर्ने सञ्चित बिदा पनि नपाएको उनी बताउँछन् ।


कर्मचारीले गत जेठमा पनि सेवा, सुविधा नपाएको भन्दै आन्दोलन गरेका थिए । त्यति बेला पनि कर्मचारीको माग तलबभत्ता वृद्धि नै थियो । अस्पतालले १८ महिनादेखि आफ्ना माग सम्बोधन गर्नु त परको कुरा वार्तासमेत नगरेको उनीहरुको भनाइ छ । अस्पतालले २०७७ कात्र्तिक ५ मा बनेको सामूहिक सौदाबाजीको मागपत्रमा पनि हालसम्म छलफल गर्न नमानेको कर्मचारी युनियनको दाबी छ ।


‘बिमा पाएनौं, तलब काटियो’
अस्पतालले कर्मचारीको कोरोना बिमा गरिदिएको थियो । बिमा गरिदिए पनि कोभिड भएपछि कर्मचारीले पाउनुपर्ने रकम अस्पतालले राखेको आरोप कर्मचारीले लगाएका छन् । ‘अस्पतालमा काम गर्दागर्दै कर्मचारीलाई कोरोना भयो । तर, उपचार हुँदा अस्पतालमा भएको खर्चसमेत अहिले तलबबाट काटिएको छ,’ कर्मचारीको एकै स्वर छ ।


मणिपालले बाहिरका अरु अस्पतालले भन्दा धेरै सेवा, सुविधा दिएको दाबी गर्ने गरेको छ । तर, अस्पतालले ३० वर्षदेखि काम गरिरहेका कर्मचारीलाई देखाएर यस्तो दाबी गरेको कर्मचारीहरु बताउँछन् । ‘यसले नयाँ आउनेहरु मर्कामा परेका छन् । पाउनुपर्ने पारिश्रमिक र बिदामा कटौती गरिएको छ,’ अस्पतालका एक कर्मचारीले भने ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया