स्थानीय चुनावमा कास्कीमा २,८१,८३३ मतदाता

सञ्जय रानाभाट २०७८ चैत १६ गते १४:२२

सञ्जय रानाभाट
पोखरा ।
आगामी वैशाख ३० गते हुने स्थानीय चुनावमा कास्कीमा २ लाख ८१ हजार ८ सय ३३ मतदाता पुगेका छन् । दाबी विरोधअघि २ लाख ८१ हजार ९ सय ४० मतदाता थिए । आइतबार निर्वाचन आयोगले अन्तिम नामावली सार्वजनिक गर्दा कास्कीमा मतदाताको संख्यामा घटेको हो ।


जिल्लामा दर्ता भएर थप हुन आउने, दाबी विरोधको समयमा मृत्यु भएका तथा दोहोरो नाम हटाउँदा १ सय ७ मतदाता कम भएको प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्र न्यौपानेले बताए । यो स्थानीय चुनावका लागि परिस्कृत तथ्यांक हो ।


अहिले २०७४ को स्थानीय निर्वाचनमा भन्दा ५७ हजार २१ मतदाता थपिएका छन् । त्यति बेला कास्कीमा २ लाख २४ हजार ८ सय १२ मतदाता थिए । त्यो बेला स्थानीय निर्वाचन ३ चरणमा भएको थियो । कास्कीका पालिकामा वैशाख ३१ गते निर्वाचन भएको थियो ।

Advertisement


गण्डकी प्रदेशमा महानगरपालिका १, नगरपालिका २६ र गाउँपालिका ५८ गरी ८५ स्थानीय तह छन् । यी पालिकामा वडाको संख्या ७ सय ५९ छ । कास्कीमा १ महानगरपालिका र ४ गाउँपालिका छन् । भूगोलको हिसाबमा पोखरा देशकै सबैभन्दा ठूलो महानगरपालिका हो । अन्नपूर्ण, माछापुच्छ्रे, मादी र रुपा गाउँपालिका र पोखरा महानगरपालिकामा गरी ७२ वडा छन् । स्थानीय निर्वाचनबाट सबै स्थानीय तहमा १÷१ जना प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरु निर्वाचित हुनेछन् ।

Advertisement


कास्कीमा सबैभन्दा धेरै मतदाता पोखरा महानगरपालिकामा छन् । यहाँ मतदाताको संख्या २ लाख ७ हजार ७ सय १२ छ । दाबी बिरोधअघि भन्दा यो संख्या ७ जनाले बढी हो । पोखरामा २०७४ को दाँजोमा ३९ हजार ६ सय ४५ मतदाता थपिएका हुन् । त्यो बेला यहाँ १ लाख ६८ हजार ६७ मतदाता थिए ।


कास्कीमा सबैभन्दा थोरै मतदाता भएको स्थानीय तह रुपा हो । यहाँ १४ हजार ६ सय ७५ मतदाता छन् । दाबी विरोधअघि भन्दा यहाँ ३१ मतदाता बढेका छन् । ५ वर्षअघिभन्दा यसपालि ३ हजार ३ सय ६० जना मतदाता थपिएका छन् । रुपामा ७ वटामात्रै वडा छन् । मादीमा १८ हजार ७ सय ८२ मतदाता छन् । यो २०७४ सालको भन्दा ५ हजार २ सय २३ ले बढी हो । दाबी विरोधको समयमा गाउँपालिकामा २३ जना मतदाता थप भएका हुन् । मादीमा वडाको संख्या १२ छ ।


माछापुच्छ्रे गाउँपालिकामा २० हजार ३ सय १६ मतदाता पुगेका छन् । यो अघिल्लो स्थानीय चुनावको बेलाभन्दा ४ हजार १४ ले धेरै हो । दाबी विरोधभन्दा अघिको संख्यामा गाउँपालिकामा १ सय ५२ जना मतदाता घटेका छन् । माछापुच्छ«ेमा ९ वडा छन् ।


अन्नपूर्ण गाउँपालिकामा २० हजार ३ सय ४८ मतदाता छन् । ०७४ मा भन्दा ४ हजार ७ सय ७९ मतदाता थपिएका हुन् । दाबी विरोधपछि गाउँपालिकामा १६ मतदाता घटे । निर्वाचन आयोगले २०७४ को स्थानीय तह चुनावपछि पनि मतदाता नामावली संकलन गरेको थियो । तर त्यो वर्षको मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति तय भएपछि भने नामावली संकलन रोकिएको थियो । ती दुई चुनावका बीचमा पनि केही मतदाता थपिएका थिए ।


उक्त निर्वाचन भएयता मतदाता नामावली संकलनलाई आयोगले निरन्तरता दिइराखेको थियो । जुनसुकै जिल्लामा बसोबास भएको भए पनि नागरिकताको प्रमाणपत्रका आधारमा १८ वर्षको नागरिकले मतदाता नामावलीमा नाम लेखाउन सक्छ । नागरिकता वा बसाइसराइँ प्रमाणपत्र भएको पालिकामा उसको नाम निर्वाचन आयोगले मतदाता नामावलीमा समावेश गर्छ । चुनावको मिति तोकिएपछि भने नामावली संकलन रोक्ने गरिन्छ ।


नियमित समयमा जिल्ला प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन भइरहेको थियो । त्यही बेला निर्वाचन आयोगका कार्यालयहरुबाट पनि मतदाता नामावली संकलन जारी थियो । नागरिकता बनाउँदा स्वतः व्यक्तिको नाम मतदाता नामावलीका लागि आयोगमा पुग्ने प्रणाली निर्माण गरिएको छ । १६ वर्ष पुगेपछि नेपाली नागरिकले नागरिकताको प्रमाणपत्र पाउँछन् । नागरिकता बनाउनेबित्तिकै मतदातामा नाम सूचीकृत भने हुँदैनथ्यो ।


१८ वर्ष पुगेपछि स्वतः मतदाता सूचीमा चढ्ने प्रणाली बनाइएको छ । मतदानको अघिल्लो दिनसम्म १८ वर्ष पूरा हुने नागरिक मतदाता बन्ने कानुनी प्रावधान छ । ०७४ को स्थानीय निर्वाचनका बेला पोखरा महानगरपालिकामा १ लाख २५ हजार ९ सय ३२ मत खसेको थियो । यो कुल मतदाताको ७४ दशमलव ९३ प्रतिशत हो । मादी गाउँपालिकामा ९ हजार ८ सय ८० मत खसेको थियो । जुन ७२ दशमलव ८७ प्रतिशत हो । अन्नपूर्ण गाउँपालिकामा खसेको मत ११ हजार ३ सय ५० थियो । त्यहाँ ७२ दशमलव ९० प्रतिशत मत खसेको हो । माछापुच्छ«े गाउँपालिकामा १२ हजार ६ सय ८२ अर्थात ७८ दशमलव ९० प्रतिशत खसेको थियो । रुपमा ८ सय २ सय ६० जनाले मतदान गरेका थिए । जुन ७३ प्रतिशत हो ।


०७४ सालको निर्वाचनमा पोखरा महानगरपालिकामा एमालेका मानबहादुर जिसी मेयर र मञ्जुदेवी गुरुङ उपमेयर निर्वाचित भएका थिए । अन्नपूर्ण गाउँपालिका प्रमुखमा कांग्रेसका युवराज कुँवर र उपप्रमुखमा एमालेकी सगुन गुरुङ विजयी भएकी थिइन् । मादी गाउँपालिकामा एमालेका वेदबहादुर गुरुङ ‘श्याम’ प्रमुख र विष्णुदेवी आचार्य पौडेल उपप्रमुख तथा रुपामा पनि एमालेकै नवराज ओझा प्रमुख र लालसुवा गुरुङ उपप्रमुख निर्वाचित भएकी थिइन् । पोखराका ३३ मध्ये २२ वटा वडामा एमाले उम्मेदवार वडाध्यक्ष निर्वाचित भएका थिए भने बाँकी ११ मा कांग्रेस उम्मेदवार विजयी भएका थिए ।


कास्कीका ५ पालिकामा ७२ वडा भएको हुँदा १० जना प्रमुख, उपप्रमुख र वडामा ५ जनाका दरले ३ सय ६० जना प्रतिनिधि चयन हुने छन् । नगर तथा गाउँसभाको निर्वाचनबाट कार्यपालिका सदस्य चुनिने व्यवस्था स्थानीय तहमा छ । निर्वाचित जनप्रतिनिधिले नै कार्यपालिका सदस्य चुन्छन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया