फिर्के अतिक्रमण रोक्न अख्तियारमा उजुरी

सञ्जय रानाभाट २०७८ चैत १८ गते १७:१८

पोखरा ।
फर्के खोला अतिक्रमण गरेर संरचना निर्माण भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा उजुरी परेको छ । पोखराको बीच भागबाट बग्ने फिर्के खोला आसपासका जग्गाधनीले आफूखुसी संरचना निर्माण गरेको भन्दै उजुरी परेको अख्तियार कार्यालयका प्रमुख कोशहरि निरौलाले बताए ।


‘बुधबार कार्यालयमा निवेदन परेको छ । त्यहाँ फिल्ड भिजिट बाँकी छ । घटनाको बारेमा फिल्डमा गएर बुझ्छौं,’ निरौलाले भने । खोला अतिक्रमणबारे कार्यालयमा निवेदन परेपछि आफू थप चनाखो बनेको उनको भनाइ छ ।


पोखराको वडा नम्बर १८ अँधेरीकुनादेखि सुरु भई वडा नम्बर २, ४, ६ ८, ७, ६ हुँदै वडा नम्बर १७ मा पुगी फेवातालमा समाहित हुने फिर्के खोला चरम अतिक्रमणको चपेटामा छ । संरचना निर्माण भइरहेको र पटक पटक जानकारी गराउँदासमेत पोखरा महानगरपालिकाले गम्भीरतापूर्वक नलिएको भन्दै महाअभियान कास्की संयोजक रामबहादुर पौडेलले अख्तियारमा उजुरी दिएका हुन् । पौडेलको संयोजकत्वमा अभियानको तर्फबाट बिहीबार जिल्ला प्रशासन कार्यालय कास्कीसमेत ध्यानकर्षण गराइएको छ ।

Advertisement


अभियानले कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जयनारायण आचार्यलाई भेटेर अतिक्रमण रोकेर छानबिन गर्न माग गरेको हो । सिडिओ आचार्यले फर्के पुलमा भइरहेको संरचना निर्माण तत्काल रोक्न निर्देशन दिएका छन् । उनले प्रहरीसँग आवश्यक समन्वय गरी सुरक्षा प्रदान गर्नसमेत निर्देशन दिएका छन् ।


नागरिक समाज पोखरासहितको टोलीले महानगरपालिकालाई पटक पटक खबर गर्दासमेत बेवास्ता गरेको आरोप लगाएको छ । ‘महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई फोनमार्फत पटक पटक खबर गरेका छौं । तर, कुनै सुनुवाई नभएपछि अख्तियारमा उजुरी दिएको हौं,’ संयोजक पौडेलले भने ।

Advertisement


हालसालै लभ्ली डाँडाको पूर्वतर्फ समेत मापदण्ड विपरीत संरचना निर्माण भइरहेको छ । ‘व्यक्तिले आफूखसी अतिक्रमण गरेको छ । त्यसलाई तत्काल रोकेर अनुसन्धान होस् भनेर हामीले सम्बन्धित निकायलाई खबरदारी गरेका हौं,’ पौैडेलले भने ।


पोखराको बीच भागबाट बग्ने फिर्के र बुलौंदी खोला मानवीय अतिक्रमणको चपेटामा परेका छन् । करिब ८ किलोमिटर लामो फिर्के खोला ठाउँ अनुसार ४ देखि २४ मिटरसम्म फराकिलो छ । खोला आसपास र खोलामाथि समेत मानवीय अतिक्रमण देखिएको छ । फिर्के किनारदेखि दायाँबायाँ १० मिटरभित्र कुनै संरचना बनाउन पाइँदैन । मापदण्ड १० मिटर भए पनि अनुगमन नहुँदा अतिक्रमण रोकिएको छैन । खोला आसपासमा सुकुम्बासी बस्ती पनि बढ्दो छ । खोलावरपर २ सयभन्दा बढी घर मापदण्ड विपरीत बनेका छन् । केही भवन बन्ने तर्खरमा छन् ।


हिउँद याममा सुख्खा हुने यी खोला बर्खामा उर्लिन्छन् । बेला बेलामा आसपासका घर जलमग्न हुने गरेका छन् । प्राकृतिक बहाब छेकेर संरचना निर्माण गरिँदा वर्षामा ठूलो दुर्घटना हुने खतरा नागरिक समाज कास्कीका पूर्व संयोजक पौडेलले देखेका छन् । पोखरा वडा नंं. ५ र ४ बीचको फिर्के पुल सडक चाक्लो बने पनि फराकिलो बन्न सकेको छैन । पुल किनारमा धमाधम भवन बनिरहेका छन् । भौतिक संरचना निर्माण गर्न वडादेखि महानगरसम्म कहिँबाट स्वीकृति लिइएको छैन ।


खोला किनारामा रिटेनिङ वाल लगाएर घर बनाइएको छ । पोखरालाई कुरुप हुनबाट बचाउन र विपद्बाट जोगिन खोला अतिक्रमण रोक्नुपर्ने पोखरेलीको माग छ । मापदण्ड मिच्नेहरुले सार्वजनिक बिदा वा कार्यालय बन्द हुने दिन काम गर्ने गरेका छन् ।


फिर्के दोहनले पोखरा प्रदूषित हुँदै गएको संयोजक पौडेल बताउँछन् । ‘पोखरा निरन्तर राम्रो बनाउन खोला दोहन रोक्नुपर्छ,’ उनले भने, ‘खोला आसपासमा भएको अतिक्रमण बन्द गर्नुपर्छ ।’


अहिले पृथ्वीराजमार्ग बस सञ्चालक समितिको भवनअघि जिरो किलोमिटरमा फिर्के पुलमाथि भवन बन्दै छ । खोलामा स्याल्ब हालेर भवन बनाउन लागिएको हो । वडा ५ र ८ को सिमानामा पर्ने यहाँ व्यापारिक प्रयोजनका लागि भवन बनाउने तयारी भएको देखिन्छ । पोखरा महानगरले फिर्के किनारामा फुट ट्याक बनाउने योजना बनाए पनि त्यो कार्यान्वयन हुन सकेको छैन । फुट ट्याकसँगै साइकल ट्याकसमेत बनाउने महानगरको दीर्घकालीन योजना कागजमै सिमित हुने देखिन्छ । खोलावरपर हरियाली फुटपाथ बनाउने महानगरको घोषणा महानगरको मध्ये भागको खोला किनारमै कार्यान्वयन हुन सकेको छैन ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया