दुई पटक म्याद सकियो,मार्फा र छुसाङको पुल बनेन
जोमसोम
चीन—भारत जोड्ने राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडकखण्ड अन्तर्गत मुस्ताङको मार्फा (राज)खोलामा निर्माणधिन पक्की मोटरेबल पुल निर्माणमा ढिलासुस्ती हुँदा मुस्ताङ आउजाउ गर्ने पर्यटक तथा सवारी साधनले सास्ती भोग्न बाध्य भएका छन् ।कालिगण्डकी करिडोर अन्तर्गत एउँटै ठेक्कामा परेको मार्फा र नरसिंह खोलामा निर्माणधिन पक्की पुलको सुरुआती सम्झौता अवधि सकिएर पहिलो पटक थपिएको समयसीमा सकिदासम्म पुल सम्पन्न हुँन ढिलाई हुँदा पर्यटक तथा सवारी साधनले सास्ती खेप्न बाध्य परेको हो ।
कालिगण्डकी करिडोरले २०७५ सालमा पुलको ठेक्का सम्झौता हुन अगावै मुस्ताङको मार्फा खोलामा कालिगण्डकी करिडोरले ५ मिटरको अस्थायी पुलको सरचना निर्माण गरेको थियो ।करिडोरले मार्फा खोलामा दुबैतर्फ ग्याबिन वाल लगाएर फलामे आईभिम राखेर अस्थायी पुल निर्माण गरेको थियो ।तर,उक्त अस्थायी पुल गतवर्षको मार्फा खोलाको बाढीले बगाएपछि त्यहाँ पुलको समस्या परेको थियो ।मार्फा खोलामा मोटर साईकल हिड्न मिल्ने अस्थायी कामचलाउ पुल बनाईपनि जीप,ट्रक र बसलाई खोला क्रस गर्न पुलले काम दिएन । बर्खायाममा मुस्ताङको मार्फा खोलाको बाहव उच्च हुँदा सवारी साधनलाई निकै समस्या पर्ने गर्छ । यद्यपी यसपटक हिउँदयाम सकिए लगत्तै मुस्ताङको तापक्रम बढेको र हिमालको हिउँ पग्लिदा मार्फा खोलामा बेमौसममै ठुलो बाढी आयो । मार्फा खोलामा चैत्र १५ र १६ गते बाढी आउँदा मुस्ताङ आउजाउ गर्ने हजारौं पर्यटक तथा स्थानीयलाई निकै समस्या प¥यो। कालिगण्डकी करिडोरले पुनः त्यसस्थानमा ५ मिटरको अस्थायी पुल निर्माण गर्ने तयारी गरेको जनाएको छ ।
राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकमा कालिगण्डकी करिडोर अन्तर्गत निर्माण कन्ट्रक्सनले तोकिएको समयमा पुल निर्माण गरेको भए अहिले मुस्ताङ आउजाउ गर्ने पर्यटक तथा सवारीलाई निकै सहज हुने अवस्था थियो । तर, कन्ट्रक्सनले छिटो पुल सम्पन्न गर्ने दिशातर्फ काम अघि नबढाउदा पर्यटक तथा सवारी साधनलाई मर्का परेको सरोकारवालाहरु बताउछन् ।
कालिगण्डकी करिडोर अन्तर्गत घरपझोङ—२ मार्फा खोलामा १ सय २० मिटर र वारागुङ मुक्तिक्षेत्र—३ छुसाङको नरसिंह खोलामा ९० मिटरको पक्की पुल निर्माण गर्न २०७५ साल भदौ ६ गते हिमढुङ एण्ड ठोक्कर ईमोटल जेभी कन्«ट्रक्सनले ठेक्का सम्झौता गरेको थियो ।साँढे २ वर्षमा सक्ने भनी सम्झौता गरेको दुबै पुलको सम्झौता अवधि २०७७ साल चैत्र २० गते सकिएको थियो ।निर्माण कम्पनीले कोरोना कहर,हिमपात र बाढी÷पहिरो आदी कारण देखाएपछि करिडोरले चालुवर्षको बैशाख मशान्तसम्म सम्पन्न गर्नेगरी १३ महिना म्याद थपेको थियो ।तर सम्झौता अवधि सकिएर पहिलो पटक थपिएको म्याद सकिन लाग्दा समेत पुलको थप भौतिक प्रगती हुन नसकेको आयोजना प्रमुख जगत प्रजापतीले जानकारी दिए ।उनका अनुसार मार्फा खोला पुल र नरसिंह खोलामा निर्माणधिन पुलको लागत २१ करोड रहेको छ ।मार्फा खोलामा ५५ प्रतिशत र नरसिंह खोलामा ७५ प्रतिशत भौतिक प्रगती भएको आयोजना प्रमुख प्रजापतीले उल्लेख गरे ।
आयोजनाका अनुसार मार्फा खोलामा ४ वटा पिल्लर उठिसकेर स्ल्याब ढलान र एप्रोज रोड बिस्तारसहित फिनिसिङको काम बाँकी छ भने, नरसिंह खोलामा पनि पुलको फाउन्डेसन पिल्लर उठेर स्ल्याब ढलान लगायतको काम बाँकी छ ।मार्फा र छुसाङमा एकै पटक पुल बनाउने ठेक्का लिएको निर्माण कन्ट्रक्सनले लोघेकर दामोदरकुण्डको घमी खोलामा पनि पक्की पुलको ठेक्का लिएको आयोजना प्रमुख प्रजापतीले जानकारी दिए ।हिउँद अगावै निर्माणको काम ठप्प पारेको उक्त कन्ट्रक्सनले अझै फिल्डमा मजदुर र उपकरण परिचालन गर्न सकेको छैन । आयोजना प्रमुख प्रजापतीले निर्माण कम्पनीलाई काम सुरु गर्न ताकेता गरिहेको र काम चाँडै सुरु हुने बताए ।
राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडकमा कुल ३८ वटा सडक पुल आवश्यक पर्ने जनाएको छ । जसअन्तर्गत हाल बेनी—जोमसोम—कोरला सडकमा १६ वटा सडक पुल निर्माणधिन छन् भने १९ वटा पुलको डिजाईन भई निर्माणको चरणमा रहेको आयोजनाले जनाएको छ । आयोजना अन्तर्गत कोरला सडकमा ३ वटा पुल सम्पन्न भई करिडोरलाई हस्तान्तरण भईसकेको छ ।
तपाईको प्रतिक्रिया