साझा उम्मेदवार खोज्दै गठबन्धन
पोखरा ।
सत्ता गठबन्धनमा संलग्न गण्डकीका राजनीतिक दलले र गठबन्धनलाई वडा तहसम्म प्रभावकारी रुपमा लैजाने निर्णय गरेका छन् । मंगलबार बसेको गठबन्धनको बैठकले पाँच दलीय सहमति अनुरुप दलीय आधारमा योग्य उम्मेदवारको चयन गर्ने निर्णय गरेको हो ।
सो निर्णयलाई वडासम्मनै कार्यान्वयन गर्ने पक्षमा बैठकमा सहभागी नेताहरु एक भएको कांग्रेस गण्डकी सभापति शुक्रराज शर्माले बताए । गठबन्धनका पार्टीको तर्फबाट उम्मेदवारी दिँदा पाँचै दलबाट सहजरुपमा स्वीकार हुने किसिमका उमेदवार छनोट गर्नुपर्नेमा जोड दिइयो ।
उनीहरुले निर्वाचन आयोगले उमेदवारी नभएको जिल्लामा दलको नामबाट अनावश्यक चुनाव चिह्न छापेर मतदातालाई भ्रमित पार्न नहुने सुझाव दिए । आगामी स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलबीच तालमेल गर्ने सहमति भएसँगै गण्डकी प्रदेशमा पनि बैठक बसी यसको तयारी गरिएको हो ।
प्रदेशमा यसअघि पनि गठबन्धनको बैठक बसेको थियो । मंगलबाबरको बैठकमा नेपाली कांग्रेसबाट गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङ (कुशुम), नेकपा एकीकृत समाजवादी उपाध्यक्ष केशवलाल श्रेष्ठ, जनता समाजवादी (जसपा) गण्डकी प्रदेश अध्यक्ष मोतीप्रसाद रिजाल, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश अध्यक्ष शंकर बराल लगायतका नेता सहभागी थिए ।
नेताहरुले गठबन्धनका उम्मेदवारको व्यवस्थापन र निर्वाचन परिचालन साझा रुपले नै अगाडि बढ्नुपर्नेमा जोड दिएको नेपाली कांग्रेस गण्डकी प्रदेश प्रचार विभाग प्रमुख रमेश पौडेलले बताए ।
तपाईको प्रतिक्रिया