हिमाली जिल्ला मुस्ताङमा चूनावी माहोल शून्य

समाधान संवाददाता २०७८ चैत २६ गते १६:५९
फोटो फाईल ःमुस्ताङ

जोमसोम—

Advertisement

यही बैशाख ३० गते हुने स्थानीय तहको चुनावी माहोल देशभर उत्कर्षमा पुगेपनि हिमाली जिल्ला मुस्ताङमा भने चुनावी माहोल शून्य छ ।आसन्न स्थानीय तहका लागि जिल्लाका राजनितिक पार्टीहरु आन्तरिक तयारीमा जुटेपनि औपचारिक चुनावी गतिविधि भने हुँन सकेको छैन ।
जसरी फलाम ताँतिन निकै समय लाग्छ ,त्यसरीनै मुस्ताङको चुनावी माहोल ताँतिन निर्वाचन तिथी नजिकिनै पर्ने हुन्छ ।यसैले होला मुस्ताङका राजनितिक पार्टीले औपाचारिक रुपमा आफ्नो पार्टीको राजनैतिक सक्रियता बढाउन सकेका छैनन् ।जिल्लामा राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये नेपाली कांगेस र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुनेछ । यसका अलावा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी समेतले स्थानीय तह निर्वाचनमा भाग लिदैछन् ।राष्ट्रिय मान्यता प्राप्त दल बाहेक जिल्लामा अरु ५ पार्टीले पनि निर्वाचनका जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गरिसकेका छन् । मुस्ताङमा राष्ट्रिय प्रजातन्त्र पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल,सामाजिक एकता पार्टी, नेपाल कम्यूनिष्ट पार्टी समाजवादी र नेपाली कांग्रेस विपिले जिल्लामा दल दर्ता गरेका हुन् ।
मुस्ताङ जिल्ला भौगोलिक रुपले विकट भएको र यो जिल्ला धार्मिक,सास्कृतिक र सामाजिक रुपले अन्य जिल्ला भन्दा फरक पहिचान भएकाले यहाँका समूदायलाई हत्तपत्त चुनावीको सरगर्मीले छुदैन । कम जनसंख्या र पर्यटनक्षेत्र भएकाले यहाँका मानिसले निर्वाचनलाई त्यती सारै महत्व दिदैन ।यहाँका समूदाय सबै आफ्ना व्यवसाय र काममा व्यस्त हुने हुँदा निर्वाचन लहरले मुस्ताङलाई गिजोल्दैन ।धौलागिरिका ४ जिल्ला मध्ये पर्वत,बाग्लुङ र म्याग्दीमा स्थानीय तहको चुनावी माहोल उत्कर्षमा पुग्दै गर्दा मुस्ताङ भने शान्त छ ।

स्थानीय तह निर्वाचनका लागि केन्द्रिय र प्रदेश स्तरीय नेताहरुको अन्य जिल्लामा ब्यापक दौडधुप रहेपनि मुस्ताङमा भने त्यस्तो देखिदैन ।आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन मिति नजिकिएपनि जिल्लामा भेला,आमसभा,कोण सभा र प्रचार प्रसार गर्ने गतिविधि अघि बढ्न सकेको छैन ।पार्टीहरुबीच आपसी चुनावी प्रतिस्पर्धा हुने भएपनि बौद्ध धर्मको बाहुल्यता रहेको मुस्ताङमा अन्य जिल्ला भन्दा बेग्लै फरक प्रकारको राजनितिक संस्कार कायम छ । यसैले ०४६ सालपछि भएका सबै निर्वाचनहरु यहाँ शान्त,भयरहित र शालिन रुपमा सम्पन्न भएका उहाहरणहरु छन् ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति मुस्ताङका कोषाध्यक्ष गणेश शेरचन भन्छन् ‘ मुस्ताङमा एउँटै प्रकारको समूदाय,पृथक भूगोल,न्यून जनसंख्या,पार्टी भित्र हुने आन्तरिक खिचातानी कम र विवादरहित जिल्ला भएका कारण चुनावी माहोल सृजना हुन नसकेको हो ।’ यता नेकपा एमाले जिल्ला कार्यसमिति मुस्ताङका सचिव बिनोद विसी भन्छन् ‘हामी यहाँ पार्टीको आन्तरिक तयारी गरिरहेका छौं ।पार्टीको तत्काल कुनै औपचारिक चुनावी कार्यक्रम छैन ।पार्टी अझै पर्ख र हेरको रणनिति अनुसार चुनावी गतिविधि अघि बढाउने तयारी गर्दैछौं ।’ उनले गठबन्धनको गतिविधि हेरेर अघि बढ्ने सोचमा रहेको उल्लेख गरे ।हामीले वडास्तरमा उम्मेदवार को हुने भन्ने बारे आन्तरिक छलफल चलाई रहेको र अर्को साता औपचारिक चुनावी कार्यक्रमलाई प्राथमिकता दिने एमाले जिल्ला सचिव विसीले जनाए ।
आसन्न स्थानीय तहको निर्वाचन मिति नजिकिंदै गर्दा जिल्ला निर्वाचन कार्यालय मुस्ताङले निर्वाचनको आन्तरिक तयारी गरिरहेको जनाएको छ । कार्यालयले मतदाता नामावली अद्यावधि गर्ने ,अन्तिम मतदाता नामावली सार्वजनिक गर्ने ,मतदान केन्द्र स्थलको अनुमगन तथा सुपरिवेक्षण गर्ने, ५ वटै तहमा निर्वाचन अधिकृत तोक्ने लगायतका कामहरु सम्पन्न भईसकेको जनाएको छ ।कार्यालयले मतदाता शिक्षा कार्यक्रमलाई पनि अघि बढाउने जनाएको छ ।
संघीयतासंगै पहिलो पटक भएको स्थानीय तह निर्वाचन २०७४ अन्तर्गत मुस्ताङको लोमान्थाङ गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको थियो। लोघेकर दामोदरकुण्डबाट अध्यक्षमा सोतन्त्र उम्मेदवार र उपाध्यक्षमा एमाले जितेको थियो ।वारागुङ मुक्तिक्षेत्रमा अध्यक्ष कांगेसले र उपाध्यक्ष एमालेले जितेको थियो । यसैगरी घरपझोङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको थियो भने जिल्लाको थासाङ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुबै कांगे्रसले जितेको थियो ।
३८ मतदान केन्द्र रहेको मुस्ताङमा कुल १० हजार ४ सय १४ जना मतदाता छन् । जिल्लामा स्थानीय तह निर्वाचनका लागि २ सय ३२ म्यादी र सोही अनुपातमा आवश्यक सुरक्षाकर्मी परिचालन हुने जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया