अटेरीको पोखरा लक्ष्य २०७९ कार्ययोजनापत्र

बुटिक महानगर : निधारमा पर्यटन, आँखामा शिक्षा र स्वास्थ्य, नाकमा सुशासन

समाधान संवाददाता २०७८ चैत २७ गते १२:३८

पोखरा ।
अटेरी अभियानले शनिबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । स्वतन्त्र तर, अटेरी भन्न रुचाउने यो समूहले चुनावी घोषणापत्रलाई घोषणापत्र भनेन । पोखरा लक्ष्य २०७९ कार्ययोजना नाम दिएर चुनावी घोषणा सार्वजनिक गरेको छ ।
घोषणापत्रको सुरुआतमै भनिएको छ, ‘निधारमा पर्यटन, आँखामा शिक्षा र स्वास्थ्य, नाकमा सुशासन ।’ जसको सोझो तरिकाले अटेरीले यसरी अथ्र्याएको छ, ‘भाग्य निर्माणमा दिगो पर्यटन, अर्जुन दृष्टिमा शिक्षा र स्वास्थ्य, पहिचानमा सुशासन ।’ अभियानले पोखरालाई बुटिक महानगर बनाउने योजनाअघि सारेको छ ।

Advertisement


‘पोखरालाई ठूला पूर्वाधारले होइन, साना, पर्यावरण मैत्री र सिर्जनात्मक पूर्वाधारले सजाएर बुटिक सहरको रुपमा विकास गर्नुपर्ने हुन्छ । पोखरालाई सजाउन बुटिक अवधारणामा काम गर्न सके यसले दिगो पर्यटनको ढोका खोल्न सक्छ,’ कार्ययोजना पत्रमा भनिएको छ, ‘सभ्य जीवनशैली, पर्यटकमैत्री बोली । सफासुग्घर आनीबानी । प्रदूषणमुक्त ताल तथा नदी । रैथाने बोटविरुवा सहितको सामुदायिक तथा सहरी वन । पार्कमा खेलिरहेका केटाकेटीहरू । चौतारामा बियाँलो गरिरहेका वृद्धवृद्धा । फूलबारी सहितको बच्चाबच्ची खेल्ने आँगन र दुईवटा मात्रै भए पनि फलफूलका रुख रोपिएको घरबारी । यसले पोखराको समृद्ध मानवीय सौन्दर्यको विवरण देखाउनेछन् ।’


अटेरी उम्मेदवारी घोषणा गरेका अभियन्तालाई स्टेजमा बोलाएर कार्यक्रम सुरुआत भएको थियो । कार्ययोजनापत्रको सार्वजनिकीकरण पनि सबैले एकसाथ गरेका थिए । घोषणापत्र सार्वजनिकीकरणपछि बोल्दै पोखरा महानगरका अटेरी उम्मेदवार घोषणा गरेका अभियन्ता गनेस पौडेलले अटेर बन्न अपिल गरेका छन् ।

Advertisement


अटेरी अभियानको पहिलो मान्यता नै छ । स्थानीय तहलाई दलरहित बनाउने । राजनीतिक दलको भागबण्डाले देश बर्बादीतर्फ गइरहेको बताउँदै अटेरी अभियानले स्थानीय तहलाई दलरहित बनाउनुपर्ने सुरुआतदेखि नै अडान लिँदै आएको छ । घोषणापत्र सार्वजनिकीकरणपछि पौडेलले नेपालमा ५० लाख हाराहारीका पार्टी, कार्यकर्तालाई रिझाउनुपर्ने बाध्यता राजनीतिक दलहरुलाई रहेको बताए । ‘कसैले भन्छन्, स्थानीय तह महँगो भयो । जनप्रतिनिधि पाल्न सकिएन,’ उनले भने, ‘होइन, जनप्रतिनिधि पाल्न नसकिने होइन । तिनका कार्यकर्ता पाल्न नसकिने हो ।’


पौडेलले जुनकुनै राजनीतिक दलमा आस्था राखे पनि ज्ञान बुद्धि र विवेक प्रयोग गरी सही र गलत ठम्याउन आग्रह गरेका छन् । ‘तपाईंले भोट हालिरहेको मान्छे, तपाईंले भोट हालिरहने पार्टी । जुन विचारका कारण मन पराउनुभयो, त्यही विचारबाट चलिरहेको छ ?,’ उनले भने, ‘उसले पठाएका नेता त्यस्तै छन् त । तपाईं वामपन्थी हुनुस् या जुनुकुनै पार्टीमा हुनुस् । जुन कारण तपाईं हुनुभएको थियो ती छन् कि छैनन् हेर्नुस् ।’


उनले जुन आर्दशका कारण पार्टी मन प¥यो, त्यो नभेटे अटेर गर्नुपर्ने अन्यथा सही विचारबाट चलेको खण्डमा अटेर गर्नुपर्ने आवश्यक नरहेकोसमेत जिकिर गरे । सही र गलत छुट्याएर गलतलाई साथ नदिनसमेत उनले आग्रह गरेका छन् । पौडेलले गलत विचार बोकेर ढोंगी जीवन नबाँच्न् समेत सबैलाई आग्रह गरे ।


उक्त कार्यक्रममा चर्चित लेखक कुमार नगरकोटीले दुई कवितावाचन गरेका थिए । काठमाडौंदेखि अटेरी युवालाई शुभेच्छा दिन पोखरा आएको उनले बताए । हालसम्म कुनै राजनीतिक पार्टीको आमसभा सुन्न इच्छुक नभएको बताउने नगरकोटीले अटेरी अभियानप्रति भने समर्थन जनाएका छन् ।


कार्यक्रममा सिद्धार्थ नगर नगरपालिकाबाट अटेरी उम्मेदवारी घोषणा गरेकी इशा खड्काले पनि बोलेकी थिइन् । एक सचेत नागरिकको हैसियतले अटेरी उम्मेदवारको घोषणा गरेर पोखरामा भेटिएका अभियन्ताले थप ऊर्जा मिलेकोसमेत उनले बताइन् । अटेरी उम्मेद्वारी घोषणा गरेपछि उम्मेदवारी फिर्ता लिन प्रलोभनसमेत आएको उनले सुनाइन् । उनले सबै जना मिलेर अटेर गर्नसमेत सबैलाई आग्रह गरिन् ।


अटेरी अभियानले सुरुआतदेखि नै लिएको अर्को अडान हो, चुनावी खर्च कम गर्ने । घोषणापत्र छाप्न लाग्ने खर्च घोषणापत्र बिक्री गरेर उठाउने बताएको अभियानले न्यूनतम १० प्रति घोषणापत्र किन्नुपर्ने सीमा निर्धारण गरेको छ । हालसम्म पोखरामा नगर प्रमुखसहित १५ जनाले अटेरी उम्मेदवारी घोषणा गरिसकेका छन् ।

तपाईको प्रतिक्रिया