कविता: सागर होइन स्वास्नीमान्छे
रीता अधिकारी ‘ऋतु’
सागर हो स्वास्नीमान्छे
आमाहरू धरती हुन्
यस्तै सुन्दै हुर्किएँ म
सुनिरहेछु
यही लोग्नेमान्छे–पुराण
वर्षौँदेखि
सागर हो स्वास्नीमान्छे
आमाहरू धरती हुन्
पुराणका कर्ता–धर्ताहरूको अगुवाइमा
बिहानै जब बालिकाको
आरती उतारिन्छ
र
सुनिन्छन्
कुरूप हेडलाइनहरू
बालिकाको सामूहिक बलात्कार
स्कुले विद्यार्थीहरू बलात्कृत
बलात्कारपछि हत्या
अभियुक्त फरार
अभियुक्त धरौटीमा रिहा
… …
उफ् !
दाँत चिलाएर खप्नै सक्दिनँ म
म आगो ओकलूँ कि तरबार ?
म खुर्पा निलूँ कि खुँडा ?
जति बदलिए पनि शासनसत्ता
जति बदले पनि कानुन
छोरीहरूमाथि गिद्द खनिने खबर
आउन छोडेन
ओ देवी, दुर्गा, चण्डी, चामुण्डा
ओ रिपुमर्दिनी, काली, महाकालीहरू
के तिमीहरू पनि मायावी नायिकामात्रै हौ ?
यो कलि यति बिघ्न पापाचार उद्दत छ
र पनि,
तिमीहरू मौन छौ ?
यो पापकालीन समय
आमाहरू सुरक्षित छैनन् सन्तानहरूबाट
छोरीहरू सुरक्षित छैनन् बाबुहरूबाट
असुरक्षामा छन् हजुरआमाहरू
झन् खतरामा छन् नातिनीहरू
असुरक्षाको शृङ्खला
भ्रूणदेखि नै सुरु छ
आज,
छोरीहरूको भू्रणहत्या गर्ने
बाबुहरू
भोलि खै कहाँ खोज्लान्
बुहारीहरू
यो अहम् प्रश्न
आमाहरूलाई पनि हो
सुन्दै अपत्यारिला र अप्रिय खबर
आइरहन्छन् बारम्बार
म पूरै नबुझ्ने भएकी छु
राखी हो कि अभिनय ?
भाइटीका हो कि नाटक ?
यो पारिवारिक विघटनको युग
यो विद्रूप सम्मोहनको उल्टो यात्रा
न बाटो सुरक्षित छ, न गन्तव्य
न घर सुरक्षित छ, न स्कुल
आतंकित छ समय
त्रासपूर्ण छ बतास
अपराधीहरू सुरक्षित छन्
न्याय बन्दी छ
सरकार छ कि छैन ?
अहँ, थाहा छैन
मात्र यत्ति थाहा छ
सबका सब रत्नाकरहरू
वाल्मीकि भएका छन्
चोरलाई चौतारो र साधुलाई शूली छ !
खबरदार !
मुठ्ठीमा घडी कैद गर्दैमा
समय कैद गर्न सकिन्न
मेरी प्रिय छोरी
यस्तो बेला
सत्य, आस्था र विश्वासको
अविचलित हिमाल बनेर
आफ्नो रक्षा कवच आफैँ बन्नू
त्यो बादल, त्यो आकास, यो हावा
कसैको विश्वास छैन आजभोलि
तिमीले सोचे झैँ
निर्धक्क सुस्ताउन सकिने घर
खै कहाँ छ ?
हर यात्रामा त्रास र जोखिम मोलेर
गन्तव्य पुग्नु छ छोरी
र पनि, वर्षौंदेखि यो पुरुष सत्ता
सुनाइरहेछ उही भ्रम–पुराण
दुनियाँलाई
सागर हो स्वास्नीमान्छे
आमाहरू धरती हुन्
अहँ, खबरदार !
जहाँ, जहिलेसुकै जे पनि बग्दै–बग्दै पुग्ने
सागर होइन स्वास्नीमान्छे
तिमीहरूले चाहे झैँ
सती–सावित्री मात्रै पनि होइनन्
नारीहरू
अहँ, सागर होइन स्वास्नीमान्छे
धर्ती पनि होइनन् आमाहरू !
आगामी १० बैशाखमा सार्वजनिक हुने ऋतुको कविता सञ्चयन ‘सेल्फ पोट्रेट’बाट ।
तपाईको प्रतिक्रिया