टिप्परको ठक्करले पुल गर्ल्यामगुर्लुम

सञ्जय रानाभाट २०७८ चैत २८ गते १४:३८

पोखरा ।
पैदलयात्रु र दुई पांग्रे सवारीका लागि बनाइएको ट्रस्ट ब्रिज टिप्परको ठक्करबाट गर्ल्यामगुर्लुम ढलेको छ । पोखरा २१ को मुङे खोलामा रहेको पुल यसरी भत्किएको हो ।

Advertisement


शनिबार सडकमा गुडिरहेको टिप्परले पुलको एक साइडको पिल्लरमा ठक्कर दिँदा पुल भत्किएको हो । ठक्करबाट पुलमा प्रयोग भएका फलामका डन्डी बांगिएका छन् । बाटो अवरुद्ध भएको छ । पुलबाट यात्रा गर्ने पैदलयात्री र दुई पांग्रे सवारीले वैकल्पिक बाटो प्रयोग गर्नुपरेको छ ।


बर्खायाममा उर्लिएर आउने यो खोला पार गर्न पैदल यात्री र दुई पांग्रेको सवारीलाई असहज भए हुने भएपछि पुल बनाइएको थियो । निर्माण सकेर शुभारम्भ भएको केही महिनामै पुल भाच्चिएको हो । कमसल सामग्रीको प्रयोग भएकाले सामान्य ठक्करबाटै ट्रस्ट ब्रिज भाच्चिएको स्थानीयको गुनासो छ । ‘निर्माण गर्दा नै कमसल सामग्री र गलत इन्जिनियरिङ भएकाले पुल सामान्य ठक्करमै पूरै सुतेको हो । नत्र सञ्चालनमा आएको केही महिनामै कसरी भाचिन्छ,’ एक स्थानीयले आक्रोश पोखे ।


सडक निर्माण गर्ने क्रममा प्रयोग भएको टिप्परले गिटी धुन खोलामा जाँदा पुलको एकापट्टीको पिल्लरलाई ठक्कर दिँदा पुल भाच्चिएको पोखरा २१ का वडध्यक्ष खगराज आचार्यले बताए । उनका अनुसार शनिबार अपराह्न १२ बजे टिप्परको ठक्करबाट भाच्चिएको हो । ‘वडामा सडक निर्माण गर्न प्रयोग भएको टिप्परले ट्रस्टलाई ठक्कर दिँदा पुल भाँच्चियो,’ वडाध्यक्ष आचार्यले भने ।


टिप्पर बाटो निर्माण गरिरहेको रमण भीमेश्वर जेभीको हो । रमण भीमेश्वर पुल १ महिनाभित्र पुनर्निर्माण गरी हस्तान्तरण गर्न मञ्जुर भएको छ । आचार्यका अनुसार ट्रस्ट भाचिएपछि वडा प्रहरी कार्यालय बैदामको सहयोगमा घटनाको बारेमा मुचुल्का बनाएर पुनः पुल जस्ताको त्यस्तै बनाउने सहमति भएको छ । ‘कम्पनीले आउँदो १ महिनाभित्र पुल निर्माण गर्ने प्रतिवद्धता जनाएको छ,’ आचार्यले भने ।

Advertisement


कम्पनीका इन्जिनियर सोभियत महताराले छोरेपाटन चौकीमा पुल बनाइदिने प्रतिवद्धता गरेका हुन् । स्थानीय सरकार गठन भएपछि २०७४÷७५ मा वडास्तरीय योजना अन्तर्गत यो पुल बनेको थियो । पोखरा महानगरपालिका र स्थानीय उपभोक्ता समितिको २७ लाख लगानीमा पुल निर्माण भएको हो । ‘स्थानीय उपभोक्ता समितिको १३ लाख ५० हजार र पोखरा महानगरपालिकाको १३ लाख ५ हजार गरी २७ लाखमा पुल निर्माणमा ठेक्का भएको थियो,’ आचार्यले भने ।


यता, पुल निर्माण कम्पनीले भने कमसल सामग्री प्रयोग गरेको भन्ने आरोपको खण्डन गरेको छ । पुल निर्माण हुँदा उपभोक्ता समितिको उपस्थितिमा पुलका खम्बा राखिएको कम्पनीका एक कर्मचारीले बताए । ‘पुल निर्माणस्थानीयको उपस्थितिमा भएको थियो । कमसल सामग्री प्रयोग भएको भन्ने कुरा गलत हो,’ ती कर्मचारीले भने ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया