रजत जयन्तीको तयारीमा हिमाली साँस्कृतिक

समाधान संवाददाता २०७८ चैत २८ गते १५:२३



पोखरा l
नेपाली लोक संस्कृति बचाऔं भन्ने नाराका साथ पोखरामा क्रियाशील हिमाली सांस्कृतिक परिवारले २५ औं वर्ष प्रवेशको अवसरमा स्रष्टा सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम गरेको छ ।

२०५४ सालामा स्थापित संस्थाले रजत जयन्तीको अवसरमा शुभारम्भ समारोह तथा स्रष्टा सम्मान, विविध सांस्कृतिक कार्यक्रम गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले सुरुआत गरे । उनले हिमाली सांस्कृतिक परिवारले लोक संस्कृति संरक्षण र विकासमा पुर्याएको योगदानको प्रशंसा गरे ।

उनले सद्भावपूर्ण समाज भएको नेपाली मौलिकता एवं विविधताको सम्मान हुनुपर्ने बताए । मन्त्री थापाले आउँदो स्थानीय निर्वाचनमा सहभागी भई लोकतन्त्रको विकासका साथै निर्वाचत स्वतन्त्र, निष्पक्ष र मयरहित बनाउनमा नागरिकको तर्फबाट भूमिका खेल्न आग्रह गरे ।

Advertisement

परिवारका संस्थापक अध्यक्ष रुपेनबाबु थापाको स्मृतिमा स्थापित रुपेनबाबु स्मृति पुरस्कारबाट वरिष्ठ नृत्य निर्देशक गमबहादुर परियार(गम्भीर बर्देवा) र बोलमाया गुरुङ सम्मान पुरस्कारबाट मनसुवा नेपाली सम्मानित भए । हिमाली सांस्कृतिक परिवारको वर्ष उत्कृष्ट कलाकारबाट मीनबहादुर गुरुङ र दीपा गुरुङ पुरस्कृत बने ।

कार्यक्रममा हिमाली सांस्कृतिक परिवारका पूर्व अध्यक्ष मेनकाजी गुरुङको स्मृतिमा स्थापना गरिने कोषका संयोजक रुद्रकुमारी गुरुङ ‘मैना’ले परिवारका अध्यक्ष ज्ञानबहादुर थापालाई कोषका लागि संकलित ३४ लाख रुपैयाँको चेक हस्तान्तरण गरिन् । कोषका लागि तमु धिं नेपालको तर्फबाट अध्यक्ष हुमबहादुर गुरुङसहितले कोषका संयोजक रुद्रकुमारी गुरुङ मैनालाई २ लाख १ हजार ५ रुपैयाँ हस्तान्तरण गरे ।

Advertisement

कार्यक्रममा परिवारका उपाध्यक्ष गजबहादुर गुरुङ, सचिव श्रीजंग गुरुङ, गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ, मेनकाजी गुरुङको स्मृतिमा स्थापना गरिने कोषका संयोजक रुद्रकुमारी गुरुङ मैना लगायतले बोलेका थिए ।
परिवारका कलाकारले संस्थापक अध्यक्ष रुपेनबाबु थापा, मेनकाजी गुरुङ, प्रमुख संरक्षक चेतन कार्की, कल्याण शेरचन, धनबहादुर गायकको स्मृतिमा उनीहरुको सिर्जनाका गीत एवं नृत्यमा प्रस्तुत गरिएको थियो । रजत जयन्ती वर्ष प्रारम्भ कार्यक्रममा परिवारका आजीवन सदस्यलाई सदस्यता प्रमाणपत्र वितरणसमेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया