सम्पादकीय- स्याउ खेतीबारे अनुसन्धान जरुरी

समाधान संवाददाता २०७८ चैत २९ गते १३:४६


हिमाली जिल्ला मुस्ताङ प्राकृति सुन्दरता र धार्मिक पर्यटनका दृष्टिले प्रसिद्ध छ । सँगसँगै बेनी जोमसोम कोरला सडक बनेपछि मुस्ताङ धेरैको पहुँचमा पुगेको छ । यसअघि हवाई यात्राबाट र पदमार्ग दुवै तवरबाट मुस्ताङ जान निकै खर्चिलो र कठिन थियो । अहिले दैनिक सयौं सवारी मुक्तिनाथ पुग्छन् । बिहान पोखराबाट हिडेका यात्रु साँझसम्म जोमसोम पुगिसक्छन् ।

Advertisement

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि भारतले नेपालमाथि अघोषित नाकाबन्दी लगायो । त्यसअघि पनि २ पटक नाकाबन्दीको मार सहेको नेपालले चेतेकै थिएन । भूपरिवेष्ठित नेपाल पूरै भारतसँग निर्भर थियो र अहिले पनि छ । भारतीय नाकाबन्दीपछि कोरला नाका खोल्ने कुरा जोडतोडसँग चल्यो । साँघुरो बाटो, कठिन भूगोलका कारण यो नाका खोल्न र सडक तत्काल स्तरोन्नति गरी यो नाकामार्फत् ठूलो कारोबार गर्न करिब असम्भव नै थियो । तैपनि उत्तरी छिमेकी चीनसँग अर्काे नाका खोल्ने कुराले निकै सकारात्मक चर्चा पायो । नाकाबन्दी सकिएपछि सडक स्तरोन्नतिको काम भइरहे पनि कोराला नाका खोल्ने कुरा हामीले बिर्सियौं । चीनतर्फ नाकामा भव्य संरचना बनिसक्दा पनि नेपालले सीमा व्यवस्थित गर्न सुरसारै नगर्नुले हाम्रो बेवास्ता प्रमाणित गर्छ ।


नीति निर्माता र शासकहरुले कोरला नाका खोल्ने र पूर्वाधार बनाउने कुरा बिर्सिए वा बेवास्ता गरे पनि मुस्ताङ आउने पर्यटकहरु बढिरहेकै छन् । उनीहरु यहाँबाट फर्किदा लैजान नबिर्सने कोसेली होः स्याउ । फरक भूगोल भएको मुस्ताङको थोरै जमिनमा मात्र खेतीपाती हुन्छ । त्यसमा पनि जौ, उवा, स्याउ यहाँका मुख्य उत्पादन हुन् । स्वादिलो मुस्ताङी स्याउ बोटबाटै टिपेर खाने रहर पनि मुस्ताङमा धेरैले पूरा गर्छन् । तर पछिल्लो समय यहाँ फल्ने स्याउको गुणस्तरमा ह्रास आउन थालेको छ । अनेकथरी रोगले स्याउलाई आक्रमण गरेको छ । रोगसँगै यसको निराकरणका प्रयास पनि भएकै छन् तर पछिल्लो समय अर्काे अनपेक्षित चुनौति थपिएको छ । मुस्ताङका कतिपय तल्ला क्षेत्रमा स्याउ फल्न छाडेको छ । यसको अनेक कारण अनुमान गरिएका छन् । तर वैज्ञानिक पुष्टि हुन बाँकी छ ।

Advertisement


मुस्ताङमा ३० र ४० को दशकमा स्याउ खेती सुरु भयो । किसानलाई व्यवसायिक स्याउ खेती सिकाउन मार्फामा शितोष्ण वागवानी विकास केन्द्र खुल्यो । विस्तारै स्याउ मुस्ताङीको मुख्य आम्दानीको स्रोत बन्दै गयो । तल्लो क्षेत्र ताक्लुङ, कुञ्जो, टिटी, छयो, लेते लगायतका गाउँमा स्याउ फल्न छाडेको छ । त्यो बेला स्याउ नहुने उपल्लो मुस्ताङमा भने अहिले स्याउ खेती सुरु गरिएको छ । धेरैले जलवायु परिवर्तनकै कारण यसो भएको अनुमान गरेका छन् । यहाँ किसानको मुख्य आयस्रोत स्याउबारे वैज्ञानिक अनुसन्धान जरुरी छ ।

तपाईको प्रतिक्रिया