बालबालिकासँग ‘मुना’ को वार्षिकोत्सव

समाधान संवाददाता २०७८ चैत २९ गते १४:४०

पोखरा l
गोरखापत्र संस्थानको प्रकाशन ‘मुना’ मासिकको ३२ औं वार्षिकोत्सव सोमबार पोखरामा मनाइएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेसँग बालबालिका संवाद आयोजना गरी वार्षिकोत्सव मनाइएको हो ।


बालबालिकाले गुणस्तरीय शिक्षा, स्वास्थ्य, र प्राकृतिक चिन्तन फेवाताल लगायतको विषयमा प्रदेशको सरकारको भूमिका बारेमा मुख्यमन्त्रीसँग प्रश्न गरेका थिए । मुख्यमन्त्री पोखरेलले गण्डकी सरकार सम्भावना बोकेको प्रदेश भएकाले पर्यटन, कृषि, उद्योगको क्षेत्रमा नियम कानुन निर्माण हुँदै आएको बताए । उनले बालबालिकाको उचित शिक्षा, स्वास्थ्य, पोषण लगायतमा आगमी बजेटमा समावेश गरी बालबालिका मैत्री कार्यक्रम ल्याउने प्रतिबद्धता जनाए ।


मुख्यमन्त्री पोखरेलले भने, ‘यहाँका बालबालिकालाई गुणस्तरको शिक्षा दिनको लागि कटिबद्ध लागिपरेका छौं । प्रदेश प्रमुख शिक्षा कार्यक्रममार्फत पनि बालबालिकाले प्राविधिक कुरामा ज्ञान हासिल गर्न सक्नेछन् ।’ उनले आफू सरकारमा आएपछि प्रदेशबासीका लागि निशुल्क रगतको व्यवस्था मिलाएको सुनाए । ज्येष्ठ नागरिकका लागि दिवा सेवा र सरकारी हस्पिटलबाट पनि निशुल्क स्वास्थ्य सेवा लिने व्यवस्था मिलाएको बताए । उनले भने, ‘यो प्रदेशमा कोही अभिभावक विहीन भएर बस्नु पर्दैन । मानवसेवा आश्रममा बालबालिकालाई उचित व्यवस्था हुँदै आएको छ ।’

Advertisement


गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री माननीय मेखलाल श्रेष्ठले जबसम्म बालबालिकालाई उचित शिक्षा दिन सकिँदैन, तबसम्म समाज परिवर्तन गर्न नसकिने बताए । उनले शिक्षाले हर समस्या समाधान गर्न सकिने हुँदा उत्पादनसँग जोडेर आत्मनिर्भर हुन बालबालिकालाई प्रेरित गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘मुना पत्रिकाबाट बालबालिकाहरुले उपयोगी ज्ञान हासिल गर्न सकेका छन् । यसलाई गाउँगाउँका विद्यालयमा पु¥याएर लुकेको प्रतिभालाई बाहिर ल्याउने काम गर्न आग्रह गर्दछु ।’


नेपाली लेखक संघका अध्यक्ष तीर्थ श्रेष्ठले मुनाहरु भोलिका दिनमा मुलुक धान्न सक्ने बनाउनका लागि अभिभावक र शिक्षकको भूमिका रहने बताए । नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले मुना पत्रिका सबैको लोकप्रिय बनेकाले अझै परिस्कृत गर्दै पछिल्लो पुस्तालाई पनि समावेश गर्ने खालका सामाग्रीहरु राख्न अनुरोध गरिन् । गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले बालबालिकाको क्षमता वृद्धि गर्नका लागि निरन्तर मुना प्रकाशन हुँदै आएको बताए । उनले भने, ‘मुना पत्रिकाको गतिविधि काठमाडौंमा मात्र नभएर मौफसलमा पनि साझेदारी हुनुपर्छ भन्ने मान्यताले प्रदेश सरकार र पोखरासँग जोडिन आएका हौं ।’ उनले पत्रिका डिजाइन, सामग्री, नयाँ परिवेशमा छिट्टै ल्याउने जनाए ।

Advertisement


संस्थानका अध्यक्ष विष्णु सुवेदीले पोखराका प्रतिभाशाली मुनासँग वार्षिकोत्सव मनाउन पाउँदा खुसी लागेको बताए । उनले भने, ‘अबको सन्तति निकै ट्यालेन्ट छन् । सामाजिक रुपान्तरण र समृद्धिका विषयमा चासो दिन थाल्नु भनेको बच्चामा हुनुपर्ने अदभुत गुण हो । तीनै मुनाहरुको प्रतिभा समेट्दै थप परिमार्जित गर्दै डिजिटलमार्फत पनि ल्याउने तयारीमा छौं ।’ उनले गोरखापत्र पत्रिकामात्र नभएर सिंगो युगको प्रतिनिधित्व गरेको दाबी गरे । विभिन्न आरोह, अवरोध खप्दै यहाँसम्म आइपुग्नु ठूलो चुनौती रहेको उनकोभ नाइ छ । वार्षिकोत्सवको अवसरमा मुनादूत घोषणा गरिएको थियो । पोखराको गण्डकी बोर्डिङ स्कुलमा कक्षा ४ मा अध्यनरत प्रेन्सा रेग्मी गण्डकी प्रदेशका लागि मुना दुत बनेकी छन् ।

तपाईको प्रतिक्रिया