‘अपराध रोक्न प्रहरी–स्थानीय सहकार्य’
पोखरा l
नयाँ वर्ष २०७९ को अवसरमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा पोखरा ९ पृथ्वीचोकले सोमबार शुभकामना आदानप्रदान गरेको छ । कार्यक्रममा प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) दिवेश लोहनीले संस्थाले प्रकाशन गरेको भित्तेपात्रोको सार्वजनिक गरे ।
डिआइजी लोहनीले नेपाल प्रहरीको एकल प्रयासमा भन्दा स्थानीय समुदायको सहकार्यमा अपराध अनुसन्धान, शान्ति सुरक्षा तथा अमनचयन गर्न सकिने बताए । प्रहरीलाई स्थानीय समुदायसँगको सहकार्य गर्न सेवा केन्द्रहरुको महत्वपूर्ण भूमिका छ,’ डिआइजी लोहनीले भने, ‘समुदाय र प्रहरीलाई जोड्नुको अलवा सामाजिक अपराध नियन्त्रणमा सेवा केन्द्रले कार्यक्रम केन्द्रीत गर्नुपर्छ ।’
उनले सशस्त्र द्वन्द्वको अवधि तथा स्थानीय तहमा जनप्रतिनिधि नहुँदा सामुदायिक सेवा केन्द्रहरुले विकास निर्माणको सवालमा सहजीकरण गरेको स्मरण गरे । जनप्रतिनिधि आएपछि विकास, निर्माणमा केन्द्रीत भएको उल्लेख गर्दै उनले आगामी दिनमा सेवा केन्द्रहरुलाई समुदायका समस्या र सामाजिक अपराध न्यूनीकरणको सवालमा कार्यक्रम गर्न सुझाव दिए । जबरजस्ती करणी, आत्महत्या, लागुऔषध र लैंगिक हिंसा लगायतका सामाजिक अपराध रोकथाम लागि अभियान चलाउनुपर्ने उनले उल्लेख गरे ।
‘विकृति र विसंगतिरहित समाजको निर्माण हाम्रो अभियान’ भन्ने नाराका साथ भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष धर्मराज आचार्यले नेपाल प्रहरीसँगको हातेमालोमा लागुऔषध नियन्त्रण, लैगिंक तथा घरेलु हिंसा न्यूनीकरण र विपद् व्यवस्थापनमा काम गरेको बताए । उनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर, छात्रवृत्ति लगायतका कार्यक्रम गरेको जानकारी दिए ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका सचिव उत्तम जोशी, कार्य समितिका सदस्य तथा कार्यक्रम संयोजक टंकप्रसाद पौडेलले सामुदायिक सेवा केन्द्रले समुदाय स्तरमा गरेका कार्यक्रमका बारेमा प्रकाश पारेका थिए ।
तपाईको प्रतिक्रिया