मेयर अरुलाई दिन नहुने भन्दै कांग्रेस टोली काठमाडौं

पोखरा ।
पोखरा महानगरपालिकाको मेयरमा गठबन्धनबाट कांग्रेसकै उम्मेदवार बनाउन दबाब दिने उद्देश्यले नेपाली कांग्रेस कास्कीका नेता, कार्यकर्ता काठमाडौं गएका छन् । पूर्वमन्त्री यज्ञबहादुर थापा, कास्की सभापति किशोरदत्त बरालसहित नेता, कार्यकर्ता पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिन मंगलबार काठमाडौं गएका हुन् ।
डेलिगेसन टोलीले बुधबार देउवालाई भेटेर गठबन्धनबाट पोखराको मेयरमा कांग्रेसकै उम्मेदवार बनाउन भन्नेछ । ‘उम्मेदवार कांग्रेसभन्दा बाहिर गयो भने चुनाव जितिन्नँ भन्ने कुरा राख्छौं,’ जिल्ला सभापति बरालले भने, ‘जनमतका आधारमा कांग्रेस बलियो छ, मेयरको उम्मेदवार कांग्रेसले नै पाउनुपर्छ ।’
माओवादी र नेकपा एससँग गठबन्धन गर्दा अरु पद भने दिन सकिने बरालले बताए । उनको संकेत उपमेयरको उम्मेदवार ती पार्टीबाट बनाउने भन्ने हो । ‘केन्द्रीय कार्यसमितिले कांग्रेसको मेयर नउठाउने निर्णय गर्यो भने पार्टी सभापतिको हिसाबले कार्यकर्तालाई त भनौँला । तर, कार्यकर्ताले स्वीकार्ने देख्दिनँ । विद्रोहको पनि उत्तिकै सम्भावना छ । हामी यसबारे नेतृत्वलाई जानकारी गराउनेछौँ,’ उनले भने ।
डेलिगेसनमा बुधबार सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य गुरु बरालसहित कांग्रेस कास्की काठमाडौं सम्पर्क समाजका प्रतिनिधि पनि सामेल हुने जानकारी कास्की कांग्रेस सचिव भानु ढकालले दिए । टोलीले सभापति देउवासहित उपसभापतिहरु, महामन्त्रीहरु केन्द्रीय नेताहरुलाई भेट्ने लक्ष्य राखेको छ ।
कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा लगायत पार्टीको गठबन्धनले देशभरका ६ वटा महानगरपालिकामा भागबन्डा गरी उम्मेदवार उठाउने भएको छ । कांग्रेसले ३ वटा लिएर अरुलाई बाँकी महानगरपालिका दिँदा पोखरा माओवादी वा नेकपा एसलाई पर्ने भय कास्की कांग्रेसमा परेको छ । ‘पोखरा अरु पार्टीका उम्मेदवारले जित्दैनन्, अरुलाई दिँदा अव्यावहारिक हुन्छ, जनमतको ठूलो डालो त कांग्रेससँग छ नि,’ कास्की कांग्रेस सचिव ढकालले भने, ‘डालो मानापाथीमा खन्याउँदा पोखिन्छ, बरु मानापाथीको चाहिँ डालोमा हाल्दा राम्रो हुन्छ ।’
उपमेयर र कतिपय वडामा भने गठबन्धनका अरु साझेदारलाई उम्मेदवार दिन सकिने ढकालले सुनाए । उनले कास्कीका अरु पालिकामा पनि प्रमुख पदको उम्मेदवार कांग्रेसबाटै उठाउनुपर्ने माग बुधबार डेलिगेसन टोलीले सभापति देउवासँग राख्नेछ । ‘कास्कीका सबै पालिकामा कांग्रेस एक्लै उठेर पनि आफ्ना उम्मेदवार जिताउन सक्छौं,’ उनले भने, ‘तर कांग्रेसको संगठनको अहित हुने गरी केन्द्रबाट निर्णय हुन्छ भने त्यसलाई स्वीकार्न सकिन्न ।’
२०७४ सालको स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकामा एमाले उम्मेदवार मानबहादुर जिसीले कांग्रेसका रामजी कुँवरलाई साढे १३ हजारभन्दा बढी मतले पराजित गरेका थिए । त्यो बेला पनि माओवादी र कांग्रेसको गठबन्धन थियो । माओवादी उम्मेदवार विश्वप्रकाश लामिछानेले दर्ता गरिसकेको उम्मेदवारी पार्टी निर्देशनपछि फिर्ता लिएका थिए । उपमेयरमा भने कांग्रेसबाट सरस्वती गुरुङ र माओवादीबाट गोमा ढकाल उम्मेदवार थिए । ढकालले झन्डै ८ हजार मत ल्याएकी थिइन् ।
माधव नेपाल नेतृत्वको नेकपा एसले पोखरामा आफूले मेयर उम्मेदवार पाउनुपर्ने दाबी गरेको छ । उक्त पार्टीबाट धनराज आचार्य आकांक्षी छन् । पोखरा महानगरमा २ लाख ७ हजार मतदाता छन् ।








भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
लेखनाथका समाजसेवी उद्यमी चन्द्रकृष्ण कर्माचार्य पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया