राधाकृष्ण वृद्धाश्रमलाई खाद्यान्न
पोखरा l
इम्ब्रोइडरी एण्ड गार्मेन्ट्स एसोसिएसन(एगा) पोखराले नयाँ वर्ष २०७९ को अवसरमा पोखरा ३२ लामेआहालस्थित राधाकृष्ण बृद्धाश्रममा खाद्यान्न सहयोग गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत ५० हजार रुपैयाँ बराबरको चामल, दाल, तेल, आलु, मसला लगायतका खाद्यान्न सामग्री सहयोग गरेको एगा पोखरा अध्यक्ष विश्वराज पोखरेलले जानकारी दिए ।
संस्थाले बर्सेनी सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ, संस्थामा असहाय तथा अशक्तलाई सहयोग गर्दै आएको छ । पोखरेलले व्यवसायीले कोरोना कहरका कारण व्यवसाय प्रभावित भए पनि दैनिक खर्च कटाएर सहयोग गरेको उल्लेख गरे । उक्त अवसरमा संस्थागत सहयोगका अतिरिक्त व्यक्तिगत रुपमा एलिसा पोखरेलले ज्येष्ठ नागरिका लागि फलफूल तथा प्रमिला थापाले मरमसला र नवराज अधिकारीले यातायात व्यवस्थामा सहयोग गरेका थिए ।
कार्यक्रममा पोखरा ३२ का वडाध्यक्ष अक्कबहादुर कार्कीले विभिन्न संघ, संस्थाले गर्ने यस्तै सहयोगले वृद्धाश्रम सञ्चालनमा सहयोग पुगेको जनाए । राधाकृष्ण वृद्धाश्रमका अध्यक्ष प्रेम लिगलले विभिन्न संघ, संस्था एवं व्यक्तिको सहयोगका भरमा वृद्धाश्रम सञ्चालन भएको बताउँदै यसको दीगो सञ्चालनमा राज्यको सहयोग आवश्यक भएको धारणा राखे ।
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवं पोखरा पर्यटन परिषद् पूर्व अध्यक्ष चिरञ्जीवी पोखरेल, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, एगा पोखरा सचिव गीता ढकाल पौडेल, कार्यक्रम संयोजक माया सुवेदी लगायतले संस्थाको सहयोगले वृद्धाश्रमको सञ्चालनमा केही न केही सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
तपाईको प्रतिक्रिया