नाइन ए साइड भेट्रान फुटबल सुरु

समाधान संवाददाता २०७९ वैशाख ३ गते ११:४६

पोखरा l
युवा तथा खेलकुद मन्त्रलाय गण्डकी प्रदेशको आयोजनामा राष्ट्रिय नाइन ए साइड भेट्रान फुटबल प्रतियोगिताको शुक्रबार उदघाटन समारोह भएको छ । शुक्रबार पोखरा रंगशालामा ४ खेल भएका छन् ।


शुक्रबार बिहान भएको खेलमा पोखराको बगर भाइखलकले वालिङ भेट्रान टिमलाई ५–१ को फराकिलो गोल पराजित गरेको छ । खेलको दोस्रो मिनेटमै मोती कुँवरको गोलबाट वालिङ भेट्रानले अग्रता लिएको थियो । बगरभाइ खलकले बराबरी गोल फर्काउन सफल भयो । पहिलो हाफ बराबरीमा भएको खेलमा २८ औं मिनेटमा प्रकाश गुरुङ, ३० मिनेटमा टिकेन्द्र गुरुङ, ३२ मिनेटमा गंगा तामाङ(प्लेयर अफ दि म्याच) र ४६ औं मिनेटमा दिपक पुनले गोल गरेका थिए ।


पोखरा रंगशाला फुटबल मैदानमा आयोजित प्रतियोगिताको दोस्रो खेलमा लेकसाईड भेट्रान टिमले जित्यो । उसले पोखरा भेट्रानलाई १–० ले पराजित गर्यो । लेकसाईडको जितमा १६ औं मिनेटमा नरेश गुरुङले गोल गरेका थिए । खेलमा मनबहादुर गुरुङ प्लेयर अफ दि म्याच घोषित भएका थिए ।

Advertisement


युवा तथा खेलकुद मन्त्री राजीव गुरुङको कप्तानीमा खेलेको मनाङ मस्र्याङ्दी क्लबले पनि जितेको छ । मनाङ भेट्रान टिमले पोखराको दिप युनाइटेडलाई ५–३ गोल अन्तरले पराजित गरेको थियो । मनाङका कर्मा छिरिङ गुरुङले ह्याट्रिक गरे । २ र ६ मिनेटमा बीरबहादुर गुरुङले गोल गरेर दिप युनाईटेडको अगाडि बढाए । खेलको १३ औं मिनेटमा मनाङका लागि कर्मा छिरिङ गुरुङले गोल फर्काए ।


खेलको ४० औं मिनेटमा दिप युनाइटेडका लागि दलबहादुर लामाले गोल गरे । ४२ औं मिनेटमा मनाङका कर्मा छिरिङले व्यक्तिगत दोस्रो गोल गरे । ४८ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै कर्माले ह्याट्रिक पुरा गरे । ६० औं मिनेटमा सुमनमान श्रेष्ठले गोल गर्दै जितको आशा जगाउदाँ ६१ औं मिनेटमा सुमन श्रेष्ठले गोल थप्दै मनाङको जित सुनिश्चित बनाए । मनाङका कर्मा प्लेयर अफ दि म्याच घोषित भए । प्रतियोगितामा सिमरा भेट्रान टिम अनुपस्थित भएपछि पोखराको संगम भेट्रान अन्तिम आठमा प्रवेश गर्यो ।

Advertisement


गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा सञ्चालित प्रतियोगिताको उदघाटन गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले गरेका थिए । प्रतियोगितामा १८ टोलीको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया