लिखत पारित शतवार्षिकीमा सेवाग्राहीलाई सम्मान

पोखरा l
जमिनको हक हस्तान्तरण सुरु भएको एक सय वर्ष पुगेको अवसरमा लिखत पारित शतवार्षिकी पारी पोखरामा ३ दिवसीय कार्यक्रम सञ्चालन गरिएको छ । जिल्ला मालपोत कार्यालय कास्कीले ३ दिवसीय कार्यक्रम अन्तर्गत चैत ३० गते कार्यालय सरसफाई, वैशाख १ गते मूल समारोह कार्यक्रम गरेको कार्यालय प्रमुख प्रमुख मालपोत अधिकृत राजेन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार ३ दिवसीय कार्यक्रमको अन्तिम दिन वैशाख २ गते कार्यालयबाट पहिलो पटक सेवा लिने सेवाग्राहीलाई सम्मान गरिएको छ । पोखरा २३ चापाकोटका सीता पराजुली र वीरेन्द्र पराजुलीलाई कार्यालय प्रमुख पौडेलले सम्मान गरेका थिए । त्यस्तै कर्मचारीबीच मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता पनि गरिएको थियो ।
मूल सामारोह कार्यक्रममा गण्डकी प्रदेशका भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुर बुढाले संघीयताको सुन्दर पक्ष सेवा र पहुँचसँग जोडिएकाले जनताले अनुभूति गर्न सक्ने गरी काम गर्नुपर्ने बताए । उनले जग्गा अभिलेखिकरण, मूल्यांकनको आधार र गुठी व्यवस्थापन बारे नयाँ ढंगबाट छलफल गर्नुपर्ने औंल्याए । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद रिजालले पछिल्लो समय भूमि प्रशासन जटिल बन्दै गइरहेको उल्लेख गरे ।
जिल्ला समन्वय समिति कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बरालले बढ्दो जनसंख्या सँगै जग्गाजमीनको महत्व झनै बढेको बताए । जिल्ला मालपोत कार्यालय कास्कीका प्रमुख प्रमुख मालपोत अधिकृत राजेन्द्र प्रसाद पौडेलले कार्यालयका गतिविधि र समस्या बारे प्रतिवेदन प्रस्तुत गर्दै सीमित स्रोत र साधन भएपनि गुणस्तरीय सेवालाई प्राथमिकता दिइएको बताए ।
कार्यक्रममा माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ, राष्ट्रिय भूमि आयोग कास्कीका सदस्य गिरिप्रसाद गुरुङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव गङ्गालाल पोख्रेल, नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेल, नेपाल लेखापढी कानुन व्यवसायी एशोसियशनका सचिव हरिप्रसाद शर्माले बोलेका थिए । जिल्ला मालपोत कार्यालय कास्कीका प्रमुख प्रमुख मालपोत अधिकृत राजेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा मालपोत अधिकृत खुमादेवी रेग्मीले स्वागत र कर्मचारी फणीन्द्र पौडेलले सञ्चालन गरेका थिए ।
तपाईको प्रतिक्रिया