कास्कीका पालिका प्रमुखको उम्मेदवार खोज्दै कांग्रेस

पोखरा l
नेपाली कांग्रेस पोखरा महानगर समितिले पोखरा महानगरपालिकाको मेयर र उपमेयर उम्मेवार बन्न इच्छुकलाई पार्टी उम्मेदवारी दर्ता गराउन आह्वान गरेको छ । समितिको सचिवालयले शनिबार विज्ञप्ति जारी गर्दै उक्त आह्वान गरेको हो ।
वैशाख ४ गते ४ बजेभित्र कांग्रेस नगर कार्यसमितिको सचिवालयमा आकांक्षी आफैं उपस्थित भई नाम दर्ता गर्नुपर्ने नगर कार्यसमिति सचिवालयले जानकारी दिएको छ । ‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) धारा ३० (१) तथा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १२ गते योग्य ठहर गरेको नेपाली नागरिकले तोकिएको ढाँचामा उम्मेदवारी दर्ता गराउने सूचना प्रकाशन गरिएको छ,’ समितिले निकालेको सूचनामा उल्लेख छ ।
सत्तारुढ नेपाली कांग्रेस र सत्ताका अरु घटकबीच पोखरासहित देशका ६ महानगरपालिकामा कुन कुनमा पार्टीका उम्मेदवार हुने भन्नेचाहिँ अहिलेसम्म तय भएको छैन । कांग्रेसलाई ३ र अरुलाई ३ महानगरपालिका बाँडफाँड गर्ने अनौपचारिक सहमति गठबन्धनबीच भएको बताइएको छ । त्यसो हुँदा पोखरामा कांग्रेसको सट्टा अरु पार्टीकै उम्मेदवार बनाउने भन्ने पनि चर्चा छ । तर नेपाली कांग्रेस कास्की र महानगर समिति पनि पोखरामा कांग्रेसकै उम्मेदवार मेयरमा उठ्नुपर्ने अडानमा छ । मेयर उम्मेदवार कांग्रेसबाटै हुनुपर्ने दाबी गर्न कास्की कांग्रेसको टोली हालै सभापति शेरबहादुर देउवा लगायत नेता भेट्न काठमाडौं गएको थियो ।
निर्वाचन लागिसकेको हुँदा पनि उम्मेदवार छनोटको प्रक्रिया सुरु गरेको नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बराल बताउँछन् । गठबन्धनकै बीचमा छलफल चलिरहेको जानकारी पनि उनले दिए । गठबन्धनका बीच उम्मेदवार बाँडफाँडबारे सहमतिनजिक पुगेको पनि उनले सुनाए । गठबन्धन हुन्छ भन्दैमा कांग्रेसले आफ्नो उम्मेदवार तय नगरी बस्नु उपयुक्र्त नभएको कांग्रेस पोखरा महानगर समिति सचिव गणेशबहादुर थापाले बताउँछन् । उनले भने, ‘कांग्रेसबाट हुने उम्मेदवार तय गर्न प्रक्रिया सुरु गरेका हौं ।’
नेपाली कांग्रेस मादी गाउँपालिका समितिले पनि उम्मेदवारका आकांक्षीलाई नाम दर्ता गराउन आइतबार डाकेको छ । पोखरामै भेला डाक्दै मादी कांग्रेस गाउँपालिका समिति सभापति यमबहादुर गुरुङले सूचना जारी गरेका छन् । उनले इच्छुक उम्मेदवारलाई तोकिएको ढाँचामा पार्टीभित्र नाम दर्ता गराउन शनिबार आह्वान गरेका हुन् ।
मादीमा गाउँपालिका प्रमुख कांग्रेसकै उम्मेदवार बनाउनेबारे गठबन्धनका साझेदार दलबीच सहमति नजिक पुगेको जानकारी गुरुङले दिए । ‘प्रमुख कांग्रेसकै उम्मेदवार हुने र उपप्रमुख माओवादी केन्द्रबाट हुने भन्ने सहमति नजिक पुगेको हुँदा नै प्रमुखको उम्मेदवार बन्न आकांक्षा राखेका साथीहरुलाई भेलामा उपस्थित हुन भनेका छौं,’ गुरुङले भने । कास्की कांग्रेसका सचिव भानु ढकालले अन्नपूर्ण, माछापुच्छ्रे र रुपा गाउँपालिका ५ गते उम्मेदवार सिफारिस गर्नका लागि भेला डाकिएको जानकारी दिए । जनमत र मतभारका हिसाबमा पोखराको मेयर र ४ वटै गाउँपालिका प्रमुखको उम्मेदवार कांग्रेसकै हुनुपर्ने उनले बताए ।
‘गठबन्धनमा वार्ता सँगसँगै अघि बढाउने र पोखरासहित पालिकाका उम्मेदवार पनि तय गर्ने प्रक्रियामा छौं,’ ढकालले भने । गठबन्धनकै कारण कतिपय वडामा पनि उम्मेदवार सिफारिस रोकिएकोमा अब प्रक्रिया अघि बढाइएको उनले बताए । उनले गठबन्धनका दललाई उपमेयर र उपप्रमुख छाड्न सकिने तर मेयर र प्रमुखमा कांग्रेसकै उम्मेदवार हुनुपर्ने पनि तर्क गरे । ‘जनमत र मतभारका हिसाबमा कांग्रेस नै अघि छ,’ उनले भने, ‘अरु जिल्लामा माओवादी वा जनमोर्चा वा अरु दलको मतभार धेरै भएका ठाउँमा हाम्रो दाबी हुँदैन ।’








डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न
एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ विजयी
५ वर्षमा पनि बनेन सेती नदीमा पुल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया