बजेट भएन, काम गर्न सकिएनः मुख्यमन्त्री

पोखरा l
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधान बमोजिमका अधिकार नपाउँदा प्रदेश सरकारहरु प्रभावकारी बन्न नसकेको बताएका छन् । संविधानले प्रष्ट रुपमा प्रदेश र स्थानीय तहलाई प्रदान गरेका अधिकारमा समेत संघ सरकारले अंकुश लगाउँदा प्रदेशले क्षमता अनुसार काम गर्न नसकेको उनको भनाइ छ ।
मंगलबार गण्डकी प्रदेश समन्वय परिषदको बैठकमा मुख्यमन्त्री पोखरेलले अधिकारका साथमा वित्तीय हस्तान्तरण न्यायोचित नभएको तर्क गरे । उनले भने, ‘वित्तीय समानीकरणको सूत्र व्यावहारिक देखिँदैन साथै राजस्व बाँडफाँटमा पनि संघ सरकार अनुदार देखिएको छ ।’ अधिकांश स्रोत, साधन आफैसँग राख्ने र प्रदेश र स्थानीय तहलाई अड्कलेर वित्त हस्तान्तरण गर्दा समस्यामा परेको उनले सुनाए ।
उनको प्रश्न थियो, ‘बजेटको ठूलो हिस्सा संघमा राखेर १५-१५ प्रतिशत बजेटमात्र प्रदेश र स्थानीय तहलाई प्राप्त हुन्छ । यसबाट नागरिकका चाहना र विकासका आवश्यकतालाई कसरी पूरा गर्न सकिन्छ ?’ शासन व्यवस्थालाई संस्थागत गर्ने क्रममा अहिले प्रदेश र स्थानीय तहको स्रोत ज्यादै सिमित हुँदा केन्द्रकै भर पर्नुपर्ने अवस्था रहेको उनले बताए । आन्तरिक आय बढाउन सकेको खण्डमा अहिले प्राप्त हुँदै आएको रकम ठीकै हुने भए पनि अहिलेकै अवस्थामा यसमा परिमार्जन आवश्यक रहेको उनको भनाइ थियो ।
निजामती सेवा ऐन संघले ल्याउन नसक्दा कर्मचारी व्यवस्थापन ठूलो चुनौती बनेको मुख्यमन्त्रीले बताए । उनले भने, ‘हामीसँग प्रदेश लोक सेवा आयोग छ । स्वीकृत दरबन्दीमा प्रदेश र स्थानीय तहको माग अनुुसार विज्ञापन गरेर अहिले धमाधम कर्मचारी सिफारिस भइरहेको छ । विडम्बना ती सिफारिस भएर नियुक्त भएका कर्मचारीको वृति विकासका मार्ग पनि अवरुद्ध छन् । यस्तो किन भइरहेको छ ?’
प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षा प्रदेशको एकल अधिकारको क्षेत्र भए पनि अहिलेसम्म प्रहरी प्रदेश मातहत आउन नसकेको भन्दै मुख्यमन्त्री पोखरेलले यसले शान्ति, सुरक्षाको प्रभावकारिता र दिगोपनामा पनि प्रश्न सिर्जना गरेको बताए ।
प्रदेशभित्रको राष्ट्रिय वन प्रदेशको एकल अधिकारकै सूचीमा छ । तर वन ऐन अहिले ठूलो समस्या बनेर खडा भएको छ । मुख्यमन्त्री पोखरेलले वनका सामान्य समस्या समाधान नहुँदा एकतिर विकास निर्माण प्रभावित भएको छ भने अर्कोतर्फ राजस्व र वनको आर्थिक उपयोगमा पनि जटिलता देखिएको बताए ।
स्थानीय तहबाट प्रदेशले संविधानत प्राप्त गर्नुपर्ने कतिपय स्रोत, साधन स्थानीय तहबाट प्रदेशले पाउन नसकेको उनले बताए । मुख्यमन्त्री पोखरेलले भने, ‘यसतर्फ स्थानीय तहले सकारात्मक सोच राखिदिन पनि अनुरोध गर्दछु ।’ संविधानले परिकल्पना गरेको संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तलाई हामीले आत्मसात गर्नै पर्ने भन्दै उनले संघीयता कार्यान्वयन पछिको पहिलो निर्वाचित स्थानीय तहले एक कार्यकाल पूरा गरी विशिष्ट अनुभव हासिल गरेको भनाइ राखे ।
प्रदेशले संघसँग गुनासो गरिरहँदा प्रदेश र स्थानीय तहका बीचमा पनि पर्याप्त समन्वय हुन नसकेको स्वीकार गर्दै उनले प्रदेश र स्थानीय तहका बीच देखिएका समस्याका बारेमा यस्तै फोरमहरुमा घनिभूत रुपमा छलफल गर्न उनले आग्रह गरे । मुख्यमन्त्री पोखरेलले भने, ‘समाधानका उपाय त पत्ता लागिहाल्छन्, सुरुका वर्षमा जस्ता समस्या देखिएका थिए, ती समस्या अहिले विस्तारै हल हुँदै आएका छन् ।’








बागलुङ महोत्सवः १० लाख दर्शक, १० करोडको कारोबार हुने अपेक्षा
भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा
अमृत गुरुङसहित ९ जनालाई पोखरा महानगरको नवरत्न सम्मान
दैनिक १ सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया