पालिकामा एकैसाथ ७ झोलुंगे पुल

गलकोट l
निसीखोला गाउँपालिकामा अहिले धमाधम झोलुंगे पुल निर्माण भइरहेका छन् । गत वर्ष गाउँपालिकाको विभिन्न वडामा ७ झोलुंगे पुल निर्माण भएका थिए भने यस वर्ष पनि थप ७ नयाँ झोलुंगे पुल बन्दै छन् ।
पुल निर्माणले स्थानीयमा खुसी छाएको छ । गाउँपालिकाले जीर्ण बनेका पुल विस्थापित गर्ने र आवश्यक स्थानमा धमाधम नयाँ झोलुंगे पुल निर्माण गर्ने अभियानलाई तीव्र बनाएको छ ।
गत वर्ष गाउँपालिका–६ को सेबाङघाट, सरिटारघाट, चुसाङघाट र वडा नम्बर ७ को कुतखोलाघाट, वडा नम्बर ३ र ४ जोड्ने ढुवाँखोरघाट पुल, वडा नम्बर १ को माराघाट, वडा नम्बर २ धौलेघाट झोलुङ्गे पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले जानकारी दिए ।
यस वर्ष निसीखोला गाउँपालिका–४ र ५ जोड्ने कारीखोलामा, वडा नम्बर ६ को मगराखोलामा वडा नम्बर ५ यारीखोलामा, वडा नम्बर ३ र ४ जोड्ने गतेराखोलामा वडा नम्बर २ र ३ जोड्ने खग्रेनीघाटमा, वडा नम्बर एकको आठबारेघाटमा र वडा नम्बर ७ को खनिबासमा नयाँ पुल निर्माण भइरहेका छन् ।
पुल निर्माणपछि दैनिकी सहज बन्ने निसीखोला गाउँपालिका ५ का मानसिंह बुढाले बताए । उनले पुल जीर्ण भएपछि जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता रहेको भन्दै अब यसको अन्त्य हुने बताए ।
‘अहिले यो खोला सानो छ, वारपार गर्न सकिन्छ तर वर्षातको समयमा खोला बढेर पानी माथि–माथि आएको हुन्छ, खोला तर्नै सकिँदैन,’ बुढाले भने, ‘यहाँ समस्या भएपछि हामीले गाउँपालिका अध्यक्षलाई अनुरोध गरेका थियौँ, यसपालि योजना परेर काम हुँदैछ, यो बर्खा त खोला वारपार गर्न सजिलो हुन्छ होला ।’
उनले पुल नबन्दा खोला वारपार गर्दा धेरै बालबालिका, महिला र ज्येष्ठ नागरिकले धेरै सास्ती र सकस पाउने गरेको सुनाए । निसीखोला ७ का प्रतापजंग थापाले खोला वारपार गर्ने झोलुंगे पुल जीर्ण बनेपछि जोखिम मोलेर यात्रा गर्नु परेको भन्दै अब यो समस्याको समाधान हुने विश्वास व्यक्त गरे । पुल निर्माणपछि गाउँका सबै नागरिकलाई वारपारमा सहजता थपिने थापाले बताए ।
७ वटा पुल निर्माणका लागि झण्डै २ करोड बजेट लाग्ने सूचना अधिकारी गौतमको भनाइ छ । केन्द्रीय सरकारको ८७ प्रतिशत र गाउँपालिकाको १३ प्रतिशत बजेट साझेदारीमा पुल निर्माण हुन थालेको गौतमले बताए ।
गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले जनताको माग र आवश्यकताको आधारमा पुल निर्माण भइरहेको बताए । अध्यक्ष पौडेलले पालिकाभित्रका कुनै पनि नागरिकलाई खोला वारपारमा समस्या नहोस भन्ने हेतुले केन्द्रीय सरकारसँगको समन्वयमा पुल निर्माण गरिरहेको जनाए ।
रासस
तपाईको प्रतिक्रिया