तनाव व्यवस्थापन तालिम

समाधान संवाददाता २०७९ वैशाख ७ गते १५:३०

पोखरा l
पोखरा विश्वविद्यालयले रजतजयन्तीको अवसरमा व्यक्तिगत रूपान्तरण तथा तनाव व्यवस्थापन विषयक एक दिवसीय प्रशिक्षात्मक कार्यक्रम गरेको छ । कार्यक्रममा प्रा डा चिन्तामणि योगी र स्वामी योगानन्दले प्रशिक्षण दिए ।

Advertisement

पोखरा विश्वविद्यालयका उपकुलति एवं रजतजयन्ती मूल तयारी समितिका अध्यक्ष प्राडा प्रेमनारायण अर्यालले मान्छेको प्राण, कमाएको धन, सम्पत्ति र उसको भौतिक शरीरको कुनै ठेगान नभएको उल्लेख गर्दै उसले कमाएको नाम र प्रतिष्ठा अमर रहने हुनाले व्यक्तिगत चिन्ता र स्वार्थ छाडी सबै सत्कर्ममा लाग्नुपर्नेमा जोड दिए ।

विश्वविद्यालयको प्रतिष्ठा अभिवृद्धिका लागि सम्बन्धित सबैले अनावश्यक रिस, राग, द्वेष र घृणा छाड्नुपर्ने उल्लेख गर्दै उनले विश्वविद्यालय बनाउन सबै एकजुट हुनुपर्ने र एकले अर्कालाई विश्वासमा लिई काम गर्नुपर्ने बताए ।

विश्वविद्यालयका रजिष्ट्रार डा दीपकबहादुर भण्डारीले कम्प्युटरमा हार्डवेयर र सफ्टवेयर भएजस्तै मान्छेको शरीररूपी हार्डवेयरमा काम नलाग्ने विचारलाई हटाई नयाँ–नयाँ सिर्जनात्मक एवं सकारात्मक सोचहरूले मस्तिष्कलाई समयानुकूल रूपान्तरण गर्नुपर्नेमा जोड दिए । विश्वविद्यालयमा सकारात्मक सोचको विकासका लागि यस किसिमका कार्यक्रम फलदायी हुने उनको भनाइ छ ।

प्रशिक्षक डा चिन्तामणि योगीले मानिस परिवार मोह, माया प्रेम, तेरो मेरो, धन सम्पत्ति, प्रतिष्ठा आर्जनमै जीवन बिताउने गरेकाले उसले आफैँले आफूलाई चिन्न नसकेको तर्क गरे । उनले मानिस अरूको कारणले नभई आफ्नै कर्मले दुःखी र चिन्तित रहने गरेको उल्लेख गरे ।

Advertisement

अर्का प्रशिक्षक स्वामी योगानन्दले मानिस तनावै तनावमा जीउने गरेको उल्लेख गर्दै दीर्घजीवनका लागि मानिसले तनावलाई व्यवस्थापन गर्नु अपरिहार्य रहेको बताए । उनले योगा, भोजन शुद्धि, वाणी शुद्धि, परिवेश शुद्धि र सोचको सही प्रयोगले तनाव व्यवस्थापन गर्ने सुनाए । उनले लफिङ थेरापी, मेडिटेसन र विभिन्न योगा विधिका बारेमा सिकाए ।

पोखरा विश्वविद्यालय योजना तथा कार्यक्रम महाशाखा प्रमुख एवं कार्यक्रम संयोजक दीपकराज पौडेल, डा अर्जुनकुमार थापालगायतले जिम्मेवारीबाट पन्छिदैमा तनाव कम नहुने र जिम्मेवारी निर्वाह गर्नु पनि तनाव व्यवस्थापनको एक पाटो भएको जाए । कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, शिक्षक, कर्मचारी लगायत लगभग २ सय जनाको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया