एमाले राम, गठबन्धन रावणः पृथ्वीसुब्बा

समाधान संवाददाता २०७९ वैशाख ८ गते १२:३३

पोखरा l
एमाले प्रचार तथा प्रकाशन विभाग गण्डकी प्रदेश संगठन कमिटीले बुधबार स्थानीय तहको निर्वाचन केन्द्रीत भेला गरेको छ । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको व्यवस्थापनमा भएको भेलाले गण्डकी प्रदेशमा प्रचार डेस्क खडा गरी पार्टीका प्रचार प्रसारको कामलाई व्यवस्थित गर्ने निर्णय गरेको छ ।

Advertisement

पार्टीका केन्द्रीय उपमहासचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले नीति र नेतृत्व सही भएको कारण एक्लो एमालेले ५ दलीय गठबन्धनलाई परास्त गर्न सक्ने बताए । उनले सत्य र न्यायको पक्षमा काम गरेको कारण पार्टीले आम मतदाताको मन जितेको उल्लेख गरे । ‘लोकतान्त्रिक विधि, प्रक्रिया, अग्रगमनको पक्षमा पार्टीले दृढतापूर्वक काम गरेको छ,’ नेता गुरुङले भने, ‘न्याय र सत्यको पक्षमा गरेको काम एमालले चुनाव जित्ने आधार हो ।’

आशावादीले हरेक क्षेत्रमा अवसर देख्ने उदाहरण दिँदै नेता गुरुङले चारै तर्फबाट आक्रमण हुँदासमेत पार्टी देश र जनताको पक्षमा राम्रो काम गरेको कारण आशावादी भएको जनाए । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्रीसमेत रहेका गुरुङले राष्ट्रिय हित, स्वाभिमान, स्वाधीनता, अखण्डता र राजनीतिक स्थिरताको पक्षमा पार्टीले काम गरेको उल्लेख गरे । उनले अदालतको सेटिङमा चल्ने दक्षिणपन्थी गठबन्धन अस्थिरता, अराजकताको पक्षमा रहेको दाबी गरे । रामायण र महाभारतको उदाहरण पेश गर्दै उपमहासचिव गुरुङले एमाले राम एवं ५ पाण्डवको भूमिका रहेको उल्लेख गरे । उनले दक्षिणपन्थी गठबन्धन रावण एवं कौरव भएको दाबी गरे ।

Advertisement

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले साझा मिसन बनाएर पार्टीका उम्मेद्वारलाई जिताउन संगठन लाग्ने बताए । संगठन स्थानीय तह निर्वाचन मिडिया परिचालन रणनीति २०७८ पारित गरी कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै अध्यक्ष बस्नेतले चुनावको बेलामा अभियन्ता र जागरणको काम गर्ने जनाए ।

एमाले गण्डकी प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले चुनाव केन्द्रित मिसनले मिडियामार्फत वर्ग संघर्षको काम गर्ने बताए । उनले प्रचारप्रसारका कार्य योजना बनाएर प्रदेश तथा पालिका स्तरमा व्यवस्थित रुपमा काम गर्ने जानकारी दिए । नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सदस्य निर्मला शर्माले व्यवसायिक पत्रकारितासहित पार्टीको पक्षमा चुनावी माहौल बनाउन लाग्नुपर्ने बताइन् । उनले प्रतिनिधि सभाबाट राज्यका हरेक निकायमा ३३ प्रतिशत सहभागिता सुनिश्चित गर्ने संकल्प प्रस्तावसहित स्थानीय तहमा महिला र दलितको सहभागिता बनाउन एमालेको भूमिका रहेको उल्लेख गरिन् ।

Advertisement

कार्यक्रममा नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी उपसचिव तथा प्रचार तथा प्रकाशन विभाग प्रमुख रश्मि आचार्य, प्रचार तथा प्रकाशन विभाग गण्डकी उपप्रमुख पुण्य पौडेल, केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इन्चार्ज सुष्मा पौडेल, प्रेस चौतारी नेपाल गण्डकी अध्यक्ष ईन्द्रप्रसाद पौडेल, प्रचार तथा प्रकाशन विभाग गण्डकी सदस्य रामजीप्रसाद लम्साल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया