केन्द्रीय निर्णय बेवास्ता गर्दै पोखरामा कांग्रेस उम्मेदवार सिफारिस, ताला खोलियो

सञ्जय रानाभाट २०७९ वैशाख ८ गते १४:३३

पोखरा ।
कांग्रेस पोखरा महानगरपालिका समितिले बुधबार कास्की कांग्रेस पार्टी कार्यालयमा लगाएको ताला बिहीबार खोलेको छ । सत्ता गठबन्धनका तर्फबाट पोखराको मेयर उम्मेदवार एकीकृत समाजवादीबाट बनाउने निर्णय गरेसँगै रुष्ट महानगर समितिले बुधबार बिहानै तालाबन्दी गरेको थियो ।

Advertisement


तालाबन्दीलगत्तै बुधबार बेलुका कांग्रेस नेताहरु आन्तरिक छलफलमा जुटेका थिए । कांग्रेस नेताहरुको ४ घण्टा लामो छलफलपछि तालाबन्दी खोल्ने सहमति बुधबारै जुटेका कांग्रेस महानगर सचिव गणेशबहादुर थापाले जानकारी दिए ।


कांग्रेस पोखरा महानगरपालिका समिति सभापति सुरेन्द्रमान बिजुक्छे र कास्की कांग्रेस सभापति किशोरदत्त बरालले बिहीबार बिहान ताला खोलेका हुन् । ताला खोल्दै कास्की सभापति बरालले महानगर समितिको गतिविधिलाई सकारात्मक रुपमा लिएको बताए । “जे भयो यसले राम्रो परिणाम ल्याउँछ भन्ने लागेको छ । आज सौहार्द वातावरणमा ताला खुलेको छ । अब सिंगो टिम निर्वाचनमा जित्ने र जिताउने अभियानमा लाग्न मेरो अनुरोध छ,” सभापति बरालले भने ।


कांग्रेस महानगर समितिले मेयर र उपमेयरका आकांक्षीको नाम प्रदेशमा सिफारिस गर्ने निर्णयसमेत गरेको छ । सत्ता गठबन्धनका नेताहरुले नै बुधबार ६ महानगर र ११ उपमहानगरपालिकाको भागबण्डा टुंगो लगाएको थियो । यस अनुरुप पोखरा महानगर प्रमुख एकीकृत समाजवादी र उपप्रमुख कांग्रेसको भागमा परेको छ । तर, कांग्रेस महानगर समितिले केन्द्रले गरेको निर्णय मतलबै नगरी मेयर र उपमेयरका आकांक्षीहरुको नाम सिफारिस गरेको हो ।


किशोरदत्त बराल, सुदीपमोहन भट्टराई, कृष्णबहादुर केसी, सरस्वती गुरुङ, निर्मलप्रसाद कर्माचार्य, बाबुराम आचार्य, नन्दप्रसाद तिवारी, गंगाधर पराजुली, वीरेन्द्रनारायण बिजुक्छे, विश्वशंकर पालिखे, विन्दुकुमार थापा, बाबुराम गिरी, गणेशबहादुर भट्टराई, कोपिला रानाभाट, किरण केसी, विश्व घिमिरे, परमेश्वर पोखरेल र ऋषि सापकोटाको नाम मेयर उम्मेदवारका रुपमा महानगर समितिले प्रदेश समितिलाई सिफारिस गरेको जानकारी सचिव थापाले दिए ।

Advertisement


उपमेयरका लागि माया बराल कार्की क्षेत्री, लक्ष्मी पाण्डे क्षेत्री, रंगिला आचार्य, आनन्दी राणा कार्की, टीकाकुमारी गुरुङ, दीपक मल्ल, मीलन थापा, चिनु गुरुङ, गोविन्द नेपाली र शिव केसीको नाम सिफारिस भएका छन् । सचिव थापाले कांग्रेसबाट मेयरको उम्मेदवार नपाए महानगर समिति चुनावमा अब मौन बस्ने बताए । “प्रदेशलाई आकांक्षीको नाम सिफारिस गरेका छौं । यसले थप के निर्णय गर्छ, बाँकी प्रक्रियाबाटै थाहा होला,” सचिव थापाले भने ।


सभापति बरालले महानगर समितिले विधिसम्मत तरिकाले नाम सिफारिस गरेकाले यसलाई आफूले स्वाभाविक रुपमा लिएको बताए । “पार्टीमा आकांक्षी देखाएकाहरुको नाम सिफारिस हुनु स्वाभाविक हो । यसलाई यसरी नै अगाडि बढाइदिन प्रदेश समितिलाई मेरो अनुरोध छ,” उनले भने ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया