कास्कीमा १ हजार किसान घटेः बस्याल

समाधान संवाददाता २०७९ वैशाख ९ गते १०:५३

पाेखरा
पहिलो पञ्च वर्षीय योजनादेखि हालसम्म नै प्राथमिकतामा परेको नेपालको कृषि अहिले संकटमा छ । परम्परागत कृषि प्रणाली हट्दै गएको छ भने आधुनिक र व्यवसायिक कृषि अपेक्षित रुपमा बढेको छैन । कुनै बेला देशको कुल ग्राहस्थ उत्पादनमा ४० प्रतिशत योगदान रहेको कृषिको योगदान अहिले २६ प्रतिशतमा खुम्चिएको छ । हामी कृषि उत्पादन निर्यात गर्ने हैसियतबाट फेरिएर ठूलै आयातकर्ता बनेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्रपछि विभिन्न तहका सरकार कृषिको उत्थानमा लागेका छन् । अहिलेको कृषि गणनाले देशमा कृषिको वास्तविक तथ्यांक निकालेर भावी योजना निर्माणलाई मार्गनिर्देश गर्न सक्छ । कृषि गणनाका प्रक्रिया, यसको महत्व र यसका तथ्यांकको उपयोगबारे गण्डकीका प्रदेश कृषि गणना अधिकृत जगुलाल बस्यालसँग गरिएको कुराकानीः

खासमा कृषि गणना भनेको के हो ?
कृषि गणना भनेको जमिन भोगचलन गर्ने परिवारहरुको गणना हो । किसानहरुको गणना हो । नेपालको निश्चित भूगोलमा बसोबास गर्ने कृषक परिवारको गणना हो यो । जनगणनामा सबै घर, परिवारमा गणना गरिन्छ भने कृषि गणना सम्पूर्ण घरपरिवारमा गणना नगरी छनोटमा आधारित गणना हो । छनोटमा पनि कृषकको सम्पूर्ण घर, जग्गाको छनोट होइन । छनोट भएको क्षेत्रका किसानले भोगचलन गरेको जग्गा, जमिन, पशु आदिको सम्पूर्ण गणना हो । यसमा सोधिने प्रश्नावलीहरु अन्तर्राष्ट्रिय स्तरका छन् ।

कृषि गणना छनोट विधिबाट भए पनि केही विषयको पूर्ण गणना नै हुन्छ । घर, परिवारले गरेको कृषिको छनोटमा आधारित गणना हुन्छ । तर, संस्थागत अर्थात् सरकारी, अर्धसरकारी, सहकारी, उद्योग, कलेज, विद्यालय, ठूला व्यवापारिक घरानाहरुले गरेको कृषिको पूर्ण गणना हुन्छ ।

Advertisement

नेपालमा कृषि गणनाको इतिहास कसरी सुरु हुन्छ ?
नेपालमा पहिलो पटक विस २०१८ बाट कृषि गणना सुरु भएको हो । यसले ६० वर्षको इतिहास पार गरिसकेको छ । आरम्भदेखि नै यो गणना छनोट विधिबाटै हुन्थ्यो । विगतमा कृषि घर, परिवारले मात्रै गर्थे । अहिले यो परिवर्तन भएको छ । अहिले संस्थागत कृषिको मात्रा बढ्दै गएको छ । यो गणनाबाट संस्थागत गणना थपिएको छ । गएको जनगणनामा कृषिबारे केही प्रश्न थिए । त्यो तथ्यांक कृषि गणनामा प्रयोग भएको छ कि ?

अवश्य नै, जनगणनाको तथ्यांक कृषि गणनामा प्रयोग गरिएको छ । जनगणनाकै आधारमा अहिले गणना गर्ने क्षेत्रहरु निर्धारण गरिएको छ । त्यसैका आधारका मुख्य प्रश्नावली कति जनालाई सोध्ने भन्ने तय हुन्छ । तथ्यांक कार्यालयले करारका जनशक्ति प्रयोग गर्छ । विशेषज्ञता ज्ञान नपाएका जनशक्तिबाट काम गर्दा हुन सक्ने त्रुटि कम गर्न के के गरिएको छ ?

Advertisement

मुलतः कृषि गणनामा खटिएका गणक, सुपरिवेक्षकहरु जनगणना लगायत अरु काममा पनि अनुभवी हुनुहुन्छ । कृषि गणनाका लागि कृषिसँग सम्बन्धित र कृषि अध्ययन गरेका विद्यार्थीलाई प्राथमिकता दिएर परिचालन गरिएको छ । हामीले सुपरिवेक्षकलाई ९ दिन र गणकलाई ८ दिन फिल्ड अभ्याससहितका तालिम दिएका छौं ।

सबै जसो कृषि उत्पादनमा परनिर्भरता बढ्दै गएका बेला कृषि गणनाको औचित्य के रहन्छ ?
कृषि गणनाले नेपालको कृषिको वास्तविक अवस्था चित्रण गर्छ । कुन कुन बाली लगाइन्छ, सिँचाइको अवस्था कस्तो छ, जग्गा जमिनको लामो समयसम्म परिवर्तन हुन खालको अर्थात् जग्गाको भूउपयोगको के परिवर्तन आयो भनी तथ्यांक संकलन गरिन्छ । अस्थायी बाली, स्थायी बाली, वन बनेलो आदिलाई ध्यान दिएर विवरण संकलन गरिन्छ । विवरण संकलन गर्ने क्रममा ८ अस्थायी बालीको उत्पादनको तथ्यांक पनि लिन्छौं र ६ स्थायी बालीको उत्पादनको तथ्यांक पनि लिन्छौं । यसले अवश्य पनि नेपालको आयात निर्यातको अवस्था देखाउँछ । यसबाट जग्गाको प्रयोग, बालीहरु, बाँझो जग्गा, सिँचाई पत्ता लगाउन, योजना बनाउन आधारभूत तथ्यांक उत्पादन हुन्छ ।

राष्ट्रिय, प्रदेश र स्थानीय स्तरका आवधिक योजना बनाउन, अनुगमन, मूल्यांकनका लागि यो आधारभूत तथ्यांक हो । विगतमा हाम्रो अवस्था कस्तो थियो, अहिले के छ र भविष्यमा कस्ता नीति, योजना चहिन्छ भन्ने निक्र्याेल गर्न यसले सघाउँछ ।
स्थानीय र प्रदेश सरकारसँग योजना निर्माण, तथ्यांक प्रयोग आदिमा समन्वय, सहकार्य कस्तो रह्यो ?
हाम्रो तथ्यांकीय प्रणाली केन्द्रीत नै छ । जनशक्ति अभाव, स्थानीय तहसम्म संयन्त्र नहुनाले केही अप्ठेरा छन् । स्थानीय तहको योजना निर्माणमा हाम्रो प्रत्यक्ष भूमिका नरहे पनि तथ्यांक विभागबाट प्रकाशित जनगणना, कृषि गणना लगायतका तथ्यांक स्थानीय र प्रदेश सरकारहरुले प्रयोग गरिरहेका छन् ।

हामीले सोचे अनुसार अहिले समन्वय, सहकार्य हुन सकेको छैन । सुधार गर्नुपर्ने धेरै पक्ष छन् । कृषि गणनाबाट आएको तथ्यांक स्थानीय तहदेखि केन्द्रसम्मका लागि चाहिने खालको हुन्छ । तथापि यो तथ्यांकको संकलन प्रक्रिया, महत्व, प्रभावबारे सहकार्य र समन्वय गर्ने वातावरण मिलेको छैन । अहिले आएको नतिजाबाट स्थानीय तहहरुले तथ्यांक पाउन सक्छन् । स्थानीय तहसम्म तथ्यांक कार्यालयको संरचना जरुरी छ ।

पछिल्लो समय कृषि र जनसंख्यामा आएको परिवर्तनले कस्तो संकेत गरेको छ ?
जनसंख्या र कृषि कार्यको अवस्थाको गहन अध्ययन गर्नु जरुरी हुन्छ । अहिलेको जनगणनामा कृषि परिवार घटेका छन् । हाम्रो कास्कीमा हाम्रो जनगणनाको परिभाषाले समेट्ने १ हजार कृषक परिवार घटेका छन् । किसानले प्रयोग गर्ने जग्गाका कित्ताको संख्या र आकार दुवै घटेका छन् । पहिले २, ३ बाली लगाउने गरिएकोका बाली पनि कम लगाइन्छ । बाँझो जग्गा पनि बढेको छ । जनशक्ति अभाव र बसाईसराइ पनि समस्याको रुपमा आएका छन् । जनसंख्या बहुआयामिक विषय हो । कृषिमा पनि यसले अनेक खालका असर गरेको छ ।

कृषि गणनाबारे किसानलाई कुनै सन्देश छ ?
हाम्रो परिभाषामा किसानका लागि पहाडमा न्यूनतम ४ आना, तराईमा ८ धुरमा बाली लगाएको हुनुपर्छ । गाईभैंसी एउटा वा भेडाबाख्रा ५ वटा वा २० वटा कुखुरा वा हाँस पालेकालाई किसान मानिन्छ । यो स्वामित्वसँग सम्बन्धित छैन, भोगचलन र कृषि उद्यमसँग सम्बन्धित छ । कास्की जिल्ला वा बाहिरी जिल्लामा गरेको कृषि पनि हाम्रो दायरामा पर्छ । तर बाली आफैंले लगाएको हुनुपर्छ ।

अलि ठूलो स्केलमा पशुपालन गर्नेहरु सबैको गणना हुन्छ, नमुना छनोट गरिँदैन । कास्कीमा ३५ वटाभन्दा बढी दुहुना गाई पाल्ने सबैको गणना हुन्छ । २५ वटा भन्दा बढी दुहुना भैंसी पाल्ने सबैको गणना हुन्छ । १ सय ५० भन्दा बढी भेडा, बाख्रा, ५ हजारभन्दा बढी ब्रोइलर एक लटमा पाल्ने सबै किसानको गणना हुन्छ । १० हजारभन्दा बढी लेयर्स पाल्ने पनि सबैको गणना हुन्छ ।

काजिल, अस्ट्रिजहरुको गणना हुन्छ । अन्न, तेलहन, कन्दमुल आदि सरकारी वा अर्धसरकारीले गरेको पूरै गणना हुन्छ । कृषक दाजुभाइ दिदीबहिनीले आफू वा आफूले भोगचलन गरेको अरुको जग्गा तथ्यांक दिँदा छुटाइदिनु भएन । जग्गाको क्षेत्रफल, सिँचाइको तथ्यांक लिइन्छ । सन्दर्भ समयमा लगाएका बाली सबैको विवरण संकलन गरिन्छ । हामीलाई दिइएको विवरण कुनै कर प्रयोजन, पत्रपत्रिकामा प्रकाशन, कसैलाई देखाउने आदिका लागि होइन । तथ्यांकहरु तथ्यांक ऐन २०१५ बमोजिम गोप्य रहन्छन् । यहाँहरुले हामीलाई धेरै विवरण दिनुपर्ने हुन्छ । छरिएका रुख, फल दिने, फल नदिने, डाले घाँसे, फलफूलको विवरण संकलन गरिन्छ ।

पशुपंक्षीको उमेर, जात र लिंग अनुसारको विवरण पनि संकलन गरिन्छ । प्रमुख कृषि बाली, बिउबिजन, किटनाशक औषधी, कृषि मलको विवरण पनि संकलन गरिन्छ । पंक्षीहरु पनि स्थानीय र उन्नत जातको तथ्यांक लिइन्छ । कृषि कार्यका लागि चाहिने पूर्वाधार, आधुनिक कृषि औजार आदि पनि समेटिएका छन् । जनशक्तिको अवस्था, अर्मपर्मको अवस्था, बिमा, अनुदान, वातावरण, कृषि वनसम्बन्धी प्रश्नसमेत छन् । माटो परीक्षण, जलवायु परिवर्तनको असर, कृषि फोहोरको व्यवस्थापन, कृषकको परिवारको बारेमा पनि तथ्यांक लिइन्छ । कृषिमा दिएको समय, तालिम, मुख्य आम्दानीको स्रोतको तथ्यांक पनि संकलन गरिन्छ । कृषकले उत्पादन गरेका वस्तुको बजारीकरणको तरिका पनि संकलन गरिन्छ । सत्य, तथ्य विवरण दिएर कृषि गणनालाई सफल बनाउन आग्रह गर्दछु । कृषिसँग सम्बन्धित नीति, योजना निर्माण गर्ने यो सुवर्ण अवसर हो । समग्र रुपमा यसबाट आउने तथ्यांक प्रयोग गरियो भने हाम्रो कृषि क्षेत्रलाई अघि बढाउने वातावरण तयार हुन्छ ।

प्रस्तुतिः फडिन्द्र अकिञ्चन

तपाईको प्रतिक्रिया