पोखरा १३ र २५ का अटेरीको कार्ययोजना सार्वजनिक

समाधान संवाददाता २०७९ वैशाख ११ गते १२:१६

पोखरा l
पोखरा १३ र २५ मा अटेरी उम्मेद्वारी घोषणा गरेकाहरुको कार्ययोजना सार्वजनिक भएको छ । दुवै वडाको चुनावी कार्ययोजनापत्र शनिबार सार्वजनिक गरिएको हो ।

Advertisement

पोखरा १३ को चुनावी कार्ययोजनापत्र सार्वजनिकीकरणमा अटेरीका महिला परिचालन सह संयोजक शैमुन निशाले राजनीतिक दलले बन्धक बनाएर राखेकाले अटेर गर्न आवश्यक रहेको बताइन् । राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिले राम्रो काम गरेको खण्डमा स्वदेशमै रोजगारी सिर्जना हुनुपर्नेमा युवा विदेशिन बाध्य भई रहेको उनले बताइन् ।

वडा नम्बर १३ को वडाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका अमृतबहादुर विश्वकर्माले कार्ययोजनापत्र सार्वजनिकीकरणपछि विवेक प्रयोग गरेर मत हाल्न अनुरोध गरे । उनले आफू निर्वाचित भएपछि गर्न सक्ने काममात्र घोषणापत्रमा समेटेको जिकिर गरे । कार्यक्रममा चलचित्र निर्देशक मनोज पण्डितसमेत उपस्थित थिए । उनले पोखराबाट सुरु भएको अटेरी आन्दोलनले चारैतिर विद्रोह सुरु गरेको बताए ।

लोक संस्कृतिकर्मी हनिफ मियाँले अटेरी उम्मेद्वारलाई जितको शुभकामना दिए ।वडा नम्बर १३ बाट वडाध्यक्ष पदका लागि अमृतबहादुर विश्वकर्मा, सदस्य पदमा केशबहादुर गुरुङ, सीता परियार र सागर बरालले उम्मेद्वारी घोषणा गरेका छन् ।
वडा नम्बर २५ को कार्ययोजनापत्र सार्वजनिकीकरणपछि वडाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका सोमनाथ अधिकारीले राजनीतिक दलले राम्रो काम नगर्दा आफूले उम्मेद्वारी दिनुपरेको बताए । उनले कार्ययोजनापत्रमा उल्लेख भए अनुसार आफूले वडाका लागि काम गर्न कटिबद्ध रहेको सुनाए ।

अटेरीकी महिला अभियान संयोजक युनिका ढकालले राजनीतिक दलले व्यवस्था परिवर्तन गरे पनि नागरिकको अवस्था परिवर्तन गर्न नसकेको बताइन् । उनले चुनावमा विवेक प्रयोग गरेर अटेरीका उम्मेद्वार सही लागेमात्रै भोट दिन अपिल गरिन् ।
अटेरीका पोखरा महानगर प्रमुख पदका उम्मेद्वार गनेस पौडेलले अटेरीले गर्न सक्ने काममात्र घोषणापत्रमा समेटेको बताए । संघीयतापछि स्थानीय तहलाई स्वायत्त घोषणा गरे पनि अझैं पनि केन्द्रमै अधिकार केन्द्रित गरिएकाले आफूहरुले अटेर गर्नु परेको उनको जिकिर छ ।

Advertisement

वडा नम्बर २५ मा वडा अध्यक्षका लागि सोमनाथ अधिकारी र वडा सदस्यका पदका लागि नवीन थापा र नवीन त्रिपाठीले उम्मेद्वारी घोषणा गरेका छन् ।

तपाईको प्रतिक्रिया