पोखरा स्पोर्ट्स अवार्ड असारमा

समाधान संवाददाता २०७९ वैशाख ११ गते १५:१२

पोखरा l
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा छैटौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड २०७८ आगामी असार पहिलो हप्ता हुने भएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीले नयाँ नेतृत्व पाएपछि बसेको दोस्रो बैठकबाट पोखरा स्पोर्ट्स अवार्ड २०७८ आगामी असार पहिलो हप्ता गर्ने निर्णय गरी तयारी सुरु गरिएको मञ्च महासचिव राजाराम पौडेलले जानकारी दिए ।

Advertisement

अवार्ड कार्यक्रमलाई भव्य बनाउन सबैको साथ, सहयोग आवश्यक रहेको अध्यक्ष दीनानाथ बरालले बताए । ‘हामीले छैटौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डलाई उत्कृष्ट बनाउन तयारी सुरु गरेका छौं,’ उनले भने । मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्ने छ ।

मञ्चको दोस्रो बैठकबाट आगामी जेठमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर राष्ट्रिय स्तरको बृहत छलफल कार्यक्रम गर्ने निर्णयसमेत भएको छ । छलफल कार्यक्रम जेठ पहिलो हप्ता हुनेछ । मञ्चले पूर्व अध्यक्ष विनोद लामिछानेलाई सल्लाहकार चयन गरेको छ ।

तपाईको प्रतिक्रिया