काठमाडौं बेकरीको २५ औं वार्षिकोत्सव

३ हजारबाट २५ करोडको कारोबारमा

समाधान संवाददाता २०७९ वैशाख ११ गते १५:२९

पोखरा l
पोखरा महेन्द्रपुलमा रहेको काठमाडौं फ्रेस बेकरीले २५ औं वार्षिकोत्सव मनाएको छ । बेकरीले शनिबार एक कार्यक्रमको आयोजना गरी स्थापनाको रजत बर्ष मनाएको छ ।

Advertisement

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले सरकारी तवरबाट व्यवसायीहरुलाई आवश्यक सहयोग नभएको उल्लेख गर्दै सरकारमा रहेका व्यक्तिहरुमा दूरदर्शिताको खाँचो औंल्याए । उनले निरन्तर रुपमा व्यवसायमा लागेमा मात्र सफल उद्यमी बन्न सकिने भएकाले धैर्य नैै महत्वपूर्ण भएको बताए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले कार्यप्रतिको लगनशीलताका कारण वेकरीले उचाइ लिन सफल भएको बताए । उनले पुँजी सँगसँगै लगनशीलतामा जोड दिए । पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं समाजसेवी विश्वशंकर पालिखेले बेकरीको क्षेत्रमा काठमाडौं बेकरीले आफ्नो भिन्नै पहिचान बनाउन सफल रहेको भन्दै प्रशंसा गरे ।
बेकरीका सञ्चालक रोशन महर्जनले २०४७ सालमा काठमाडौंको ललितपुरबाट स्वर्गीय बुवा ओमलाल मर्हजन परिवार पाल्ने विकल्प खोज्दै पोखरा आएको र पोखराको ओपन हाउसमा केही समय जागिर गरेर जम्मा गरेको ३ हजार रकमले उनले पोखराको विशाल वजारमा बेकरी पसलको सुरुआत गरेको बताए ।

२०५१ सालमा बुवाको निधन भएपछि रोशनले बेकरी ठूलो बनाउने बुवाको सपना पूरा गर्न २०५४ साल वैशाख १० गतेदेखि आधिकारिक रुपमा काठमाडौं फ्रेस बेकरी नाममा शीतलादेवीमा दर्ता गरेर सञ्चालनमा ल्याएको जानकारी दिए । काठमाडौँ फ्रेस बेकरी पोखराको शीतलादेवीसँगै महेन्द्रपुल, भरतपुर, सौराहा, पोखराकै लेकसाईडमा शाखा विस्तार गरेको र काठमाडौँमा शाखा विस्तारको तयारीमा रहेका समेत जानकारी दिए । काठमाडौँ फ्रेस बेकरीले १ हजारभन्दा धेरैलाई बेकरी तालिमम दिएको छ । सयौंजनालाई रोजगारी दिएको छ ।

३ हजारबाट सुरु भएको पोखराको काठमाडौं बेकरी अहिले २५ करोडभन्दा बढीको कारोबार गर्ने फर्मको रुपमा पोखरामा परिचित छ । केक, कुकिज र अन्य बेकरी जन्य खाद्य पदार्थहरुमा २०० भन्दा बढी वस्तुको उत्पादन हुने गरेको छ । रजत जयन्तीको अवसरमा बेकरीमा कार्यरत कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पवन प्रजापति, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मानकाजी माकाजुु लगायतले बोलेका थिए । कार्यक्रम काठमाडौँ फ्रेस बेकरीका सञ्चालक नानीकुुमारी महर्जनको अध्यक्षता सञ्चालन रोशन मर्हजनको स्वागत र संचारकर्मी अनिशा श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया