उम्मेदवारी दर्ता अव्यवस्थित, भण्डारीमाथि ‘दुर्व्यवहार’

समाधान संवाददाता २०७९ वैशाख १२ गते २०:१४

पोखरा ।

Advertisement

स्थानीय निर्वाचनका क्रममा सोमबार उम्मेदवारी दर्ता निकै अव्यवस्थित भएको देखिन्थ्यो । सबै प्रमुख दलले सोमबारै उम्मेदवारी गर्न जाँदा मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा निकै भिडभाड भयो । एकजनाकै उम्मेदवारी दर्ताका लागि निकै लामो समय लाग्दा कार्यालय परिसर भीडभाडपूर्ण बनेको थियो ।

व्यवस्थित तवरले उम्मेदवारी दर्ता हुन नसकेको भन्ने गुनासो त्यहाँ गएका उम्मेदवारहरुले पनि बताएका थिए । नेपाल पत्रकार महासंघ कास्कीका सदस्य राजु भण्डारीले पनि उम्मेदवारी दर्ता व्यवस्थित नभएको गुनासो गरे । उनले व्यवस्थित बनाउन मुख्य निर्वाचन अधिकृतलाई सुझाए । त्यस्तो सुझाव दिँदा आफूलाई सुरक्षाकर्मीले दुर्व्यवहार गरेको भण्डारीले बताए । पत्रकार महासंघ कास्कीका पूर्व कोशाध्यक्ष भण्डारी पोखरा हटलाइन राष्ट्रिय दैनिकका पूर्व अध्यक्ष र रेडियो सफलताका सञ्चालक हुन् ।

Advertisement

‘मुख्य निर्वाचन अधिकृतलाई व्यवस्थित भएन, व्यवस्थित बनाउनुपर्‍यो भनेको थिएँ,’ भण्डारीले भने, ‘सुझाव दिँदा सुरक्षाकर्मी लगाएर मलाई बाहिर निकालियो । ४/४ जना सुरक्षाकर्मीले उचालेर निकाले ।’

आवश्यक जनशक्ति खटाएर व्यवस्थित तवरबाट उम्मेदवारी दर्ताको काम गरिनुपर्नेमा त्यसो नभएकाे देखेरै आफूले सुझाव दिएको भण्डारीले बताए । सुझाव दिनुलाई अनर्थ लगाई दुर्व्यवहारपूर्ण ढंगले आफूलाई निकालिएको उनले सुनाए ।

तपाईको प्रतिक्रिया