सिवाइसीको आइपिओ १५ गते बाँडफाँट

काठमाडौं l
सिवाइसी नेपाल लघुवित्तको आइपीओ बिहीबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा बिहीबार बिहान ९ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।
यता, सिवाइसी लघुवित्तको आइपीओ हात पार्न भाग्यकै भर पर्नु भएको छ । यसमा मागभन्दा ६९.७९ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा ३६ हजार ९४८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी २२ लाख ४७ हजार ९०० जनाको भने हात खाली हुनेछ ।
यसमा कुल २२ लाख ८४ हजार ८ सय ४९ जनाले २ करोड ५७ लाख ६१ हजार ९ सय कित्ताका लागि आवेदन दिएका छन् । कुल २ अर्ब ५७ करोड ६१ लाख ९० हजार रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले वैशाख २ गतेबाट ६ गतेसम्म कुल ३ लाख ९५ हजार ३ सय ३६ कित्ता साधारण सेयर निष्कासन खुला गरेको थियो । यो मध्ये ५ प्रतिशत अर्थात् १९ हजार ७ सय ६६ कित्ता सामूहिक लगानी कोष र ०.५ प्रतिशत अर्थात् ६ हजार ८२ कित्ता सेयर कर्मचारीका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ६९ हजार ४ सय ८८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।
यो आइपिओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक छ । रेटिङ एजेन्सी कियर नेपालले सिवाइसी नेपालको आइपीओलाई ‘कियर एनपी डबल बी माइनस’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । कियर नेपालले २०७८ भदै ३१ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०७९ भदौ ३० गतेसम्म बहाल रहनेछ ।
तपाईको प्रतिक्रिया